जननर्मल मा.वि. छुसाङको छात्रावास भवनको दोश्रो तला थपियो, शैक्षिक गुणस्तरमा सुधार

जोमसोम ।

गण्डकी प्रदेश सरकारबाट नमूना विद्यालयको रुपमा सूचिकृत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ स्थित जननर्मल प्रस्तावित माध्यमिक विद्यालयलको आवासीय छात्रावास भवन निर्माणमा क्रमागत अनुदान उपलब्ध हुँदै आईरहेको छ । यहाँको विद्यालयमा पढ्ने कठिन परिस्थितीका बालबालिकाहरुको लागि शैक्षिक पठन÷पाठन तथा आवासीय सेवा सुविधा उपलब्ध गराउन गण्डकी प्रदेश सरकारले छात्रावास भवन निर्माण लगायतमा निरन्तर आर्थिक अनुदान सहयोग गर्देआईरहेको छ ।

यहाँको विद्यालय वि.स. २०७६ सालमा गण्डकी प्रदेश सरकारबाट नमूना विद्यालयको रुपमा सूचिकृत भएको थियो । विद्यालय नमूनामा सूचिकृत भएपछि वि.स. २०७७ सालदेखि यहाँको जननर्मल प्रस्तावित माध्यमिक विद्यालयलाई हिमाली तथा दुर्गम क्षेत्र नमूना आवासीय विद्यालय अन्तर्गत छात्रावास भवन निर्माण लगायतमा अनुदान सहयोग हुँदैआईरहेको विद्यालयका प्रधानाध्यापक श्याम गुरुङले बताउँनुभयो । यहाँको विद्यालयका लागि तीन तलाको आवासीय छात्रावास भवन निर्माण लगायतमा १२ करोड लागत अनुमान गरिएको छ । छात्रावासको डीपीआर अनुसार दुई तलाको भवन बनेको र छात्रावासको उपल्लो तला र फिनिसिङ लगायतका थुप्रै काम बाँकी रहेको छ ।

यहाँको छात्रावास निर्माणका क्रममा कोरोना माहामारी सुरु भएकाले भवन निर्माण प्रभावित हुँदा प्रदेश सरकारको अनुदान फ्रिज हुन पुगेको थियो । पछिल्लो दुई आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित एक करोड ६ लाखबढी बजेट भवन निर्माणमा खर्च भएको प्रधानाध्यापक गुरुङले उल्लेख गर्नुभयो ।

 हालसम्म छात्रावास भवनका लागि करिव एक करोड ८० लाख बजेट खर्च भईसकेको प्रधानाध्यापक गुरुङले बताउँनुभयो । यहाँको विद्यालय छात्रावास भवन निर्माण गर्न ठुलो आकारको बजेट विनियोजन नहुँदा छात्रावास भवन निर्माणले गति लिन नसकेको प्रधानाध्यापक गुरुङको भनाई छ ।

गण्डकी प्रदेशबाट नमूना विद्यालयमा परेको मुस्ताङको जननर्मल प्रस्तावित माध्यमिक विद्यालयमा करिव सात जिल्लाका एक सय १८ जना कठिन परिस्थितीका बालबालिकाहरुले आवासीय सुविधासहितको शैक्षिक पठन÷पाठनको सुविधा प्राप्त गरेको प्रधानाध्यापक गुरुङले जानकारी दिनुभयो ।

 यहाँको विद्यालयमा पढ्ने बालबालिकाहरुका लागि गण्डकी प्रदेश सरकारबाट २१ वटा विद्यार्थी कोटा निर्धारण गरी बार्षिक ८ लाख आवासीय अनुदान प्राप्त हुने गरेको छ । यसैगरी संघीय सरकारबाट हिमाली छात्रावास शिर्षकमा  ४० जना विद्यार्थीको कोटा निर्धारण गरिएको छ । यहाँ संघीय सरकारबाट पुस र माघ महिनाबाहेक १० महिनाका लागि प्रति विद्यार्थी ५० हजार रुपैया आवासीय सेवा सुविधाको सहुलियत प्राप्त भएको प्रधानाध्यापक गुरुङले जनाउँनुभयो ।

 नमूना विद्यालयको रुपमा सूचिकृत वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ स्थित जननर्मल माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा समेत फड्को मारेको गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताउँनुभयो । विद्यालयले यसवर्ष एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उर्तिण गर्न सफल भएको अध्यक्ष गुरुङको भनाई छ । 

यहाँ विद्यालयमा आवासीय सेवा सुविधासहितको शैक्षिक पठन÷पाठन हुँदा कठिन परिस्थितीको गरिव तथा विपन्न बालबालिकाहरुलाई निकै ठुलो टेवा पुगेको गाउँपालिका अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । यहाँको विद्यालयमा  कुल १७ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।


प्रतिक्रिया