तारा प्रतियोगितामा जनप्रिय युवाक्लव मुक्तिनाथको ह्याट्रिक

जोमसोम 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ स्थित फल्याकमा आयोजित प्रथम अध्यक्ष कप तारा खेल प्रतियोगिताको उपाधि जनप्रिय युवाक्लव (मुक्तिनाथ)ले जितेको छ । जनप्रिय युवाक्लव यहाँ उपाधि च्याम्पियन बनेसंगै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आयोजना गरेको लगातार तीन संस्करणको तारा खेलको उपाधि च्याम्पियन बनेसंगै ह्याट्रिक पुरा गर्न सफल भएको हो ।

यहाँ आयोजित तारा खेल प्रतियोगिताको निर्धारित १५ डोर १५० पुर्णाङकमा जनप्रियले ९ अंक गुमाउँदै एक सय एकचालिस अंकको योगफल तयार गरेको हो । जनप्रियका लागि अम्रित गुरुङले शतप्रतिशत अंक जोडे । जनप्रियका लागि सर्वोउत्कृष्ट खोलर छिरिङ नर्बु गुरुङ र सर्वोउत्कृष्ट खेलाडी अम्रित गुरुङ घोषित भए ।


 यसअघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कागबेनीमा आयोजना गरेको तारा खेल प्रतियोगतामा जनप्रिय युवाक्लव च्याम्पियन बनेको थियो । यसैगरी  अघिल्लो दुईवर्ष अघि गाउँपालिकाले मुस्ताङको झोङमा आयोजना गरेको तारा खेल प्रतियोगितामा पनि जनप्रिय युवाक्लव सर्वाधिक अंक जोड्दै च्याम्पियन बनेको क्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिनुभयो ।

 यसैगरी यहाँ सम्पन्न तारा खेल प्रतियोगितामा प्रतियोगिता सहआयोजक सेर्घुङ ल्हुङ्बुग युवाक्लव उपविजेता बनेको छ । थोरङपास युवाक्लव तारा खेलमा तृतीय स्थानमा रहेको छ । प्रतियोगिताको १५ डोर सकिंदा सेर्घुङ ल्हुङ्बुग र थोरङ्पास युवाक्लव समान (१३७ं) अंक जोड्दै बराबरी भएपछि दोस्रो स्थानका लागि एक डोर थप गरिएको थियो । थपिएको डोरमा सेर्घुङ ल्हुङ्बुगले ९ अंक र थोरङ्पास युवाक्लवले ८ अंक जोडेको थियो ।


 तारा खेल प्रतियोगितामा च्याम्पियन बनेको जनप्रियले नगद ५० हजारसहित सिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पायो । दोस्रो र तेस्रो हुने सेर्घुङ ल्हुङ्बुग (फल्याक) र थोरङपास युवाक्लव( खिङ्गा)ले क्रमशः नगद ३५ हजार र २० हजार पुरस्कारसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

तारा खेल प्रतियोगिता लगायतका विजेतालाई गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङ, उपाध्यक्ष दिकी गुरुङ, वडाध्यक्ष सुरेन्द्र गुरुङ र प्रमेश गुरुङ  लगायतले पुरस्कार अर्पण गरेका थिए ।


 अध्यक्ष कप प्रतियोगिताको पुरस्कार वितरणपछि जनप्रिय मक्तिनाथ र सेर्घुङ ल्हुङ्बुग फल्याकका गाउँले समर्थक तथा खेलाडीहरुले संयुक्त रुपमा बाजागाजासहित स्थानीय भाषामा गीत गाउँदै खुसीयाली मनाएका थिए ।


प्रतिक्रिया