मुस्ताङमा छ जिल्लाका कृषकलाई फलफूल बगैचा व्यवस्थापन तालिम दिईदै


मुस्ताङ—हिमाली जिल्ला मुस्ताङमा अगुवा कृषकलाई शीतोष्ण हावापानीमा उत्पादन हुँने हिउँदे फलफूल व्यवस्थापन संम्वन्धि तालिम दिईएको छ । हिउँदे फलफुल बगैचा व्यवस्थापन लगायतका विषयमा जिल्ला भित्र र बाहिरका फलफूल कृषकहरुलाई प्रशिक्षित तुल्याउन शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले बिहिबारदेखि ३ दिने तालिम आयोजना गरेको हो ।

शीतोष्ण हिउँदे फलफूल व्यवस्थापन संम्वन्धि तालिम लिन मनाङ र मुस्ताङसहित गोरखा,रोल्पा,म्याग्दी  र बाग्लुङका १९ जना अगुवा कृषकहरुको सहभागिता रहेको  मार्फा शीतोष्ण बागवानी विकास केन्द्रका निमित्त कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । तालिममा सहभागि अगुवा कृषकलाई शीतोष्ण हावापानीमा उत्पादन गरिने मुख्य हिउँदे फलफूल स्याउसहित ओखर,खुर्पानी,आरु,आरुबखडा,अंगुर,किवी र चेरी लगायतका फलफूल खेतीको बगैचा व्यवस्थापन संम्वन्धि सैद्धान्तिक तथा व्यवहारिक अभ्यास तालिम दिईएको निमित्त कार्यालय प्रमुख आत्रेयको भनाई छ ।


 हिउँदे फलफुल तालिमका लागि जिल्लाको प्रतिनिधित्व गर्दै मुस्ताङ आएका अगुवा कृषकहरुलाई केन्द्र प्रमुख आत्रेय र केन्द्रका अधिकृत विनयबाबु कोईरालाले फलफूल बगैचा व्यवस्थापन संम्वन्धि तालिमको सहजीकरण गरेका छन् । मुस्ताङमा सहभागि कृषकहरुलाई फलफूलको खाद्यतत्व व्यवस्थापन,तालिम तथा फलफुल बोट काँटछाँट,क्रप कटिङ,सिचाईको व्यवस्थापन,गोडमेल,विषादीको समचित प्रयोग, फलफूलमा लाग्नसक्ने विभिन्न रोगकिरा नियन्त्रण र  मलजल गर्ने तरिका लगायतका विषयमा तालिम तथा कक्षाहरु संञ्चालन गरिएको केन्द्र प्रमुख आत्रेयले बताए । तालिममा फलफुल बगैचा व्यवस्थापनमा प्रयोग हुँने कृषि यान्त्रिक उपकरण तथा औजारहरुको प्रयोग गर्ने तरिकाका बारेमा समेत अगुवा कृषकलाई जानकारी गराईएको केन्द्रका निमित्त प्रमुख आत्रेयको भनाई छ ।

यतिखेर हिउँदे फलफूल बगैचाहरु यतिबेला पात झरेर पतझङ भएका छन् । मुस्ताङमा स्याउ,खुपार्न,आरु,आरुबखडा आदी शीतोष्ण फलफूलहरुको भदौं ,असोज र कार्तिक महिनामा पोस्ट हार्भेस्ट गर्ने गरिन्छ ।  मुस्ताङका कृषकलाई गतिलो आम्दानीको श्रोत बनेको स्याउ लगायतका फलफुल खेतीले यहाँका कृषकको जिविकोपार्जनमा समेत महत्वपूर्ण योगदान दिएको छ ।पछिल्लो समय भने जलवायु परिवर्तनका कारण शीतोष्ण  फलफूल उत्पादनमा आशिंक असर पू¥याएको छ ।चालु वर्ष मुस्ताङमा हिउँदे फलफुलमा  परागसेचन हुन नपाउँदा स्याउ उत्पादनमा ह्रास आएको थियो ।

 हिउँदे फलफुल बगैचा व्यवस्थापनको समय पुस, माघ र फागुन महिनासम्म हुन्छ । हिउँदे फलफुल बगैचा व्यवस्थापन हचुवाका ढंगले गर्दा कृषकहरुले लगाएको फलफुल बोटले उत्पादन तथा गुणस्तरमा ह्रास आउने भएकाले किसानहरुलाई हिउँदे फलफुल व्यवस्थापन तालिमको अवसर प्रदान गरिएको केन्द्रका अधिकृत विनयबाबु कोईरालाले उल्लेख गरे । उनले तालिम लिएपछि कृषकहरुले आफ्नो फलफुल बगैचाको समुचित रुपले व्यवस्थापन गर्ने र यसले उत्पादन तथा गुणस्तर वृद्धि गर्नेतर्फ सहयोग पुग्ने जानकारी दिए ।‘फलफुल व्यवस्थापनमा सबै कुराको तालमेल मिल्यो भने मात्र राम्रो उत्पादन र गुणस्तर कायम हुन्छ, उनले भने,‘ बगैचा व्यवस्थापनमा प्राविधिक त्रुटी भयो भने कृषकले राम्ररी उत्पादनमा लाभ लिन सक्ने अवस्था हुँदैन ।’



मुस्ताङमा १४८५ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । जसमध्ये  ५८५ हेक्टर क्षेत्रफलमा लगाईएको स्याउ बोटले उत्पादन दिने गरेको छ । मुस्ताङमा स्थानीय जातका स्याउ र उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिट स्याउ खेती गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा ६ हजार ५ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा आर्थिक वर्ष २०८०÷०८१ मा भने  ४ हजार ९ सय मेट्रिक टन मात्र स्याउ उत्पादन भएको थियो ।


प्रतिक्रिया