चिसोबाट जोगाउन स्वास्थ्य शिविर

यहाँ स्थित माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर चलाईएको छ । हिउँयामको अत्यधिक चिसो मौसममा बेसी नझरी गाउँ बसेका स्थानीय नागरिकहरुको स्वास्थ्य रक्षाका लागि माथिल्लो मुस्ताङको लोमान्थाङ—२ स्थित नामासुङ र न्यानोल गाउँमा एकदिने स्वास्थ्य शिविर संञ्चालन गरिएको हो ।

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङ ,सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरी चौकी छोसेरको संयुक्त आयोजनामा स्थानीय नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य परीक्षण शिविर चलाएको हो ।

हिउँयामको जाडो मौसममा बेसी नझरी गाउँमा बसेका स्थानीय नागरिकहरुलाई ज्वरो,रुघाखोकी र निमोनिया लगायतका स्वास्थ्य समस्याहरु देखिने प्रवल संम्भावना हुने भएको स्थानीय नागरिकहरुको कल्याणका लागि घरदैलोमै पुगेर स्वास्थ्य शिविर चलाईएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।  शिविरमा गाउँमै बसेका स्थानीय नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको प्रमुख पौडेलले बताउँनुभयो ।

स्वास्थ्य शिविरमा एक्याप लोमान्थाङ,सशस्त्र प्रहरी र नेपाल प्रहरीका एक÷एक जना स्वास्थ्यकर्मी स्वास्थ्य परीक्षणमा खटिएका प्रमुख पौडेलले उल्लेख गर्नुभयो । शिविरमा नामासुङ र न्यानोलका १९ महिला र ३ पुरुष गरी २२ जनाले स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभान्वित भएको एक्याप लोमान्थाङले जनाएको छ । यसप्रकारका स्वास्थ्य शिविर आवश्यक अनुसार हिउँदयामभरी चलाईने कार्यालय प्रमुख पौडेलको भनाई छ । चिसोका कारण स्थानीय नागरिकहरुको स्वास्थ्य उपचारमा कुनै समस्या नपरोस भन्ने उद्देश्यले स्वास्थ्य शिविर चलाईएको प्रमुख पौडेलको भनाई छ । 

यहाँ आयोजित स्वास्थ्य शिविरमा ८३ वर्ष उमेरका ज्येष्ठ नागरिकको समेत स्वास्थ्य परीक्षण गराईएको एक्यापले जनाएको छ । यतिबेला उपल्लो मुस्ताङका अधिकाँश नागरिकहरु हिउँदयामको जाडो छल्न बेसी झरेका कार्यालय प्रमुख पौडेलले सुनाउँनुभयो । सम्भावित हिमपात र अत्यधिक चिसो हुने भएकाले स्थानीय नागरिकहरु गाउँ छोडेर बेसीको पारिलो स्थानमा झरिसकेका छन् । त्यसो त माथिल्लो मुस्ताङका अधिकाँश नागरिकहरु हिउँदयाममा जाडो छल्ने र घुम्ती व्यापार व्यवसाय चलाउन बेर्सी झर्ने परम्परा सदिंयौंदेखि चल्दैआईरहेको छ ।

हिउँदयामको मौसममा अधिकाँश नागरिकहरु बेसी झरेपनि आर्थिक अवस्था कमजोर भएका र ज्येष्ठ नागरिकहरु र पशुचौपाया रेखदेख गर्ने गोठालाहरु मात्रै गाउँमा बसेका छन् । यहाँ स्थित माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका सामुदायिक,निजी र गुम्बा विद्यालयहरु मंसिर अगावै जाडो छल्न बेसी झरिसकेका छन् ।

हिउँदयामको अत्यधिक चिसोसंगै माथिल्लो मुस्ताङको जनजिवन निकै कष्ठकर बनेको छ । चिसोका कारण लगभग माथिल्लो मुस्ताङ मानवविहिन बनेको छ । तर, सीमावर्ती क्षेत्रमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीहरु जाडो थेग्दै दैनिक कार्यसम्पादनमा खटिरहेका छन् । यहाँ स्थित मुस्ताङ भन्सार कार्यालयका कर्मचारीहरु सीमित पुर्वाधारमा जेनतेन गरी कष्ठकर रुपमा भन्सारको कार्यसम्पादनमा खटिएका भन्सार प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । यहाँको भन्सार आशिंक रुपमा ब्यापारिक कारोबार चलेको भएपनि कार्यसम्पादनका लागि जाडो सहेर काम गर्नुपर्ने अवस्था रहेको बताउँनुभयो ।

 भन्सार प्रमुख खड्काले माथिल्लो मुस्ताङमा तापक्रम बिहान र बेलुकीपख माईनस २० डिग्री सम्म पुग्ने भएकाले धारा,कुलो,खोला र सबै चिसोले जमेर बस्ने गरेको बताउँनुभयो । यहाँ कर्मचारीलाई जाडो थेग्ने वातावरणमैत्री पूर्वाधारका अभाव र खानेपानीको समस्या हुने गरेको बताउँनुभयो । ‘चिसोले धारा र कुलोको पानी पुरै बरम बनेर जम्छ, दिउँसो घाम लाग्दा पानी तताएर खानेकुरा पकाउने र खाने हो, उहाँले भन्नुभयो, हिउँ प¥यो भने त यहाँ बस्न झनै सास्ती हुन्छ ।’

यसैगरी लोमान्थाङमा संञ्चालनमा रहेका पर्यटक लक्षित अधिकाँश होटलहरु चिसोका कारण नागरिकहरु बेसी झरेकाले बन्द अवस्थामा रहेको एक्याप प्रमुख उमेश पौडेलको भनाई छ । ‘पर्यटकहरुको पनि खासै चहलपहल हुन छाड्यो, सडकमा पनि पानी बरम बनेर जमेको हुन्छ, उहाँले भन्नुभयो, यस्तो अवस्थामा सडकमा गाडी चलाउन पनि समस्या , यहाँ बसेका नागरिकहरुलाई पनि बस्न निकै समस्या छ । ’


प्रतिक्रिया