यहाँको घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैचा व्यवस्थापनकार्यमा जुटेका छन् ।गुणस्तरीय स्याउ फलाउन र यसको उत्पादनदर वृद्धि गर्नका लागि स्याउको समुचित बगैचा व्यवस्थापनकार्य अपरिहार्य हुन्छ ।
मुस्ताङमा स्याउ बगैचा व्यवस्थापनकार्य विगतका वर्षहरु भन्दा केही चाँडो सुरु गरिएको छ । भदौदेखि कार्तिक महिनासम्म स्याउको पोस्ट हार्भेस्ट सकिएसंगै यहाँका स्याउ बगैचाका बोटहरुमा पात झरेर उजाडमय बनिसकेका छन् । यसपालि जमिनको तापक्रम नघटेका कारण स्याउ बोटका पातहरु छिटोछिटो सुकेर पूर्णरुपमा उजाडमय बनेका छन् ।
अक्सर मुस्ताङमा स्याउको बगैचा व्यवस्थापनकार्य पुस र माघ महिनामा चल्ने गर्छ । यसपालिका बगैचामा स्याउका बोटहरु झरिसकेकाले किसानले बेलैमा स्याउको बगैचा व्यवस्थापनकार्यलाई अघि बढारहेको घरपझोङका किसान दिवश थापाले जानकारी दिनुभयो । हिउँदयामको जाडो मौसममा यहाँका किसानले आफ्नो समयअनुकलता मिलाएर स्याउ बगैचाको व्यवस्थापन गर्ने गरेको किसान थापाको भनाई छ ।
यहाँ स्याउ बगैचा व्यवस्थापन कार्यको पहिलो प्राथमिकतामा स्याउ बोटको उपयुक्त काँटछाँट महत्वपूर्ण हुन्छ । स्याउ बगैचा भित्रको प्रत्येक बोटका हाँगाबिगाको सुर्यको प्रकास सर्कुलर हुनुपर्ने र चारैतिरबाट स्याउ बोटको हाँगाबिगामा हावा खेल्नुपर्ने हुन्छ । यसो भएको खण्डमा मात्र स्याउ बोटको सुर्यको प्रकाश र हावाको माध्यमबाट बिरुवालाई चाहिने आवश्यक तत्व प्राप्त गर्न सक्तछ । स्याउ बोटमा पलाएका अनाधिकृत हाँगाबिगाको असर स्याउको गुणस्तर र उत्पादनलाई ह्रास पु¥याउन सक्ने भएकाले स्याउको उपयुक्त काँटछाँट गर्नुपर्ने आवश्यकता रहेको किसान थापाको भनाई छ । जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्ट पछि छिटोछिटो पात झरेर बगैचाका बोटहरु पतझड हुने गरेको किसान थापाले जानकारी दिनुभयो ।
हिउँदयामा यहाँका किसानलाई आफ्नो स्याउ बगैचा व्यवस्थाप गर्न भ्याईनभ्याई हुने गर्छ । स्याउ बोटको काँटछाँट,स्याउ बोटको मलजल,सिंचाई र स्याउ बोटमा रागकिराको संक्रमणबाट जोगाउँन बोरो पेस्ट र बोरो मिक्चर आदी छर्किएर बगैचा व्यवस्थापन गरिन्छ । बगैचामा स्याउको राम्रो व्यवस्थापनमा ध्यान दिन नसकेको स्याउ बोटले अपेक्षा गरेअनुरुपमा गुणस्तर उत्पादन नदिने किसान थापाको भनाई छ ।
हिउँदयामको मौसममा स्याउ खेतीका लागि हिउँदयामको हिउँ अतिनै आवश्यक रहेको किसान थापाले औल्याउनुभयो । स्याउको बगैचा व्यवस्थापन गर्ने समयमा परेको हिउँले स्याउ बगैचामा जमिनको उर्वराशक्तिलाई मजबुद बनाउँने ,जमिनको भित्री तहसम्म रिचार्ज गराउने र यसले रोगकिराको संक्रमणलाई समेत न्यूनिकरण गर्न योगदान पु¥याउने किसान थापाको भनाई छ । पछिल्लो समय अनुकुल मौसममा हिउँ नपर्दा सिंचाईकै भर पर्नुपरेको छ ।
