अपडेटनै छैन ईलाका प्रशासन लोमान्थाङको वेबसाईड

उपल्लो मुस्ताङ स्थित ईलाका प्रशासन कार्यालय लोमान्थाङको सरकारी वेबसाईड लामो समयदेखि निष्क्रिय छ । ईलाका प्रशासन कार्यालय लोमान्थाङको कार्यालय तथा सूचना सम्वन्धि जानकारी दिने गरी सञ्चालन गरिएको सरकारी वेबसाईड अपडेडविहीन बनेको हो ।

कार्यालयमा एक जना शाखा अधिकृत (कार्यालय प्रमुख) सहित ६ जनाको स्थायी दरबन्दी छ । तर, ईलाका प्रशासन कार्यालय लोमान्थाङको सरकारी वेबसाईडमा दुई जना कर्मचारीको मात्रै विवरण उल्लेख गरिएको छ । उक्त वेबसाईडमा उल्लेख गरिएको कर्मचारी विवरण पनि अपुरो देखिन्छ । सरुवा भईसकेका एक जना नायब सुब्बा रबि पुन र एक जना कार्यालय सहयोगी आङ्ग्या गुरुङको मात्रै विवरण भेटिन्छ  ।

 वेबसाईडमा उल्लेख गरिएका नायब सुब्बा रबि पुन दुई वर्ष अघिनै त्यहाँबाट सरुवा भईसकेका छन् । कार्यालय सहयोगी आङ्ग्या गुरुङ भने यथावत छन् । दुई वर्षअघि नै सरुवा भईसकेका कर्मचारीको विवरण अझै वेबसाईडमा रहनुले ईलाका प्रशासन कार्यालय लोमान्थाङको सरकारी वेबसाईड पूर्ण रुपमा निष्क्रिय रहेको पुष्टि गर्दछ । 

  सरकारी कार्यालयको वेबसाईड निर्माण तथा व्यवस्थापन सम्वन्धी  निर्देशिका २०७८ अनुसार ईलाका प्रशासनको वेबसाईड अपडेड नहुँदा नागरिकको सेवा प्रवाहमा समेत समस्या  परेको छ । उक्त साईडमा पछिल्लो अपडेड विस २०७८ जेठ २६ सम्मको देखिन्छ ।

डिजिटल युगमा सरकारी कार्यालयको डिजिटल सूचनामूलक वेबसाईड निर्देशिका बमोजिम सञ्चालन नहुँदा ईलाका प्रशासनबाट हुने सेवा प्रवाह लगायतका बिषयमा स्थानीय नागरिकहरु बेखबर रहने अवस्था आएको हो । 

 सरकारी कार्यालयको वेबसाईड निर्माण तथा व्यवस्थापन निर्देशिका २०७८ मा वेबसाईडमा राखिएका सूचनाहरु परिवर्तन गर्नुपर्नेमा सूचना राखेको तीन दिनभित्र परिवर्तन गरी वेबसाईड अद्यावधिक गर्नुपर्ने उल्लेख छ । तर, लोमान्थाङको वेबसाईडलाई हेर्ने हो भने विगत दुई वर्ष बढी अपडेड हुन नसकेको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार ईलाका प्रशासन कार्यालय लोमान्थाङमा दरबन्दी अनुसार कर्मचारी पदपूर्ती हुन नसक्दा वेबसाईड सञ्चालन तथा व्यवस्थापन गर्नमा समस्या आएको बताउँनुभयो ।  ईलाका प्रशासन कार्यालय लोमान्थाङमा ६ जनाको दरबन्दी रहेकोमा २ जना नायब सुब्बा र दुई जना कार्यालय सहयोगी गरी चार जना कर्मचारी कार्यरत रहेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो ।

 सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले उल्लेख गरिएअनुसार ईलाका प्रशासन कार्यालय लोमान्थाङको वेबसाईडमा कार्यरत कर्मचारीको विवरण अपडेट गरिएको देखिदैन ।

 ईलाका प्रशासनमा एक जना सहलेखा पालको दरबन्दी लामो समयसम्म रिक्त छ भने ईलाका प्रशासन प्रमुख समेत छोटो समय बसेर सरुवा हुने परिपाटीले गर्दा ईलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्ने गरेको छ । ईलाका प्रशासन प्रमुखका लागि शाखा अधिकृत सरुवा भई गईसकेकाले नायब सब्बालाईनै निमित्त प्रमुखको अख्तियारी दिने तयारी भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो । सह लेखापालको जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालयबाट व्यवस्थापन हुँदै आईरहेको उहाँले उल्लेख गर्नुभयो ।

पछिल्लो समय सूचना प्रबाहको लागि वेबसाइटलाई अपरिहार्य मानिए पनि ईलाका प्रशासन कार्यालय लोमान्थाङ मुस्ताङको आधिकारिक वेबसाइटमा अपलोड गरिएका अन्य सूचना समेत धेरै पुराना छन् । सूचना प्रविधिको प्रयोग ब्यापक रुपमा बढीरहेको अवस्थामा दैनिक सेवा प्रबाहलाई थप चुस्त दुरुस्त बनाउन सरकारी कार्यालयले कार्यालयमा कार्यरत कर्मचारीलाई समेत थप तालिम दिएर अथवा सूचना प्रविधि सम्बन्धी ज्ञान भएको कर्मचारी राखेर नै सेवा प्रबाह चुस्त दुरुस्त बनाउन आवश्यक छ ।

प्रतिक्रिया