सार्वजनिक जग्गा संरक्षण गछौं : अध्यक्ष लालचन



जोमसोम—संघीयता अघि मुखिया र गाविस सचिवहरुको पालामा भपाई गरी व्यक्तिको नाममा प्रदान गरिएका सार्वजनिक जग्गामा घर टहरा बनाउन नियमन गर्ने मुस्ताङको घरपझोङ गाउँपालिकाले अध्यक्ष मोहनसिंह लालचनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा अध्यक्ष लालचनले नागरिकले उठाएको प्रश्नमा यस्तो बताएका हुँन् ।

अध्यक्ष लालचनले आफु गाउँपालिका अध्यक्ष भईसकेपछि पालिका भित्र सार्वजनिक जग्गा अतिक्रमण तथा त्यस्ता जग्गामा घर टहरा बनाउँन निषेध गरेको दावी गरे । उनले कुनै व्यक्तिविशेषले लालपूर्जा छैन र त्यस्ता जग्गामा घर बनाउने सोच कसैले नगर्न नागरिकलाई सुझाएका छन् ।‘हामीले लालपुर्जा नभएका जग्गा घर बनाउँन दिने छैनौं,पुराना मुखिया र सचिवको भर्रपाईले चल्दैन,’अध्यक्ष लालचनले भने,‘लालपूर्जा छ भने घर बनाउन पाईयो ,नत्र बनाईन पाईदैन ।’अध्यक्ष लालचनले लालपूर्जा नभएका जग्गालाई गाउँपालिकाले नक्सा पास नगर्ने बताए ।‘नक्सा पास दिए जग्गा हाम्रो हो भन्न सक्छन्,वैधानिक आधार पनि रहन्छ होला,’उनले थपे,‘नक्सा दिए कर लिनुपर्छ,तर हामीलाई नक्सा नभएकालाई कर उठाउने अधिकार पनि हुँदैन ।’


सार्वजनिक भोगलचन गर्दैआईरहेका सार्वजनिक जग्गा मुखिया र साविकका सचिवले भर्पाई गरेको र उनीहरुसंग सोको दस्तावेज समेत रहेपनि अब त्यसले मात्र बैधानिकता नठहरिने अध्यक्ष लालचनको भनाई छ ।‘संघ सरकारले त्यस्ता अतिक्रमित जग्गालाई मान्यता दिन्छ वा दिदैन त्यो हाम्रो टेन्सनको बिषय होईन र हाम्रो वशमा पनि छैन,’अध्यक्ष लालचनले प्रष्ट पार्दै भने,‘ संघले दियो भने वहाँहरुले पाउनु हुन्छ,नत्र घरै बनाएर बसेको भएपनि पाउँदैन ।’ पुराना भर्पाईका आधारमा प्राप्त गरिएका जग्गा र घरहरुको बैधानिक आधारको जिम्मेवारी वहाँहरुकै हुँने अध्यक्ष लालचनले प्रष्ट्याए ।

मुखियाहरुकै भपाईमा धेरैजसो ठाउँहरुमा सार्वजनिक जग्गाहरुमा प्लटिङ गरी स्याउ रोपिएको छ,त्यसको स्थानीय सरकारले कर लिन नपाउँदाको पीडाँ हामीले छ,’ अध्यक्ष लालचनले भने,‘ सार्र्वजनिक जग्गामा खेती गरेकाहरुसंग गाउँले भर्पाई पनि होला, समय फेरिएको छ,त्यतिले मात्र जग्गाको बैधानिक आधार हुँदैन ,हामीले त्यस्ता जग्गाको कर उठाउन सक्दैनौं ।’

उनले ०३२ सालमा भएका कुराहरु उल्टिएका उदाहरण भएको जनाए ।उनले भने,‘उहिले उहिलेका कुरा उल्टिन पनि सक्छ,नउल्टिन पनि सक्छ,हामी त्यसमा बिवादित बन्न चाहन्नौं ।’

अध्यक्ष लालचनले भपाईका आधारमा कसैले सार्वजकि जग्गामा घरको जग हाल्ने थाहा पाएमा पालिकालाई तुरुन्तै खबर गर्न समेत अनुरोध गरे । उनले पछिल्लो अवस्थामा पनि कसैले कसैलाई सार्वजनिक जग्गा बाँड्यो रे भन्ने सूचना गरे त्यस्ता कार्यलाई निरुत्साहित गर्ने प्रतिवद्धता जनाए । उनले सार्वजनिक जग्गाहरुको संरक्षण गर्ने दायित्व पालिकाको भएको बताए । यसका लागि संघीयता अघि जस्तै जथाभावी मनोमानी ढंगले सार्वजनिक जग्गा वितरण नगर्न पालिकाका ५ वटै वडाहरुलाई सूचित गरिएको जानकारी दिए ।



प्रतिक्रिया