मुस्ताङको तल्लो क्षेत्रका तीन पालिकामा किसानले स्याउ बगैचा व्यवस्थापन कार्य सुरु गरेपनि माथिल्लो मुस्ताङमा पुसको १५ देखि माघ महिनाको अन्तिमसम्म स्याउको बगैचा व्यवस्थापन गर्ने गर्छन । माथिल्लो मुस्ताङको उच्च उचाईमा तापक्रम घटेका कारण स्याउ बोटको पात पूर्ण रुपमा झर्न समय लाग्ने भएकाले त्यहाँ बगैचा व्यवस्थापन ढिलो गरी सुरु हुन्छ ।
मुस्ताङमा स्याउको हार्भेस्ट भईसकेर बोटहरुमा पात झरिसकेकाले यो बेला स्याउको बगैचा व्यवस्थापन कार्य प्रमुख भएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो । यहाँ स्याउ बोटमा पात झरिसकेपछि स्याउको हाँगाबिगा काँटछाँट गर्नुपर्ने पहिलो क्रियाकलाप भएको प्रमुख गुरुङको भनाई छ । स्याउको अनाधिकृत हाँगाहरु काँटछाँट गर्ने ,स्याउको बोटहरुमा रोगकिरा नियन्त्रणका लागि सुक्ष्म खाद्य तत्व, बोरो पेस्ट र बोरो मिक्चर उपयुक्त विधि अपनाएर छर्किनुपर्ने उहाँको भनाई छ । यसरी बोटहरुबाट झरेका पाँतहरुलाई एकिकृत गरी मलको रुपमा प्रयोग गर्नु पर्ने उहाँले बताउँनुभयो । स्याउको गुणस्तर र उत्पादन वृद्धि गराउन स्याउको बगैचा व्यवस्थापन भित्र पर्ने सबै मापदण्ड पुरा गर्नुपर्ने कार्यालय प्रमुख गुरुङले उल्लेख गर्नुभयो ।
यहाँको कृषि तथा पशु विकास कार्यालयले स्याउ बगैचा व्यवस्थापनका लागि यहाँका स्थानीय तहका कृषि प्राविधिक,सम्वन्धित सरोकारवाला कार्यालयहरुका कृषि प्राविधिकहरु लगायतलाई लक्षित गरी तीनदिने स्याउ बगैचा व्यवस्थापन सम्वन्धि सैद्धान्तिक तथा व्यवहारिक तालिम संञ्चालन गरिएको बताउँनुभयो ।
कार्यालय प्रमुख गुरुङका अनुसार हिउँदयामको समयमा स्याउ बगैचाका बोटहरु सुशुप्त अवस्था अर्थात निदाएको अवस्थामा हुने भएकाले योबेलामा गरिएको स्याउ बगैचा व्यवस्थापनले उपयुक्त प्रतिफल किसानले प्राप्त गर्न सक्छन् । अन्य समय गरिएको बगैचा व्यवस्थापनले स्याउ बोटहरुलाईनै क्षति पु¥याउन सक्ने भएकाले किसानले यसतर्फ सामान्य रुपमा भएपनि जानकारी हुनुपर्ने उहाँको भनाई छ ।
मुस्ताङमा यसवर्ष स्याउको उत्पादन आशिंक रुपमा ह्रास आएको छ । तर, यहाँका किसानले स्याउको बिक्रीबाट आम्दानी भने बढाएको पाईएको छ । यसवर्ष मुस्ताङमा स्थानीय स्याउ ६ हजार ७८ मेट्रिक टन र हाईब्रिड स्याउ एक हजार २५० मेट्रिक टन उत्पादन भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली