मुस्ताङ कारागार कैन्दीबन्दीलाई सिलाईकटाई तालिम

जोमसोम—  जिल्ला कारागार मुस्ताङका कैदीबन्दीलाई कारागार भित्रै सिप विकास सम्वन्धि सिलाईकटाई तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय मुस्ताङको आयोजनामा जिल्ला कारागार मुस्ताङका पुरुष कैदीबन्दीहरुलाई उनीहरुको सिप क्षमता विकासका साथै आयआर्जन,व्यवसायिक तथा आत्मनिर्भर तुल्याउने उद्देश्यले बिहिबारदेखि एक महिने सिलाईकटाई तालिम सञ्चालन गरिएको हो ।

 पर्यटन तथा उद्योग कार्यालयको आार्थिक सहयोग तथा कारागार शाखा मुस्ताङको व्यवस्थापनमा १० जना पुरुष कैदीबन्दीहरुलाई सिलाईकटाई क्षमता विकास तालिम सञ्चालन भएको कारागार शाखा मुस्ताङका निमित्त कार्यालय प्रमुख लालबाबु सहनीले जानकारी दिनुभयो । कारागार भित्र कुल १२ जना कैदीबन्दी रहेकोमा २ जना कैदीबन्दी वृद्ध भएका कारण तालिमका सहभागी हुन नसकेको कारागार शाखा मुस्ताङका निमित्त प्र्रमुख सहनीले बताउँनुभयो ।

मुस्ताङ जिल्ला कारागारमा हाल १२ जना पुरुष कैदीबन्दी छन् । कारागारमा कैंदीबन्दी बस्ने २ वटा कोठा छन् भने अर्को २ वटा घाम ताप्ने कोठा छन् । त्यही कैंदीबन्दीहरुले घाम ताप्ने कोठामा त्यहाँ सहभागी कैदीबन्दीहरुलाई सिप विकास सम्वन्धि सिलाईकटाई तालिम सञ्चालन भएको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेम पौडेलले जानकारी दिनुभयो । कैदीबन्दीहरुलाई तालिम दिनका लागि एक जना सिलाईकटाई प्रशिक्षकसहित सिलाईकटाई सम्वन्धि सामाग्री कार्यालयले उपलब्ध गराउने कार्यालय प्रमुख पौडेलको भनाई छ ।

 मुस्ताङ जिल्ला कारागारमा सुरु भएको एकमहिने कैदीबन्दी सिप विकास सिलाईकटाई तालिमको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले क्रमश  ब्यानर वाचन र सिलाईकटाई मेशिन चलाएर उद्घाटन गर्नुभएको थियो ।

 तालिमको उद्घाटन गर्दै घरपझोङका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कारागार भित्रको बन्दी जिवनलाई रचनात्मक तथा सृजनात्मक बनाउन यसप्रकारको सिलाईकटाई तालिमले महत्वपूर्ण योगदान पु¥याउने बताउँनुभयो ।

बन्दी जिवन केवल बन्द रहन नभएर केही सिक्ने अवसरका रुपमा मनन गरेर सिप र क्षमता अभिवृद्धि गर्नुपर्ने पर्यटन तथा उद्योग कार्यालय प्रमुख प्रेम पौडेलले सुझाउँनु भयो ।

 कारागार प्रमुख लालबाबु सहनीले कारागार भित्रको बन्दी जिवनलाई उपयोगी र सार्थक बनाउन सकेमा यहाँबाट निस्कदाको जिवन पनि सही गोरेटोमा डोहो¥याउन सकिने धारणा व्यक्त गर्नुभयो ।


प्रतिक्रिया