चिम्ले फार्ममा च्यांग्रा, गाई र घोडा पालन

जोमसोम ।

यहाँको घरपझोङ—५ ढुम्बाका किसान कर्म गुरुङ स्याउ खेतीमा जमेका छन् । यहाँ उहाँको स्याउ खेतीका लागि सबै पूर्वाधारको व्यवस्थापन गरिएको छ ।

 यहाँको स्याउ खेतीमा मलजल गरी गुणस्तरीय स्याउ फलाउन च्यांग्रा,गाई र घोडा पालन गरिएको छ ।  कर्मको चिम्ले अचार्ड फार्ममा झन्डै पाँच सय भन्दा बढी च्यांग्रा , १० वटा जर्सी गाई र ९ वटा घोडा पालन गरिएको चिम्ले अचार्ड कृषि स्याउ फार्मको व्यवस्थापक आईतराम तामाङको भनाई छ । फार्ममा च्यांग्रा,जर्सी गाई र घोडाहरुको मलमुत्रलाई सदुपयोग गर्न पशुचौपाया पालन गरिएको व्यवस्थापक तामाङले उल्लेख गर्नुभयो ।

 चिम्ले अचार्ड कृषि स्याउ फार्मले च्यांग्रा पालनबाट मात्रै बर्सेनि १० लाखदेखि १५ लाखसम्म आम्दानी गर्ने गर्छ । फार्ममा पालन गरिएका च्यांग्राबाट बर्सेनि एक सय भन्दा बढी पाठपाठी उत्पादन हुने र फार्म उत्पादन भएका वयस्क खसीबोकाहरु मासुका लागि बिक्री गर्ने गरिएको व्यवस्थापक तामाङले बताउँनुभयो ।

यसैगरी चिम्ले अचार्ड कृषि स्याउ फार्ममा व्यवसायिक तथा कृषि प्रयोजनका लागि १० वटा जर्सी गाई पालन गरिएको व्यवस्थापक आईतराम तामाङले सुनाउँनुभयो । यहाँको जर्सी गाई पालनबाट दैनिक ६० देखि ७० लिटर दुध उत्पादन हुने गरेको उहाँले जनाउँनुभयो । जर्सी गाईको दुध नजिकैको डेरी उद्योगमा लगेर बिक्री गरिने र त्यसवापत फार्मलाई मासिक दुई लाखदेखि साँढे दुई लाखसम्म आम्दानी हुने गरेको छ । यहाँ फार्ममा ९ वटा घोडा पालिएको र पालिएका घोडालाई मल र भारी ओसार्न प्रयोग गरिएको उहाँले बताउँनुभयो ।

 फार्मका संञ्चालन कर्म गुरुङले जर्सी गाई पालनलाई बृहत्त बनाउँने योजना रहेको बताउँनुभयो । यहाँ फार्ममा निकट भविष्यमा ५० भन्दा बढी जर्सी गाई पालन गर्ने योजना छ, डेरी उद्योग पनि खोल्ने योजना बनाएको छ।’ कृषि कर्मले भन्नुभयो,‘ कृषिका लागि यहाँको विषादीरहित अर्गानिक मल उत्पादन गरी उपयोग गर्नेनै हो, यहाँ फार्ममा स्याउ खेतीका लागि सबै माध्यमहरु अपनाई रहेका छौं ।’

 यहाँ फार्मका किसान मुस्ताङ जिल्लाका एक नमूना कृषकका रुपमा छाएका छन् । स्याउ खेतीबाट बर्सेनि पाँच सय मेट्रिक टनसम्म उत्पादन गर्ने उहाँले वार्षिक करोडौं रुपया आम्दानी हुने गरेको बताउँछन । 

 कृषक कर्मको स्याउ फार्मले २५ जना भन्दा बढी स्थायी र एक सय बढी जनशक्तिलाई अल्पकालिन रोजगार दिएको छ ।


प्रतिक्रिया