हिमपातपछि कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित

जोमसोम ।

मंगलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङ स्थित नेपाल—चिन उत्तरी कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा भारी हिमपात भएका कारण बुधबारदेखि कोरलानाकाबाट हुने आयात÷निर्यात पूर्ण रुपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

 माथिल्लो मुस्ताङमा मंगलबार राति परेको हिमपात तेस्रो पटक हो । यसअघि माथिल्लो मुस्ताङमा दुई पटकसम्म हिमपात भएको थियो । लोमान्थाङ—२ न्हेचुङ छोसेर स्थित मुस्ताङ भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा  जिवन देवकोटाका अनुसार जोमसोम—कोरला सडकमा दुई फिट बढी बाक्लो हिउँ जमेकाले कोरलानाकाबाट हुने निकासी तथा पैठारी कारोबार ठप्प हुन पुगेको बताउँनुुभयो । भारी हिमपातका कारण सडक पूर्ण रुपमा अवरुद्ध हुँदा आयात ÷निर्यात नभएपछि भन्सार कार्यालयको नियमित कामकाज समेत ठप्पै भएको नायव सुब्बा देवकोटाको भनाई छ । 

मुस्ताङ भन्सार कार्यालयमा चिनतर्फ मालवस्तु पैठारी गर्न गएका  एक दर्जन कन्टेनर लोमान्थाङ—२ छोसेर स्थित मुस्ताङ भन्सार कार्यालयमा थन्किएका छन् । कतिपय  कन्टेनरको भन्सार जाँचपास भएको र कतिपय कन्टेनरको भन्सार घोषणा हुने क्रममा रहेकाहरु कागबेनी—कोरला सडक पूर्ण रुपमा बन्द रहेकाले गन्तब्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको नायव सुब्बा देवकोटाको भनाई छ ।

हिमपात अघि कोरलानाका स्थित चिनिया भन्सारमा मालवस्तु पैठारी गर्न गएका केही कन्टेनरहरु उतै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले भारी हिमपातका कारण कागबेनी—कोरला सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेको बताउँनुभयो । कोरला सडकको करिव ९० किलोमिटर दुरीमा दुई फिट हिउँ जमेर बसेकाले अवरुद्ध सडक सूचारु गराउन केही दिन लाग्ने बताउँनुभयो ।

कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाका प्रमुख तेजस्वी कागबेनी—कोरला सडकको हिउँ पन्छ्याउन योजनाका साथ त्यसतर्फ प्रस्थान गरेका छन् । आयोजना प्रमुख शर्माले हिमपातले अवरुद्ध सडकको अवस्था र सडकको हिउँ पन्छ्याउन योजनाका साथ अवलोकनका लागि माथिल्लो क्षेत्रमा जाँदै गरेको बताउँनुभयो । हिमपातले अवरुद्ध कोरला सडकलाई जतिसक्दो छिटो  र छरितो रुपमा संञ्चालन ल्याउनका लागि आयोजना प्रतिवद्ध रहेको र शुक्रबारदेखि वारागुङ मुक्तिक्षेत्र—३ छुसाङदेखि सडक हिउँ पन्छ्याउन आवश्यक उपकरणहरु परिचालित गरिने जानकारी दिनुभयो ।

 माथिल्लो मुस्ताङमा भारी हिमपातका कारण कोरलानाकामा पाल टाँगेर बस्ने स्थानीय ब्यापारीहरु पनि त्यहाँबाट हटेर घर फर्किएको छोसेर स्थित सशस्त्र प्रहरी बल नेपाल (बिओपी)का ईञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो । नाकाको दशगजा क्षेत्रमा दुई फिट हिउँ जमेको र कोरला सडक अवरुद्ध भएका कारण व्यापारीहरु ब्यापार गर्न कोरलानाकामा नगएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ ।

 भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजिवन निकैनै कष्ठकर रहेपनि हिमपातकै कारण मानवीय तथा भौतिक क्षति नभएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले जनाउँनुभयो । सशस्त्र प्रहरीले हिमपातले भरिएको केही स्थानीबासीका घरको छतमा जमेको हिउँ सफा गरेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ ।

 मुस्ताङमा हिमपातपछि चिसो अत्यधिक वृद्धि भएको छ । माथिल्लो मुस्ताङमा माईनस २० डिग्री तापक्रम र तल्लो मुस्ताङमा माईनस १२ डिग्री तापक्रमा झरेको छ ।

 माथिल्लो मुस्ताङमा चिसो अत्यधिक बढेका कारण पशुचौपाया र पशु गोठालाहरुलाई समस्या परेको छ । हिउँदयामको जाडो छल्न बेसीं नझरी गाउँमै बसेका स्थानीय नागरिकहरुको दैनिकी प्रभावित बनेको छ । चिसोका कारण सहज रुपमा बाहिर हिडडुल गर्न नसक्ने अवस्था रहेको छ ।

हिमपात र चिसोका कारण माथिल्लो मुस्ताङका नदीनाला,सिचाई कुलो,घरका धारा र शौचालयको सेफ्टी ट्याङकी सबै जमेकाले त्यहाँका नागरिकहरुको जनजिवन प्रभावित भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।


प्रतिक्रिया