मुस्ताङको झारकोटमा वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन शिलान्यास

यहाँको वारागुङ मुक्तिक्षेत्र—१ झारकोट गाउँमा वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । झारकोट गुम्बाका प्रमुख लामा घिर्मी रिङझिङ ठकुरीद्वारा बुधवार दुबै भवनको धार्मिक विधिपूर्वक शिलान्यास गरिएको हो ।

  स्वास्थ्य चौकीको करिव सात रोपनी जग्गामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गरिन  लागिएको हो । यी दुबै भवन दुई महिना अघि ठेक्का सम्झौता भई निर्माणको काम अघि बढाईएको थियो । गुम्बाका लामाको कार्यव्यस्तताले दुबै भवनको शिलान्यास हुन सकेको थिएन ।

 जिसस प्रमुख माया गुरुङ, गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ,वडाध्यक्ष प्रमेश गुरुङसहित स्थानीयबासी र निर्माण व्यवसायीको उपस्थितीमा गुम्बाका प्रमुख लामा ठकुरीले बौद्ध धर्म परम्परा अनुसार धार्मिक विधिपूर्वक भूमि पुजा गरी वडा कार्यालय र स्वास्थ्य चौकी भवनको अलग÷अलग शिलान्यास गर्नु भएको हो ।

 वारागुङ मुक्तिक्षेत्र—१ स्थित झारकोटमा शिलान्यास गरिएको वडा कार्यालय भवन गाउँ पालिकाको आन्तरिक स्रोतमा निर्माण गर्न लागिएको हो भने स्वास्थ्य चौकी भवन प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गरिन लागिएको हो । वडाध्यक्ष प्रमेश गुरुङका अनुसार साँढे दुई तलाको  वडा कार्यालय भवन एक करोड ५१ हजार र दुई तले स्वास्थ्य चौकी भवनको ठेक्का सम्झौता  एक करोड ५१ लाख रहेको छ ।

 वडा कार्यालय र स्वास्थ्य चौकी भवन दुबैको निर्माणको ठेक्का खिङ्गा कन्ट्रक्सन मुस्ताङले पाएको छ ।  ठेक्का प्रक्रिया र सम्झौता केही ढिला भएकाले बहुवर्षीय योजनाको रुपमा लगेर आगामी आर्थिक वर्षमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन सम्पन्न गर्ने लक्ष्य रहेको वडाध्यक्ष गुरुङले बताउँनुभयो । 

वारागुङ—१ मा वडा कार्यालय र स्वास्थ्य चौकीको  सुविधाजनक भवन पूर्वाधार नहुँदा सेवाग्राही र सेवा प्रवाहमा समस्या पर्दैआईरहेको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।


प्रतिक्रिया