जोमसोम— सन् २०२४ को नोभेम्बर अर्थात एघार महिनाको अवधिमा कुल १ लाख २८ हजार ९९१ जना विदेशी पर्यटकले हिमाली जिल्ला मुस्ताङको भ्रमण गरेका छन् । मुस्ताङमा विदेशी पर्यटकको आगमन औसत अहिलेसम्मकै उच्च रहेको अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना एक्यापको तथ्यांकले देखाउँछ ।
सन् २०२४ समाप्त हुन एक महिना अवधि बाँकी रहदा सन् २०२३ को विदेशी पर्यटकको तथ्यांकमा २९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको देखिन्छ । सन् २०२३ मा कुल ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । सन् २०२३ को डिसेम्बर महिनामा भित्रिएको पर्यटकीय तथ्यांक ४ हजार ३०८ जना विदेशी पर्यटकलाई निरन्तरता दिने हो भने पनि सन् २०२४ को डिसेम्बरसम्ममा १ लाख ३३ हजार २२९ जना पुग्नेछ । यो सन् २०२३ को पर्यटकीय तुलनामा पर्यटक वृद्धिदर ३२ दशमलव २१ प्रतिशत पुग्नेछ ।
सन् २०२४ को जनवरीदेखि नोभेम्बर अर्थात ११ महिनामा सार्क राष्ट्रका १ लाख ३ हजार ८९४ जना र अन्य राष्ट्रका विदेशी पर्यटक २५ हजार ९७ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । कार्यालय प्रमुख रेग्मीका अनुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्ममा सार्क राष्ट्रका ७२ हजार १९० जना र अन्य राष्ट्रका १८ हजार १६६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।
मुस्ताङमा सार्क राष्ट्रबाट सबै भन्दा बढी पर्यटक भारतीय रहेको एक्याप जोमसोम कार्यालयको तथ्यांकले देखाउँछ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि अत्यधिक मात्रामा भारतीय पर्यटक मुस्ताङ आउने गरेका हुन् । पोखरा—जोमसोम हवाई मार्ग हुँदै र बेनी—जोमसोम राष्ट्रिय सडकमार्ग हुदै भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरी फर्किएसंगै भारतीय पर्यटकको मुक्तिनाथ आगमन बर्सेनि वृद्धि हुदै जान थालेको हो ।
यसैगरी सार्क राष्ट्र बाहेक अन्य मुलुकका विदेशी पर्यटकहरु पनि अन्नपूर्ण सरक्षण क्षेत्र आयोजनाको राउण्ड चर्किय पदमार्ग हुदै मुस्ताङ प्रवेश गर्छन । लमजुङको बेसी सहरदेखि मनाङ हुदै मुस्ताङ प्रवेश गर्ने अन्य मुलुकका विदेशीले गर्दा मुस्ताङमा विदेशी पर्यटक चहलपहल बढेको हो । सन् २०२४को जनवरीदेखि नोभेम्बरसम्ममा कुल भित्रिएका विदेशी पर्यटक मध्ये ७६ प्रतिशत सार्क र २४ प्रतिशत अन्य मुलुकका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका हुन् ।