हिमालपारि सडकको मुहार फेरिंदै

जोमसोम—उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको कोरलानाका र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने जोमसोम—कागबेनी १३ किमी दुरीमा अस्फाल्ट कालोपत्र गर्न सुरु गरिएको छ । गौरवको सडक अन्तर्गत ४ वर्ष अगावै ग्राभेल सडक विस्तार भईसकेको यो सडकमा कालोपत्रका लागि ठेक्का सम्झौता भएको ३१ महिनापछि निर्माण कम्पनीले कालोपत्र गर्न सुरु गरेको हो ।

उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले जोमसोमदेखि कोरलासम्मको ११० किमी ग्राभेल सडक मध्ये पहिलो चरणमा जोमसोम—कागबेनी १३ किमी कालोपत्र सडक विस्तार गर्न २०७८ साल असोज ४ गते रौटाहा आत्रेय जेभी कन्ट्रक्सनको २८ करोड १४ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । यसअघिको जोमसोम—कागबेनी आयोजनालाई हस्तान्तरण भईसकेको सडकलाई थप स्तरोन्नति गर्दै कालोपत्र सडक विस्तार गर्न मन्त्रालयले ५७ करोड ३८लाख बजेट विनियोजन गरेको थियो ।

तर, ठेक्का आह्वान हुँदा रौटाहा आत्रेय जेभीले कालोपत्र सडकका लागि ३० करोड बिलो छोडेर ठेक्का हात पारेको थियो । ठेक्का सम्झौता भएपछिको सुरुवात चरणमा जेभीको कन्ट्रक्सन पार्टनर आत्रेयले जोमसोम—कागबेनी कालोपत्रको जिम्मा लिएको थियो ।तर, आत्रेय जेभीले सुरुवाती चरणमा केही प्रतिशत काम गरेपछि कालोपत्र सडकको काम लथालिङ्ग छाडेर सम्पर्कविहिन भएको थियो ।

कोरला र मुक्तिनाथ पहुँचमार्गका रुपमा जोमसोम—कागबेनी पहिलो कालापत्रे सडक निर्माण गर्न पूर्व संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले मन्त्रालय तथा विभागमा पुगेर पहल गरेका थिए । लामो समयसम्म पनि आत्रेय कन्ट्रक्सनले जोमसोम—कागबेनी कालोपत्र सडकलाई गति दिन नसक्दा बेनी—जोमसोम—कोरला सडक आयोजनाले मौखिक तथा लिखित ध्यानआर्कषण गर्दै निरन्तर परिपत्र गरेको थियो । आयोजनाले ठेक्का सम्झौता गरेको रौटाहा आत्रेय जेभीलाई काममा नफर्किएमा ठेक्का सम्झौता तोडेर निर्माण कम्पनीलाई कालो सुचिमा राख्ने चेतावनी दिएपछि जेभीको अर्को कन्ट्रक्सन पार्टनर रौटाहा कन्ट्रक्सन पुस महिनादेखि काममा फर्किएको थियो ।

निर्माण कम्पनीको आन्तरिक कारणले रोकिएको जोमसोम—कागबेनी १३ किमी कालापत्रे सडकको काम आत्रेयले छाडेपछि रौटाहाले सुरु गरेको निर्माण कम्पनीका ईन्जिनीयर संञ्जय भट्टले जानकारी दिए ।‘जोईनको पार्टनर आत्रेयले विविध कारणले सडक कालोपत्रको निर्माण कार्यलाई अलपत्र छाड्यो, त्यसपछि रोटाहा कन्ट्रक्सनले यो कामलाई हेन्डल गर्ने गरी कामलाई सुरु गरेका हौ, ईन्जिनीय भट्टले भने,‘ जोमसोमदेखि माथि पान्डा खोलाबाट माथि कालोपत्र गर्न सुरु गरेका छौं, अहिलेसम्म २ किलोमिटर दुरीमा कालोपत्र भईसकेको छ ।’ कन्ट्रक्सन ईन्जिनीयर भट्टले आगामी असोजभित्र कालोपत्रेको सबै काम सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीब्रता दिएको र असार भित्र १३ किमी मध्ये ७ किमी दुरीमा कालापत्रे सक्ने गरी अघि बढेको जानकारी दिए ।

