चराङ खोला पुल तिहार अघि सकिने

 चराङ खोला पुल तिहार अघि सकिने

सुन्दरकुमार थकाली

जोमसोम—कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत मुस्ताङको उत्तरी कोरलानाका जोड्ने निर्माणधिन चराङ खोला पक्की पुल तिहार अगावै संञ्चालनमा आउने भएको छ । दसैं पर्व मनाउन फिल्डमा खटिएका मजदुर घर फर्किएकाले निर्माणको काममा केही ढिलाई भएको भएपनि तिहार  अगावै चराङ खोला पुल निर्माण सम्पन्न भई संञ्चालनमा आउने आयोजनाले बताएको छ ।

 राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङ खोलामा निर्माणधिन पुल २०७५ साल असार २९ गते काष्ठमाण्डप कन्ट्रक्सन प्रा.लि.ले १० करोड १८ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । दुई स्पानको ८० मिटर लामो चराङ खोला पुलको सुरुवाती ठेक्का सम्झौता अनुसार २०७७ साल पुस ९ गते सकिनु पर्ने थियो । साँढे २ वर्षको सम्झौता अवधि तोकिएको कोरलानाका जोड्ने चराङ खोला पुल निर्माण कम्पनीको काम  निर्माण कम्पनी काष्ठमाण्डप कन्ट्रक्सनको चरण ढिलासुस्ती र वेवास्ताका कारण  पुल निर्माणको काम लामो समयसम्म अलपत्र परेको थियो ।

 चराङ खोला पुल निर्माणका क्रममा निर्माण कम्पनीले भौगोलिक विषमता,प्रतिकुल मौसम,हिमपात र अत्यधिक चिसोले निर्माणको काममा बाधा परेको उल्लेख गर्दै पुलको म्याद ५ पटकसम्म थप गरिएको थियो । पछिल्लो सार्वजनिक खरिद ऐन १३ औ संशोधन अनुसार जीर्ण आयोजनाहरुको म्याद सरकारले स्वतः एक वर्ष थप्न प्रावधान गरेसंगै चराङ खोला अलपत्र पुलको म्याद आयोजनाले  असार ६ गतेसम्म कायम गरेको थियो ।

कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले कोरलानाका जोड्ने चराङ खोला पुलमा तिहार अगावै सवारी साधन संञ्चालनमा आउने जानकारी दिए । चराङ खोला पुलको पछिल्लो भौतिक प्रगती ९८ प्रतिशत पुगिसकेकाले आशिंक काम मात्रै बाँकी रहेको आयोजनाका सूचना अधिकारी चापागाईले उल्लेख गरे । ‘ चराङ खोला पुल अन्तिम अन्तिम चरणमा छ,हामीले दसै अगावै सक्काउने योजनामा थियौं, सूचना अधिकारी चापागाईले भने,‘ चाडपर्व नजिकिएकाले भनेको समयमा सम्पन्न गर्न सकेनौं, अब  तिहारै अगावै सबै काम सक्काउने गरी निर्माण कम्पनीलाई जानकारी गराएका छौं ।’

 कोरलानाका जोड्ने चराङ खोला पुलको भौतिक संरचना फाईनल भईसकेको र अब  पुलको एप्रोज सडकको सववेशको काम र पुलको दाँयाबाँया एप्रोज चौडा गर्ने लगायत केही पुल फिनिसिङको काम बाँकी रहेको आयोजनाका सूचना अधिकारी चापागाईको भनाई छ ।

लोघेकर दामोदरकुण्ड—१ चराङका वडाध्यक्ष टै ढिन्डुक ठकुरीले ढिलै भएपनि चराङ खोला पुल निर्माण सम्पन्न हुने क्रममा रहेको जानकारी दिए । कोरलानाका जोड्ने चराङ खोला पुल संञ्चालनमा आएपछि बर्खायामको मौसममा खोलाको सतह उच्च हुँदा सवारी आउजाउमा निकैनै सहज पू¥याउने वडाध्यक्ष ठकुरीको भनाई छ ।

यसैगरी आयोजना अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फा राजखोलामा निर्माणधिन  ३ स्पानको ९० मिटर लामो पक्की पुल पनि अन्तिम चरणमा पुगेको छ ।हिमढुङ ठोक्कर ईमोटल जेभी कन्ट्रक्सनले २१ करोड लागतमा ठेक्का सम्झौता गरेको दुई पुल मध्ये मार्फा राज खोला पुल एक हो । निर्माण कम्पनीले छुसाङ नरसिंह खोला पुल २ महिना अधि सम्पन्न गरेको छ भने मार्फा राज खोला पुल पनि अन्तिम चरणमा रहेको निर्माण कम्पनीका प्रतिनिधि सुदिप खड्काले जानकारी दिए । उनले मार्फा राज खोलामा पनि तिहार अगावै सवारी साधन संञ्चालन गर्न योग्य हुने बताए ।

 राष्ट्रिय गौरव उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको कोरलानाकासम्म  जोमसोमदेखि माथि आयोजना अन्तर्गत यसअघि ७ वटा पक्की पुल निर्माण सम्पन्न भईसकेको आयोजनाको भनाई छ । चराङ खोला पुल सकिएपछि आयोजना अन्तर्गत कोरलानाका जोड्ने घमी खोला पुल मात्रै निर्माण सम्पन्न हुन बाँकी रहने जनाईएको छ । आयोजना अन्तर्गत निर्माण भएको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी स्थित कागखोलामा निर्माणधिन कोरलानाका जोड्ने पक्की पुल निर्माणको अन्तिम चरणमा रहदा पोहोर साल साउन २८ गते आएको बाढीले क्षति तुल्याएको थियो । आयोजनाले त्यहाँ अर्को पुल निर्माण गर्नका लागि पुल बिशेषज्ञहरु झिकाएर त्यहाँका भौगोलिक अध्ययन अनुसन्धान गरेको थियो ।

 राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत कालिगण्डकी नदीमा मिसिने अधिकाँश शाखा नदीहरुमा पक्की पुल बनिसकेकाले मुस्ताङ आउजाउ गर्न समस्या नपर्ने बताईएको छ । एकाध स्थानमा निर्माण कम्पनीका कारण र  अर्को त्यहाँको भौगोलिक अवस्थाले गर्दा पुल निर्माणको काममा बाधा पुग्दै आईरहेको छ । कोरला जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला ) सडकको समग्र भौतिक प्रगती ८० प्रतिशतको हाराहारीमा छ ।


प्रतिक्रिया