जोमसोम— मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री भौतिक संरचना थपिने पक्का भएको छ । सडक सहजतासंगै दर्शनार्थीहरुको संख्या बर्सेनि वृद्धि भईरहँेकाले दर्शनकार्यका लागि पर्याप्त सेवा सुविधा पु¥याउने गरी मुक्तिनाथमा ५० हजार दर्शनार्थी क्षमताको भौतिक संरचना निर्माण गरिने मुक्तिनाथ विकास समितिले जनाएको छ ।
मुक्तिनाथ विकास समितिले पौराणिक,आध्यात्मिक तथा पुरातात्विक महत्वको मुक्तिनाथ परिसरलाई सुव्यवस्थित गर्ने प्रयोजनार्थ मन्दिर क्षेत्रमा दर्शनार्थी लक्षित विभिन्न भौतिक संरचना थप्ने निर्णय गरेको हो । यसकार्यका लागि प्रारम्भिक संम्भाव्यता अध्ययन गरी डिजाईन ड्रईङ ड्राफ पुरातत्व विभागमा पठाएको छ ।
मुक्तिनाथ विकास समिति अन्तर्गत पूर्वाधार विकास कार्यालयको संयोजक रहने गरी सहरी विकास तथा भवन डिभिजन कार्यालय,पुरातत्व विभाग ,वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जिल्ला समन्वय समितिको प्रतिनिधित्व रहने गरी पूर्वाधार निर्माण उपसमिति यसअघिनै गठन भईसकेको छ । उक्त समितिले मुक्तिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीमैत्री पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन पुरा गरी डिजाईन ड्रईङको ड्राफ तयार गरेको पूर्वाधार निर्माण उपसमिति संयोजक पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिनुभयो ।
विभागले मुक्तिनाथ गुरुयोजना पाँच वर्षअघिनै सुरु गरेको थियो । उक्त गुरुयोजना निकै सुस्त हुँदा मुक्तिनाथमा दर्शनार्थी गर्न जाने भक्तजनहरुलाई निकैनै समस्या पर्दैआईरहेको छ । मुक्तिनाथमा दशनार्थी तथा तिर्थयात्रीहरुको सहजीकरणका लागि समितिले पुरातत्व विभागको स्वीकृती लिएर दर्शनार्थी लक्षित आवश्यक भौतिक संरचना निर्माण गर्ने योजना अघि बढाएको मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं मुस्ताङका सिडियो बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
‘मुक्तिनाथमा बर्सेनि दर्शनार्थीको संख्या वृद्धि भईरहेको अवस्था छ, हिजोको भौतिक संरचनाले अब थेग्न सक्तैन’, सिडियो भुसालले भने, अब दैनिक ५० हजार दर्शनार्थी क्षमता थेग्न सक्ने पूर्वाधार आवश्यकता छ, यसैका लागि मुक्तिनाथ विकास समितिले नयां ढंगले मुक्तिनाथको दर्शनार्थीमैत्री पूर्वाधार निर्माण गर्ने प्रक्रिया अघि बढाईसकेका छौं ।’
समितिले मुक्तिनाथ परिसर तथा अन्य पूर्वाधार निर्माण गरी मन्दिर क्षेत्रलाई सुव्यवस्थित तुल्याउने गरी समितिले निर्णय गरिसकेको छ । समितिको निर्णयसंग पूर्वाधार निर्माण उपसमितिले तयार गरेको डिजाईन ड्रईङ ड्राफसहित फाईल स्वीकृतिका लागि पुरातत्व विभागमा पठाईयो सिडियो भुसालले उल्लेख गर्नुभयो ।
मुक्तिनाथ विकास संस्थागत रुपमा दर्ता भई गठन भएको १७ वर्ष बितिसक्दा समेत उक्त समितिले निस्क्रिय हुँदा मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी दान मुक्तिनाथको विकासका लागि बजेट खर्च हुन सकिरहेको थिएन । समिति संघीय संरचनामा पूनगर्ठन भएको केही महिनामै सिडियो भुसालले मुक्तिनाथको विकासमा सक्रियता बढाउँनु भएको हो । मुक्तिनाथ विकास समिति कोषमा हाल ११ करोड बढी रकम मौज्याद रहेको र अब भक्तजनकै हितका लागि मुक्तिनाथको विकासमा बजेट खर्चिने सुविधा प्राप्त भएको सिडियो भुसालको भनाई छ ।
मुक्तिनाथ विकास समितिले मुक्तिनाथ मन्दिरमा तीन सय क्षमताको लुगा फेर्ने कक्ष निर्माण गर्ने, स्नान तथा कुण्ड स्तरोन्नति गर्ने, मुक्तिनाथ मन्दिर परिसरको फराकिलो कम्पाण्ड वाल निर्माण गर्ने सेफ्टी ट्याङकी निर्माण तथा शौचालय निर्माण गर्ने र हिटिङ कक्ष निर्माण गर्ने लगायतका पूर्वाधार निर्माण हुनेछन् ।
यसैगरी मुक्तिनाथ मन्दिरमा दर्शनार्थी परिक्रमा पथ निर्माण तथा मुक्तिनाथ मन्दिरको ४९३ रोपनी क्षेत्रफल ढाँकिने गरी २ किलोमिटर दुरीमा कम्पाण्ड वाल निर्माण गर्ने योजना डिजाईनमा समेटिएको छ । समितिले यसका अलावा मुक्तिनाथमा अवस्थित शिव मन्दिरको समेत पूननिर्माण गर्ने लक्ष्य राखेको समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । समितिले गरेको निर्णय र डिजाईन ड्राफ पुरातत्व विभागले स्वीकृत गर्ने बिक्तिकै टेन्डर प्रक्रियामा लैजाने समिति कोषाध्यक्ष गुरुङको भनाई छ ।
मुक्तिनाथ विकास समितिले तयार गरेको डिजाईन ड्राफ अनुसार मुक्तिनाथ मन्दिरको दर्शनार्थीमैत्री विभिन्न संरचना निर्माण गर्न करिव ५ करोड बढी लागत अनुमान गरिएको छ ।