जोमसोम— हिमाली जिल्ला मुस्ताङका पालिकालाई अपांगता सहायता सामाग्री हस्तान्तरण गरिएको छ । शारिरीक रुपमा अशक्त,अपांगता र हिडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई वितरण गर्ने गरी सामाजिक विकास कार्यालय मुस्ताङले सोमबार अपांगता सहायता सामाग्री हस्तान्तरण गरेको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयमा जिल्लाका पाँचै वटा गाउँपालिकाहरुलाई आवश्यकताका आधारमा सामाजिक विकास कार्यालयले अपांगता सहायता सामाग्री हस्तान्तरण गरेको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिनुभयो ।
सामाजिक विकास कार्यालय मुस्ताङले चालु आव.को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप शारिरीक रुपले हिडडुल गर्न नसक्ने व्यक्तिहरुको सुविधाका लागि ४ प्रकारका अपांगता सहायता सहायता सामाग्री हस्तान्तरण गरी पालिकालाई जिम्मा लगाईएको कार्यालय प्रमुख सापकोटाले बताउँनुभयो ।
सामाजिक विकास कार्यालय मुस्ताङका ५ पालिकालाई फोल्डिङ लौरी, इअर सेट,ह्वील चियर र चर्पी चियर हस्तान्तरण गरेको जनाएको छ । कार्यालयबाट घरपझोङले फोल्डिङ लौरी ३७ थान, इअर सेट ७ थान, ह्वील चियर ५ थान र चर्पी चियर ८ थान पाएको छ । थासाङ गाउँपालिकाले फोल्डिङ लौरी २० थान, इअर सेट ४ थान,ह्वील चियर २ थान र चर्पी चियर २ थान पाएको छ । वारागुङ मुक्तिक्षेत्रले फोल्डिङ लौरी १० थान, ईअर सेट ३ थान, ह्वील चियर २ र चर्पी चियर २ थान प्राप्त गरेको छ ।
यसैगरी मुस्ताङको लोमान्थाङ गाउँपालिकाले फोल्डिङ लौरी १२ थान, इअर सेट ३ थान , ह्वील चियर २ थान र चर्पी चियर २ थान पाएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले फोल्डिङ लौरी १० थान,इअर सेट ३ थान, ह्वील चियर १ थान र चर्पी चियर २ थान प्राप्त गरेको हो ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीका सचिव नवराज ढकाल,जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ र सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटा लगायतले मुस्ताङका पाँचै पालिकाहरुलाई अपांगता सहायता सामाग्री हस्तान्तरण गरेका हुन् ।