धार्मिक पर्यटनको केन्द्र बन्दै ‘चोङ्सी’ गुफा

मुस्ताङ,२७, साउन ।

धार्मिक तथा पर्यटकीय हिमालपारिको जिल्ला मुस्ताङमा दर्जनौ मानव निर्मित गुफाहरु अवस्थित छन् । तर, मुस्ताङमा यस्तो एउँटा गुफा छ, जुन आफै प्राकृतिक रुपमा  उत्पति भएको हो ।

 उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ स्याङवचे गाउँको जोमसोम—कोरला सडकमार्गबाट तीन किलोमिटर तल झ¥यो भने विशाल अजङ्गको अग्ला अग्ला पहाडको बीचमा गुफा देख्न सकिन्छ । प्राकृतिक रुपमा स्वतः आफै उत्पति भएर बनेको उक्त गुफालाई चिउसी अर्थात चोङ्सी गुफा भन्ने गरिन्छ ।

संङ्खे आकारको ढुंगाबाट प्राकृतिक रुपमा उत्पति भएकाले यसलाई चोङ्सी गुफा भन्ने गरिएको हो । प्राकृतिक रुपमा उत्पति भएकाले चोङ्सी गुफालाई स्थानीयले चोङ्सी रामजोन समेत भन्ने गर्छन ।

 आठौं शताब्दी ताका गुरु पद्यसम्भव अर्थात रिन्पोर्छेले तिब्बत जाने क्रममा यहाँको चोङ्सी गुफामा ध्यान तपस्या गरी बसेको त्यहाँ बस्ने लामा गुरु बताउँनुहुन्छ । गुफा भित्रको चट्टानमा गुरु पद्यसम्भवको पैतालाको छाप समेत रहेको चोङ्सी गुफामा बस्ने लामाले जानकारी दिनुभयो ।

चोङ्सी गुफा केवल गुफा मात्रै नभई धार्मिक आस्थाको केन्द्र रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले उल्लेख गर्नुभयो । उहाँका अनुसार सडकमार्ग नहुँदा पनि उक्त चोङ्सी गुफामा दर्शन तथा अवलोकन गर्ने धार्मिक भक्तजनहरु पुग्ने गरेको र पछिल्लो समय उक्त गुफा स्वदेशी तथा विदेशी पर्यटकहरु समेत गुफा अवलोकन गर्न पुग्ने गरेको अध्यक्ष गुरुङले सुनाउँनुभयो ।

 चारैतीर विशाल पहाडले घेरिएको एक पहाडसंगै जोडिएको चोङ्सी गुफामा गुरु पद्यसम्भवसंग जोडिएका र अन्य धेरै धार्मिक विशेषताहरु अवलोकन गर्न सकिन्छ ।

 गुफा भित्रको पश्चिम दिशातर्फ हरित तारा र स्वेत तारा गरी दुई वटा तारा अवस्थित छ ।प्राकृतिक रुपमा उत्पति भएकाले स्थानीयले यसलाई ठोम भन्ने गर्छन । गुफा तीन खण्डमा विभाजित छ । गुफा भित्र बुद्धको चारवटा स्वरुप रहेको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिनुभयो । उक्त स्वरुपलाई बुद्धको अवलकेश्वरको रुपमा दर्शन गर्ने उहाँको भनाई छ ।

 चोङ्सी गुफा भित्र दुईवटा छुट्टा छुट्टै दुई वडा चट्नी थुम्काहरु छन् । गाउँपालिका अध्यक्ष गुरुङका अनुसार उक्त थुम्कालाई एकलाई माउण्ट कैलाश र अर्को थुम्कोलाई आयु देवताको रुपमा पुज्ने गरेको उल्लेख गर्नुभयो ।

