शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रर्दशन

विश्व शान्ति र स्थिरताका कामना गर्दै यहाँको घरपझोङ गाउँपालिका—५ ढुम्बा स्थित कुछप तेरङ्गा गुम्बामा बुद्ध धर्म परम्परा अनुसार ‘ध्योक्योप’ पुजा र देव नृत्य प्रर्दशन गरिएको छ ।

सोमबार यहाँ आयोजित कुछ्प तेरङ्गा गुम्बामा यहाँ स्थित विभिन्न गुम्बाका लामाहरुद्वारा ‘ध्योक्योप’ पुजासहित वेशभूषा र मुकुट लगाएर देव नृत्य प्रर्दशन गरिएको हो । गुरु पद्यसम्भव विभिन्न स्वरुपमा प्रकट भएका देवीदेवताहरुको मुकुट लगाएर स्थानीय बौद्ध गुम्बाका लामाहरुले देव नृत्य प्रर्दशन गरेका हुन् । झन्डै आधा शताब्दीदेखि निरन्तर चल्दैआईरहेको यसप्रकारको ‘ध्योक्योप’ पुजा र देव नृत्य प्रर्दशनीले बौद्ध धर्मप्रति आस्था विश्वाश राख्ने भक्तजनहरुलाई धार्मिक मोक्ष प्राप्त हुने विश्वाश गरिएको छ ।

यसप्रकारको गुरु पद्यसम्भवसंग सम्वन्धि देवीदेवताका नृत्य अवलोकन गर्नाले मरेपछि पनि स्वर्गमा पुगिन्छ भन्ने धार्मिक जनविश्वास रहेको छ । यसप्रकारको नृत्य अलोकन गर्नाले  शान्ति र स्थितरता कायम होस भन्ने कामना गर्दै ठुलो संख्यामा लामाहरुले निरन्तर धार्मिक विधि अनुसार पुजापाठ गर्ने गर्छन । पुजामा लामाहरुले बजाउने ढ्याङ्गो  लगायतका बाजाका तालमा यहाँका लामाहरुले सामुहिक रुपमा देवीदेवताका विभिन्न नृत्यहरु प्रर्दशन गरेको ठिनी गाउँका स्थानीय निरज थकालीले बताउँनुभयो । 

ध्योक्योप अवलोकन गर्नाले मानिसहरुको ग्रहदशा हटाउने, अनिष्ट, प्राकृतिक विपद्हरुको रोकथाम गर्ने मानिसहरुलाई अशान्ति र दुखकष्ठहरुको अन्त्य गराउने जनविश्वाश रहेको छ ।

 जिवितै रहेको अवस्थामा मानिसले भगवान चिन्न नसक्ने भएकाले ध्योक्योप पुजा र देव नृत्यको माध्यमबाट सर्वसाधारण भक्तहरुलाई जिवितै रहँदा भगवान चिन्न सकोस भन्ने उद्देश्यले यसप्रकारको ध्योक्योप नृत्य बर्सेनि  देखाउने प्रचलन रहेको स्थानीय थकालीको भनाई छ । जिवितै रहँदा ध्योक्योप पुजामा देखाईने नृत्य हेर्नाले मरेपछि पनि मानिसले सजिलै भगवान चिन्न सक्ने र मानिसको अन्तरआत्मामा देवीदेवताहरु प्रकट हुने धार्मिक जनविश्वास रहेको स्थानीय थकालीको भनाई छ ।

 यहाँ स्थित कुछ्प तेरङ्गा गुम्बामा ध्योक्योप अवलोकन गर्न उल्लेख सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।जोमसोम, स्याङ,मार्फा,ठिनी,कागबेनी लगायतका स्थानीय नागरिकहरु ध्योक्योप हेर्न कुछ्प तेरङ्गा गुम्बामा पुगेका थिए ।

 मुस्ताङको ढुम्बा, स्याङ र टुकुचे लगायतका गुम्बाहरुमा बर्सेनि यसप्रकारको ध्योक्योप पुजा र देव नृत्य प्रर्दशन गर्ने प्रचलन रहेको छ । यसरी देखाईने यसप्रकारको धार्मिक पुजा र नृत्यहरुमा यहाँका विभिन्न गुम्बाका लामाहरुले आपसमा समन्वय र सहकार्य गरी सम्पन्न गर्ने गरेको पाईएको छ ।


प्रतिक्रिया