मुस्ताङकोे मार्फा—छैरो—चिमाङ) सडक स्तरोन्नति हुँने

यहाँको घरपझोङ गाउँपालिका अन्तर्गतको (मार्फा—छैरो—चिमाङ) सडक स्तरोन्नति हुने भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत यहाँको (मार्फा—छैरो—चिमाङ) सडक स्तरोन्नतिका लागि चालु आ.व. २०८२/०८३ .मा एक करोड बजेट विनियोजन भएको छ ।

बेनी—जोमसोम ७६ किमी सडकमार्गको मार्फा सामग्रीदेखि कालिगण्डकी पारी ओझेलमा परेको यहाँको छैरो—चिमाङ गाउँ जोड्ने सडकलाई थप स्तरोन्नतिसहित आवश्यक स्थानमा कालापत्रे गर्ने गरी बहुर्षिय योजना स्वीकृत हुनसक्ने सम्भावित सूचिमा रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । 


कालिगण्डकी नदीमा निर्मित मार्फा—छैरो पुलबाट चिमाङसम्मको कच्ची सडकलाई स्तरोन्नति गर्दै आवश्यक स्थानमा कालोपत्र गर्ने गरी बहुवर्षिय योजनाका रुपमा कार्यान्वयन हुनसक्ने संम्भावना भएकाले तत्कालका लागि छैरो—चिमाङ सडक स्तरोन्नति कार्यान्वयन नगरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘‘हामीले तत्कालका लागि यहाँको सडक कार्यान्वन गर्न रोकेका छौं,बहुवर्षिय कार्यक्रमको रुपमा निर्देशन प्राप्त भएमा कार्यालयको तर्फबाट सोही अनुसार प्रक्रिया अघि बढाईनेछ,’’उहाँले भन्नुभयो ।

 यहाँको छैरो—चिमाङ सडकलाई बहुवर्षिय कार्यक्रमको रुपमा लैजादा चालु आ.व.मा विनियोजन भएको रकमको पाँच गुणासम्मको लागत अनुमान तयार गरी श्रोत सुनिश्चित हुने कार्यालय प्रमुख श्रेष्ठको भनाई छ । बहुवर्षिय कार्यक्रम स्वीकृत हुँदा मार्फा—छैरो—चिमाङ करिव ४ किलोमिटर सडकको केही खण्ड कालोपत्र र अन्यमा स्तरोन्नति हुने उहाँले उल्लेख गर्नुभयो । छैरो—चिमाङ सडक बहुवर्षिय कार्यक्रम स्वीकृत हुँदा चालु आ.व.मा ठेक्का सम्झौता र सडक स्तरोन्नतिकार्य सुरु हुनेछ ।

यहाँको कालिगण्डकी नदी पारी रहेको ओझेलमा परेको कृषि गाउँ चिमाङसम्म जोड्ने सडक जीर्ण र असहज हुँदा स्थानीय सर्वसाधारणलाई आवतजावत र मालसामान ढुवानी लगायतका कार्यमा निकै जोखिम देखिएको छ । छैरोबाट चोखोपानी खोलासम्म सिधा कच्ची सडक र चोखोपानीबाट चिमाङसम्म ठाँडो उकालो सडक जीर्ण हुँदा यातायातका साधनको सहज पहुँच पुग्न नसकेको हो ।

यहाँको छैरो—चिमाङ सडकलाई स्तरोन्नति तथा कालोपत्र गर्न सकिएमा त्यसक्षेत्रको कृषि उपजको सहज बजारिकरण तथा पर्यटन विकासमा समेत टेवा पुग्ने स्थानीय ईन्द्रप्रसाद थकालीले बताउँनुभयो । मार्फा—छैरो जोड्ने कालिगण्डकी नदीमा पुल निर्माण भईसकेकाले चिमाङसम्मको सडक स्तरोन्नति तत्कालको आवश्यकता रहेको थकालीले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया