कोरलानाका पुगेर फर्किएका जेनजी भन्छन्,‘यात्रा रोमाञ्चक र कष्ठदायी रह्यो’

पोखरा बुद्धचोकका युवा युगेन गुरुङ आफ्ना साथीहरुसंगै मोटरसाईकलको यात्रा गर्दै बिहिबार कोरलानाका पुग्नुभयो । युगेनको समुहमा ८ जना साथीहरुसहित ४ वटा मोटर साईकल थियो । जोमसोमबाट बुधबार माथि उक्लिदा उपल्लो मुस्ताङमा हिमपात भएको थियो । तैपनी हिमाली अद्भुत प्राकृतिक सौन्दर्यता अवलोकन गर्ने उद्देश्यले मुस्ताङ आउनु भएका युगेनाको टोली मोटरसाईकलको एडभेन्चर गर्दे कोरलानाका पुगेका थिए । उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला यात्रामा निस्किएका युगेन र उहाँका साथीहरुको यात्रा त्यहाँबाट जोमसोम फर्किदा भने सुखद रहेन ।

बुटबलबाट हिमालपारीको यात्रामा निस्किएका युवा पर्यटक साईमन गाहा पनि मोटर साईकलको यात्रा गर्दे बुधबार जोमसोमबाट कोरलानाकासम्मको यात्रामा हुकिएका थिए । उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रमा हिमपात भएको र सुरक्षाकर्मीले हिउँ पन्छ्याएर सडक खुलाएको कुरा गाहा र उहाँका साथीहरुले थाहा पाएका थिए । गाहासहित झन्डै १० जनाको समुह मोटरसाईकल मार्फत मोटर साईकलको यात्रा गरी कोरला पुगेका थिए । कोरलानाका अवलोकनका लागि पुगेका साईमनको टोली त्यहाँको सेताम्मे हिउँमा रमाए । चिसो र हिमपातले कोरलानाकामा खासै चहल÷पहल थिएन । भन्सारमा सामान लिन गएका सयौं कन्टेनर त्यही थन्किएका थिए । 

कोरलानाकाको निकै चर्चापरिचर्चा सुनेर त्यहाँ पुगेका साईमनको टोलीको कोरलानाका पुग्ने सपना साकार भएको थियो ।  कोरलानाका पुगेर फर्किएका साईमन गाहा समुहको टोली बिहिबार जोमसोम फर्किदै थिए । बिहिबार मुस्ताङमा निरन्तर वर्षा भईरहेकाले जोमसोम—कागबेनी सडकको दर्जनौ स्थानमा लेदोसहितको बाढी पहिरोले सडक अवरुद्ध भईसकेको थियो । लोमान्थाङबाट जोमसोम झर्दै गर्नुभएका गाहा समुहको टोली पनि कोरला सडकमै अलपत्र परे ।

यसैगरी पोखराका युगेन र बुटवलका साईमन जस्तै अर्को समुह थियो नवलपुरका युवा विष्णुप्रसाद ढकाल । ढकालको समुह तीनदिन अघि कोरलानाका प्रस्थान गरेको थियो । मोटरसाईकल चढेर उपल्लो मुस्ताङ भ्रमण गर्न जानु भएका दाहालको प्रस्थान यात्रा सहज भएको थियो । नेपाल—चीन कोरलानाका अवलोकन गर्ने र सीमानाकामा राष्ट्रिय झन्डा फहराउने उद्देश्यसहित कोरला पुग्नुभएका दाहालको यात्रा पनि फर्किदा निकै कष्ठकर र अविष्मणीय बन्यो । युगेन, साईमन र विष्णुको यात्रा कष्ठ केवल प्रतिनिधि पात्र मात्रै हुन् । वर्षा अघि कोरलानाका अवलोकनका लागि अरु थुप्रै पर्यटक त्यहाँ पुगेका थिए । कोरलानाका पुगेर फर्किने कार्यतालिका बनाएर गएका युवा पर्यटकहरुको यात्रा अविरल वर्षाले ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा निकै सास्ती तुल्याएको हो ।

यहाँको उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम—कोरला सडक बिहिबार परेका अविरल वर्षाका कारण दर्जनौं स्थानमा सडक अवरुद्ध हुन पुगेको थियो । जोमसोम—कागबेनी सडक एकतर्फी रुपमा संञ्चालनमा ल्याईएको भएपनि कागबेनी—कोरला सडकका अवस्था निकै बिजोग छ । कागबेनीदेखि चैलेसम्मका सडकको कैयौ स्थानमा बाढीले सडक संरचनामा क्षति तुल्याएको छ ।  कागबेनीदेखि चैलेसम्मको आधा दर्जन स्थानमा सडक भाँसिएर क्षेतविक्षेत अवस्थामा रहेको छ । शनिबारदेखि स्थानीय प्रशासन, सडक आयोजना र स्थानीय जनप्रतिनिधिहरुले उपकरण प्रयोग गरी सडक खुलाउने पहल थालिएको छ । यद्यपी यहाँको कोरलानाका जोड्ने कागबेनी—छुसाङ—चैले सडक मर्मत गरी सडक खुलाउन एक साता लाग्ने अनुमान गरिएको छ ।

कोरलानाकाको अवलोकन गरी फर्किएको मोटरसाईकलमा सवार युवाहरुको आधा दर्जन समुह सडक अवरुद्धको चपेटामा प¥यो । ठाउँठाउँमा सडक ट्याक बगाएको र कतिपय स्थानमा सडक माथि पहिरो थुप्रिएकाले उनीहरुको मोटरसाईकल यात्रा कष्ठकर हुन पुग्यो । झन्डै आधा दर्जन समुह मोटरसाईकल चढेर कोरला पुगेका थिए । तर, फर्किदा जोमसोम आउन सडकका कारण समस्या उत्पन्न भयो । सबै समुहहरु फर्किदा बिच सडकमा जम्मा हुन पुगे । सबैले एकआपसका सल्लाह गरे ‘हामी यत्रा युवाहरु छौ, हाम्रा मोटरसाईकल बोकेर,धकेलेर र तानेर भएपनि लैजाउ।’ यसमा सबै समुह सहमत भएपनि मोटरसाईकल तल झार्न थाले ।

तर, मोटर साईकल त्यती सजिलै तल झार्न सहज थिएन । तैपनी पनि उनीहरुले जसोतसो शनिबार दिउँसो कागबेनी—ताङ्वे सडकको भाँसिएको स्थान सम्म ल्याई पु¥याए । त्यहाँको सडक खुलाउन वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले अपनत्व लिएको थियो । स्थानीय प्रशासन,प्रहरी र आयोजनाको समन्वयमा गाउँपालिकाका तर्फबाट वडाध्यक्ष प्रमेश गुरुङ र कर्मा घ्याचो गुरुङ खटिएका थिए । आयोजनासंग उपकरण व्यवस्थापन नहुँदा २ वटा निजी डोजर परिचालन गरिएको थियो भने अर्को एक लोडर म्याग्दीबाट त्यसतर्फ पठाईएको थियो ।

त्यसस्थानमा झन्डै ५० मिटर भन्दा सडक बेस भाँसिएकाले सवारी साधन त के पैदल हिड्ने बाटो समेत थिएन । वारागुङका दुई जना वडाध्यक्षहरुको पहलमा झन्डै २५ भन्दा बढी मोटरसाईकल उद्दार गर्न भासिएको स्थानको केहीतलबाट डाईभर्सन निर्माण गरिएको थियो । 

शनिबार दिउँसो कोरलाबाट फर्किएर भाँसिएको स्थानसम्म आईपुगेका युवाहरु वडाध्यक्षहरुको सहयोगमा सबैजनाले समातेर भीरभीरै जोखिम उठाउँदै गुडाएर डाईभर्सन सडकसम्म झारियो । त्यहाँको डाईभर्सन सडक पुरै हिलाम्मे थियो । कसैले मोटरसाईकल धकेल्ने  त कसैले तान्ने गरी जसोतसो फसेका सबै मोटरसाईकल र यात्रीको उद्दार गरिएको थियो ।

कोरलानाका पुगेर फर्किएका मोटरसाईकल यात्री पोखरा बुद्धचोकका युगेन गुरुङले उपल्लो मुस्ताङको सडक अत्यन्तै नाजुक रहेकाले तत्काल यात्रा नगर्न अनुरोध गर्नुभयो ।‘वर्षाले कोरला सडकको ठाउँठाउँमा सडक बिगिएको छ, तत्काल सवारी चलाउने अवस्था देखिदैन,’ युगेनले भन्नुभयो,‘ एक दर्जन बढी स्थानमा वर्षाले सडक अवरुद्ध छ,यहाँसम्म मोटरसाईकल ल्याउन धेरै गारो प¥यो।’

कोरलानाका पुगेर फर्किएका बुटबलका साईमन गाहाले पनि सडक सास्तीको समस्या सुनाए ,‘ हामी र हामीसंगै अरु थुप्रै समुह थियौ, कतै उचालेर, कतै धकेल्दै तान्दै मोटरसाईकल यहाँ ल्याईपु¥यायौ.’ साईमनले भन्नुभयो,‘ कोरलाबाट फर्किएका कति सवारी साधन त माथिनै छन्, कतिपय सवारी छोडेर हिडेर झरेका छन् ।’

 यसैगरी नवलपुरका युवा विष्णुप्रसाद ढकालले अप्पर मुस्ताङको यसपालिको भ्रमण अविष्मरणीय र चुनौतिपूर्ण बनेको बताउँनुभयो । जाने बेलामा सहज यात्रा गर्र्दै कोरलानाका पुगेको स्मरण गर्दै ढकालले फर्किदा भने निकै ठुलो समस्या परेको बताउँनुभयो ।‘यहाँका जनप्रतिनिधि निकै सहयोगी रहेछन, उहाँले हाम्रो उद्दारमा ठुलो सहयोग गनुभयो,’ ढकालले भन्नुुभयो ‘हामी मोटरसाईकल एडभेन्चर टुर गर्न आएका थियौं, दर्जनौ पहिरो काटेर यहाँसम्म आउँदा जिवनमै पहिलो पटक फरक अनुभूती गरेका छौं ।’ पर्यटक ढकालले यहाँको ठाउँमा रुख विरुवा नभएको र यहाँको भूगोल सुख्खा पठार भएकाले वर्षा हुँदा सडक बिग्रने समस्या हुने देखेको बताउँनुभयो । यहाँको सडकमा नाली निर्माण नभएकाले पनि बाढीले सडक क्षति बनाउने समस्या रहेको औल्याउँनुभयो ।

 मुस्ताङको कागबेनी—चैले सडकको ठाउँ ठाउँमा पहिरोले सडक क्षति भएकाले तत्काल सडक खुलाउन समस्या रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । शनिबारदेखि यहाँको सडक संञ्चालन गराउन उपकरण परिचालित भईसकेको जनाउँनुभयो ।


प्रतिक्रिया