 जोमसोम—कागबेनी कालोपत्र सडकका कन्ट्रक्सन ईन्जिनीयर भट्टले हालसम्म सडकको ५५ प्रतिशत भौतिक र ५० प्रतिशत वित्तिय प्रगती भईसकेको बताए ।‘सुरुवाती चरणमा हाम्रै जोईन पार्टनरबाट काममा निकै ढिलासुस्ती भयो, ईन्जिनीयर भट्टले भने,‘ अहिले म्याद थप भएको समयसीमा भित्रै सक्ने गरी पर्याप्त जनशक्ति उपकरणहरुको व्यवस्था गरेका छौं ।’

कोरला तथा मुक्तिनाथ जोड्ने जोमसोम माथिको सडकमा आयोजनाको पहिलो कालोपत्र सडक विस्तार हुन लागेको हो । सम्झौता अवधि २०८० असोज ३ सम्म रहेको जोमसोम÷कागबेनी सडकमा २ वर्षको म्याद सएिकर  थपिएको ९ महिनापछि सडक कालोपत्र सुरु गरिएको हो  ।

 साविक आयोजना अन्तर्गत निर्माण भई हस्तान्तरण भईसकेको सडकलाई  सडक स्तरोन्नतिका लागि सडक चौडा गर्ने ग्रेड मिलाउने,कटिङ गर्ने, मेसिनरी वाल र ड्रेन निर्माण गर्ने र भिरालो सतहमा वाल लगाएर माटो फिलिङ गर्दै कालोपत्र गर्ने गरी काम अघि बढाईएको थियो ।

पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले कोरला सडक र मुक्तिनाथ जाने तिर्थालु सहजताका लागि आफ्नो पालामा जोमसोम—कागबेनी कालोपत्र सडक विस्तारको पहल भएको बताए ।‘जोमसोम—कागबेनी कालोपत्र अघिल्लो कार्यकालमै सकिनु पर्ने थियो, विभिन्न कारणले यसमा निकै ढिलाई हुन पुग्यो, ‘पूर्व संघीय सांसद तुलाचनले भने भने,‘ढिलै भएपनि जोमसोम—कागबेनी कालोपत्र सडकको काम अघि बढ्दा निकै खुसी लागेको छ, अब कुनै यो वा त्यो बहानामा सडकको काम रोकिनु हुँदैन ।

पूर्व संघीय सांसद तुलाचनले जोमसोम माथिको यो पहिलो कालोपत्र योजना भएकाले यसले उपल्लो मुस्ताङ र मुक्तिनाथ जाने पर्यटक तथा सर्वसाधारणलाई आवतजावतमा निकै ठुलो सहजता प्रदान गर्ने उल्लेख गरे । पछिल्लो समयमा बेनी—जोमसोम सडकको आधा भन्दा बढी कालोपत्र भर्इैसकेको र जोमसोम—कागबेनी खण्डको कालोपत्र सडकले थप पर्यटक आवागनमा वृद्धि हुँने दावी गरे । उनले हिमाली जिल्लाको समृद्धि सडकले पर्यटकलाई आर्कषित बनाईरहेको र यसले यहाँको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने जनाए ।


जोमसोम—कोरला ११० किमी ७ खण्ड मध्ये ६ खण्डको ग्राभेल सडक आयोजनालाई हस्तान्तरण भईसकेको छ । जसमध्ये जोमसोम—कागबेनी सडकको पहिलो खण्डमा सरकारले कालोपत्र सडकलाई प्राथमिकता दिएको हो । जोमसोम—कोरला सडक अन्तर्गत चराङ—छोसेर २५ किमी ग्राभेल सडक ९० प्रतिशत भौतिक प्रगती हुँदा निर्माण कम्पनीले विगत ४ वर्षदेखि निर्माणको काम अलपत्र छाडेको छ ।

 पछिल्लो समय बेनी—जोमसोम सडकमा ४५ किमी दुरीमा कालोपत्र भईसकेको आयोजना प्रमुख धुब्र झाले जानकारी दिए । जसमध्ये थासाङको कैकुदेखि कोवाङसम्मको १९ किमी कालोपत्र सडक शर्मा गजुरमुखि जेभीले आयोजनालाई हस्तान्तरण गरिसकेको उनले बताए । बेनी—जोमसोम अन्तर्गतको चौथो खण्ड खन्ती—जोमसोम १६ किमी सडक मध्ये मार्फादेखि जोमसोमसम्मको कालोपत्र सडक विस्तारकार्य अहिले अलपत्र अवस्थामा छ ।


प्रतिक्रिया