 अध्यक्ष गुरुङका अनुसार माउण्ड कैलाश पहाड तिब्बतमा अवस्थित रहेपनि चोङ्सी गुफामा अवस्थित माउण्ड कैलाश थुम्कोलाई त्यसको एक अंशको रुपमा लिने गरिएको छ । यसैगरी अर्को आयु देवता रुपी थुम्कोको दर्शन गरेमा आयु लामो हुने  भएकाले आयु देवताको रुपमा पुज्ने गरिएको उहाँको भनाई छ । स्थानीयले गुफा भित्रको आयु थुम्कोलाई ठेगुम भन्ने गरेको उहाँले उल्लेख गर्नुभयो । 

गुफाको दोस्रो खण्डको चटनी खोपीमा गुरु पद्यसम्भव (रिम्पोर्छे) निकटका देवी देवताको वासस्थान रहेको बताईन्छ ।गुफाको दोस्रो खण्डमा पुजाआजा गर्ने ठाउँ छ । गुफाभित्रको भित्री गुफामा महाकाल,नागदेवता र पाप पूण्य मापन गर्ने ठाउँहरु छन् । गुफामा ठुलो एक ढुंगा छ, जसलाई दुई हातले अंगालो हाल्न सक्ने दर्शनार्थीले मातापिताको सेवा गरेको ठहरिने र अंगालो हाल्न नसक्नेले मातापिताको सेवा गर्न नसकेको थाहा पाईने अध्यक्ष गुरुङले सुनाउँनुभयो । 

बुद्धिस धार्मिक ग्रन्थहरुमा चोङ्सी गुफाको माथिल्लो भागमा चरा र गुरुडको तिर्थ गर्ने ठाउँ रहेको र त्यहाँ कोही पनि जान नसक्ने अवस्था रहेको उहाँले बताउँनुभयो । चरा र गरुड तिर्थ गर्ने ठाउँमा केही सीमितले मात्रै दर्शन गरेको बताईन्छ ।

 यसैगरी गुफाको तल फेंदको अर्को गुफामा आठौं शताब्दीमा गुरु पद्यसम्भवले ध्यान तपस्या  गरी पुजा गर्दा त्यहाँको पवित्र जललाई धार्मिक कार्यमा प्रयोग गर्ने गरेको अध्यक्ष गुरुङले बताउँनुभयो । पवित्र जल रहेको गुफामा प्वाल पारिएका छिद्रछिद्र आधा दर्जन बढी प्वालहरु देख्न सकिन्छ । सोही प्वालहरुमा पवित्र जल भेट्न सकिन्छ । डाडु जस्तो साधन प्रयोग गरी प्वाल भित्र उभाउँदा जल प्राप्त गर्न सकिन्छ । त्यहाँका पवित्र जल पिउँनाले गानागोला र ग्याष्टिक लगायत पेट सम्वन्धी रोग निको हुने जनविश्वाश रहेको छ ।

 पवित्र धार्मिक तिर्थ स्थल चोङ्सी गुफाको दर्शन गर्नाले धार्मिक मोक्ष प्राप्त हुने र दर्शनार्थीलाई परम स्वर्गको अनुभूति हुने अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।

 मुस्ताङको पवित्र धार्मिक तिर्थस्थल चोङ्सी गुफासम्म साङ्वचे देखि गुफा नजिकसम्म कच्ची सडक जोडिएकाले त्यहाँ जाने दर्शनार्थी तथा पर्यटकलाई निकै सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । कोरला सडकदेखि गुफासम्म करिव तीन किलोमिटर सडक प्रदेश सरकार र स्थानीय सरकारबाट सडक विस्तार गरिएको अध्यक्ष बिष्टको भनाई छ ।

 पहिले पहिले मुस्ताङको समरदेखि पैदल तीन घण्टाको दुरी तय गर्दे गुफासम्म जाने पथ्र्यो । पछिल्लो समय स्याङ्वचेबाट सडक विस्तार गरिएकाले तीन घण्टाको दुरी १५ मिनेटमै छोटिएको अध्यक्ष बिष्टले बताउँनुभयो । जोमसोमबा उपल्लो मुस्ताङमा जाने विदेशी पर्यटकहरु समेत चोङ्सी गुफा अवलोकन गर्न जाने गरेका छन् । 


प्रतिक्रिया