जोमसोम÷ पूर्वमन्त्री एवं उद्योगपति हरिप्रसाद पाण्डेले मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथधामका लागि तीन करोड बजेट खर्च गर्ने घोषणा गरेका छन् । मुक्तिनाथ विकास समितिको सोमबार बसेको बैठकमा उपस्थित पूर्वमन्त्री, उद्योगपति एवं मातृसेवा प्रतिष्ठान नेपालका समेत अध्यक्ष रहेका पाण्डेले यस्तो घोषणा गर्नुभएको हो ।
उद्योगपति पाण्डेले मुक्तिनाथ मन्दिरमा तत्कालका लागि आवश्यक पर्ने भौतिक संरचना तथा मुक्तिनाथधाममा शिवजीको मन्दिर पूननिर्माणका लागि मातृसेवा प्रतिष्ठान नेपालले उक्त बजेट खर्च गर्ने घोषणा सार्वजनिक गर्नुभएको हो ।
मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालको अध्यक्षतामा बसेको बैठकमा उद्योगपति पाण्डेले मुक्तिनाथधाममा शिवजीको मन्दिर पूननिर्माण पहिलो प्राथमिकता राखेको उल्लेख गर्नुभयो । आफु र विशुद्ध पारिवारीक तथा गैर नाफामूलक कम्पनी मातृसेवा प्रतिष्ठान नेपालले शिवजीको मन्दिर पूननिर्माणसहित मुक्तिनाथमा भक्तजनको सेवा सुविधाका लागि बजेटको परिधिभित्र रहेको आवश्यक भौतिक संरचना निर्माण गर्न चाहेको जानकारी दिनुभयो ।
मुक्तिनाथ विकास समितिको अनुमति लिएर मुक्तिनाथमा तत्काल आवश्यकता पर्ने भक्तजनमैत्री पूर्वाधार निर्माण गर्ने गरी मातृसेवा प्रतिष्ठान नेपालका नाममा ३ करोड बढीको बेग्लै कोष खडा गरिएको उद्योगपति पाण्डेले बताउँनुभयो । मुक्तिनाथ मन्दिर क्षेत्रमा तत्काल आवश्यकता परेका भौतिक निर्माण गर्नुपर्ने केही कुरा जानकारी पाएकाले त्यसका लागि परिवारका सदस्यहरुबाट संकलन भएको रकम यहाँको विकासमा खर्च गर्ने गरी कोष खडा गरिएको उद्योगपति पाण्डेले खुलाउँनुभयो ।
उद्योगपति पाण्डेले बैठकमा मुक्तिनाथ परिसरमा छप्पनी ढुंगा बिच्छ्याउने, स्नान कुण्डलाई केही गहिरो र स्तरोन्नति गर्ने ,चेन्जिङ रुम र शौचालय लगायतका भौतिक संरचना निर्माण गर्ने लगायतका काम समितिबाट सिफारिस भएमा आफुहरु खुसी हुने उद्योगपति पाण्डेको भनाई छ ।
उद्योगपति पाण्डेले मुक्तिनाथ विकास समितिको अधिनमा रहेर मातृसेवा प्रतिष्ठान नेपाल कम्पनीले मुक्तिनाथधाममा शिव मन्दिर पूननिर्माण सहित मुक्तिनाथको भक्तजनमैत्री पूर्वाधार जतिसक्दो छिटोछरितो सम्पन्न गर्न चाहेको जनाउँनुभयो ।
‘मुक्तिनाथमा के गर्दा राम्रो हुन्छ, त्यो हामीलाई थाहा छैन’,उद्योगपति पाण्डेले भन्नुभयो,‘ शिवजी मन्दिर पहिलो प्राथमिकता हो, त्यसका अलावा अरु के काम गर्न सकिन्छ, समितिकै आन.वश्यकता अनुसार काम गर्नेछौं ।’ उद्योगपति पाण्डेले मुक्तिनाथ विकास समितिको गुरुयोजना अनुसारको कामलाई बाधा नपुग्ने गरी बजेट खर्च गर्ने योजना रहेको बताउँनुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवं मुक्तिनाथ विकास समितिका अध्यक्ष बिष्णुप्रसाद भुसालले उद्योगपति पाण्डेबाट मुक्तिनाथमा आवश्यकता भौतिक संरचना निर्माणका लागि ३ करोड बजेट लगानी गर्ने सार्वजनिक घोषणा भएको जानकारी दिनुभयो । उद्योगपति पाण्डेले मुक्तिनाथमा शिवजीको मन्दिर र मुक्तिनाथ वरिपरी केके काम गर्न सकिन्छ भन्ने सुझाव माग भएको प्रमुख जिल्ला अधिकारी भुसालले उल्लेख गर्नुभयो । उहाँले समितिको योजनामा पर्ने भौतिक निर्माण र उद्योगपति पाण्डेबाट निर्माण हुने योजना नजुध्ने गरी समितिले भावी योजनाका बारेमा निर्णय लिने उल्लेख गर्नुभयो ।
उद्योगपति हरिप्रसाद पाण्डे परिवारबाट सञ्चालित यो सस्था संस्थागत रुपमा कम्पनी रजिस्ट्रेसन कार्यालयमा दर्ता भएको मातृसेवा प्रतिष्ठान नेपालले शिक्षा,स्वास्थ्य र बिचारको क्षेत्रमा काम गर्दे आईरहेको छ । यस कम्पनीबाट अहिले पनि ८० प्रतिशत बिद्यार्थीहरुले छात्रवृद्धि पाएका छन् ।
यसैगरी परिवारजनसहित मुक्तिनाथ दर्शनका लागि आउनु भएका उद्योगपति पाण्डेले मुक्तिनाथ विकास समितिलाई आजै एक लाख रुपैया दान गर्नुभएको छ ।