यहाँको वारागुङ मुक्तिक्षेत्र—१ पुराङ रानीपौवामा धनुषबाण (तारा) प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । यहाँका छयासी वर्षीय ज्येष्ठ नागरिक पाल्साङ गुरुङले धार्मिक परम्परा अनुसार धनुषवाण (तारा) खेलका लागि भेन पुजा गर्नुभयो । यहाँ सांस्कृतिक मान्यता अनुरुप भेन पुजा गरे लगत्तै विधिवत रुपमा तारा खेल प्रतियोगिता शुभारम्भ गरिएको हो ।
जनप्रिय युवाक्लव पुराङ रानीपौवाले मंगलबारदेखि पाँचदिने यार्तुङ मेला सञ्चालन गरेको छ । यार्तुङ मेलाको अवसरमा आयोजित धनुषबाण (तारा) खेल प्रतियोगिता अवधिमा कुनै पनि प्रकारका अप्रिय दुर्घटना नहोस भन्ने कामना गर्दै दुध,दही,घ्यु र छ्याङ रक्सी लगायतका परिकारहरु चढाएर भेन पुजा गरिएको जनप्रिय युवाक्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार तारा प्रहार गर्दा तीर अडकिने काठको फ्रेमलाई स्थानीय भाषामा भेन भन्ने गरिएको बताउँनुभयो ।
तारा खेल हिमाली क्षेत्रको मौलिक सांस्कृतिक खेलको रुपमा लिने गरिएको छ । यहाँका वारागुङ मुक्तिक्षेत्रका गुरुङ समुदायहरुले यार्तुङ र धज्याङ लगायतका महत्वपूर्ण चाडपर्वमा तारा खेल खेलेर मनोरञ्जन लिने गर्छन । यस्तै मुस्ताङको जोमसोम देखि तलको क्षेत्रमा थकाली समुदायहरुले फागुपुर्णिमाको बेला तोरन्ल ,तेरमी र त्युङ्ला जस्ता चाडपर्वहरुमा तारा खेल खेल्ने प्रचलन छ । यहाँको गुरुङ र थकाली समुदायहरुले आफ्नो विशेष महत्वपूर्ण चाडपर्वमा तारा खेललाई संस्कृतिसंग जोड्ने गरिएको पाईन्छ ।
पुरापूर्व कालमा हिमालीक्षेत्रमा बसोबास गर्नै जनजाती समुदायहरुले शिकार खेल्दा प्रयोग गरिने ऐतिहाँसिक घरेलु हतियारनै धनुषवाण (तारा) खेलको रुपमा विकशित भएको यहाँका ज्येष्ठ नागरिक पाल्साङ गुरुङको भनाई छ । पूर्वजहरुले शिकार खेल्दा प्रयोग गरिने धनुषबाण हतियारलाई पछिल्लो पुस्ताले सांस्कृतिक खेलको रुपमा अनुशरण गर्दैआईरहेको पाईन्छ ।
धनुषबाण (तारा)खेल प्रतियोगिता डोर अकंतालिका अनुसार सञ्चालन गर्ने गरिन्छ । यहाँका गाउँगाउँ र क्लवहरुको टिम समावेश गरी खेल सञ्चालन हुन्छ । दायाँबायाँ दुईतर्फी धनषवाण प्रहार गरेपछि एक डोर सकिन्छ । धनुषवाण प्रहार गर्दा भेन अर्थात काठको फ्रेममा तीर लागेमा एक अंक प्राप्त हुन्छ । फ्रेमको मध्यभागमा रहेको सानो गोलाकार फलामको रिङमा तिर प्रहार गरेमा त्यसलाई खोल गएको मान्यता दिईन्छ । यसरी रिङमा तिर प्रहार गर्ने व्यक्तिले अतिरिक्त पुरस्कार पाउँछ ।
यहाँ आयोजित मुक्तिनाथ ग्राण्ड यार्तुङ मेलामा आयोजित धनुषवाण प्रतियोगितामा कुल १६ वटा टिमको सहभागिता रहेको जनप्रिय युवाक्लवले जनाएको छ । क्लवका अनुसार छिमेकी जिल्ला मनाङबाट ३ टिम र मुस्ताङबाट १३ टिमको सहभागिता रहेको जनाईएको छ ।
प्रतियोगिता १५ डोरमा खेलाईने छ । कुल १५० पूर्णाङक रहेको प्रतियोगितामा जुन टोलीले सर्वाधिक अंक प्राप्त गर्छ, सोही टोली च्याम्पियन हुने क्लवको भनाई छ ।
यार्तुङ मेला तारा खेल प्रतियोगिताको च्याम्पियनलाई नगद एकलाख पुरस्कारसहित शिल्डmमेडल,ट्रफी र प्रमाणपत्र पाउँने छ । धनुषबाण (तारा)खेलको उपविजेता टिमले नगद ६० हजार र तेस्रो हुने टिमले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र हात पार्नेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली