मुस्ताङमा कुरिया घरधुरीलाई दाउरा संकलन गर्ने चटारो

जोमसोम—मुस्ताङका अधिकाँश लेंकजंगलमा स्थानीय कुरिया दर्ता घरधुरीलाई हिउँदयामको जोहो दाउरा संकलन गर्न भ्याईनभ्याई छ ।हिउँदयामको समयमा दाउरा संकलन गर्ने यहाँको सदिंयौवर्षदेखिको नियमित प्रचलन मानिन्छ ।

मुस्ताङमा उपल्लो र तल्लो गरी १६ वटा एक्याप अन्तर्गतका सरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी)छन् । जुन अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत सञ्चालित छन् । जसमध्ये वारागुङ मुक्तिक्षेत्रदेखि तलको भूभागमा १० वटा सरक्षण क्षेत्र व्यवस्थापन समितिले बर्सेनि हिउँदयाममा दाउरा फुकुवा गर्ने गरेका छन् । एक्याप जोमसोमको स्वामित्वमा रहेको जंगल  र लेंकमा सम्वन्धित सरक्षण व्यवस्थापन समितिले हिउँदयाममा समय अनुकुल कार्यतालिका मिलाएर निश्चित अवधिका लागि दाउरा फुकुवा गर्ने गरिएको छ । मुस्ताङका ३ स्थानीय तहमा हिउँदयामको मौसममा स्थानीय नागरिकहरुले जंगलका दाउरा संकलन गर्छन् ।

 बर्खेबाली सकेर हिउँदेबाली लगाएपछि मुस्ताङका किसान केही फुर्सदिला हुन्छ । यद्यपी मुस्ताङमा स्याउ बगैचा व्यवस्थापन लगायतका नियमित कृषि कर्म सञ्चालन भईरहन्छ । हिउँदयामा पशुचौपायालाई कुडो पकाउन, घरायसी प्रयोजनका लागि खाना पकाउन र हिउँदयाममा चिसो थेग्नका दाउरा आवश्यकता पर्ने हुन्छ । यही प्रयोजनका लागि मुस्ताङका लेंकमा स्थानीय सरक्षण व्यवस्थापन समिति र गाउँसमाजले मिलेर निश्चित अवधिका लागि दाउरा फुकुवा गर्ने चलन रहेको हो ।  घरपझोङ—४ जोमसोमका सरक्षण व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थकालीले जोमसोमको लेंकमा पुस १ गतेदेखि स्थानीय गाउँमा कुरिया दर्ता भएका घरधुरीलाई दाउरा संकलन गर्न फुकुवा गरिएको बताए । उनले समितिले निश्चत अवधि तोकेर कुरिया दर्ता भएका घरधुरीलाई लेंकमा पुगेर सुकेका दाउरा ल्याउन अनुमति प्रदान गरिएको बताए ।


 हिउँदयामको जोहो दाउरा संकलन गर्न स्थानीय नागरिकहरु चिसो सहँदै बिहानै झिसमिसे उज्यालोमा लेंकमा प्रस्थान गर्छन । लेकमा पुगेर त्यहाँ सुकेका दाउरा सकलन गरिन्छ । लेंक जंगलमा काँचो दाउराहरु ढलेर काम नलाग्ने अवस्थामा भेटिएमा त्यस्ता काँचो दाउरा पनि घरमा ल्याउन दिईन्छ । एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले प्राकृतिक श्रोत साधनको रक्षा, संरक्षण र उपयोग गर्ने अख्तियारी सम्वन्धित स्थानीय सरक्षण समितिमा निहित रहेको बताए । उनले स्थानीय आवश्यकता र औचित्य हेरी लेंकजंगलका दाउरा र अन्य प्राकृतिक स्रोतहरुको उपयोग गर्ने अख्तियारी एक्यापले समितिलाई प्रदान गरेको बताए । असार र भदौ मसान्तसम्मबाहेक अन्य समयमा लेंकजगलका दाउरा र अन्य प्राकृतिक स्रोतको उपयोग र अधिकार समितिले गर्ने गरेको उनले बताए ।

स्थानीयले कृषि प्रयोजनका लागि  पालन गरिएका गोरु,झोपा,घोडा र खच्चड जस्ता घरपालुवा चौपाया लिएर आफ्नो पायक पर्ने लेंक जंगल पुग्छन्। उनीहरुले दाउरा खोजेर तिनै चौपायाको सहयोगमा भारी बोकाई घर फर्कन्छन् ।चौपाया नहुनेले आफै बोकेर दाउरा घर ल्याउछन् ।


मुस्ताङका लेंक जंगलमा दाउरा टिप्दा काँचो काट्न पाईदैन र काँचो दाउरा काटेको प्रमाणित भएमा सरक्षण समितिले हर्जाना तिर्नुपर्ने हुन्छ । कुरिया दर्ता भएका घरधुरीहरुले मापदण्ड विपरित वा काँचो दाउरा ल्याए नल्याएको समिति र स्थानीय जनप्रतिनिधि मिलेर नियमित अनुगमन गर्ने गरिएको छ ।

यसअघि सुनसान हुने मुस्ताङको बनपाखामा दाउरा संङ्कलन गर्नेहरुको भीडले रौनक थपेको छ ।यसप्रकारको रौनक वर्षेनी यार्सा गुम्बाको सिजन सुरु हुदा पनि हुने गर्छ । घरपझोङ गाउँपालिको जोमसोम,ठिनी,ढुम्बा,स्याङ,मार्फा,छैरो र चिवाङका अधिकाँश मानिस नीलगीरी र धौलागिरी हिमाली फेदको जंगल पुगेर दाउरा संङ्कलन गर्न जान्छन् । थासाङ गाउँपालिकाका लेंकमा पनि गाउँलेले आफ्ना मातहतका जंगलमा दाउरा खोज्ने गरेको थासाङ २ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए ।‘ गाउँ मुखिया र सरक्षण व्यवस्थापन समितिले निश्चित समयका लागि दाउरा फुकुवा गर्ने थासाङका स्थानीय सोजन हिराचनले उल्लेख गरे ।

जोमसोमका किसान लेखबहादुर गुरुङका एकजोडी झोपा छन् ।खेत जोत्ने,मल ओसार्ने र दाउरा संङ्कलन गर्ने प्रयोजनमा पालन गरेका तिनै झोपा मार्फत उनले दैनिक चार भारी दाउरा संङ्कलन  गर्छन् ।उनी बिहानै ४ बजे उठेर झोपा खेद्दै नीलगीरी लेकको जंगलमा पुग्छन् ।‘चिसो मौसम छ,चिसोको महशुस हुदैन’उनले भने‘गाउँ भन्दा जंगलमा दाउरा टिप्नेको रमाईलो छ,अहिले टिपेको दाउराले वर्षदिन पु¥याउनु पर्ने हुन्छ ।’त्यस्तै अर्का किसान मनोज गोतामेले पनि झोपाकै सहयोगमा दाउरा संङ्कलन गरेका छन् ।अघिपछि खेती किसान र अरानमा व्यस्त रहने मनोज ति सबै काम थाँती राखेर दाउरा संकलन गर्न जुटेका हुन् ।‘सरक्षण व्यवस्थापन समिति,जनप्रतिनिधि र गाउँ प्रतिनिधिले  १० दिन जंगल खुल्ला गरेको छ’उनले भने‘बस्तुभाउ र परिवारले आगो ताप्न दाउरा चाहिन्छ,खोजिएका दाउराले १ वर्ष पु¥याउनुपर्छ ।’


जोमसोम र अन्य गाउँमा कुरिया दर्ता भएका र खेतवारी कमाई बसेकालाई मात्र दाउरा संङ्कलन गर्न अनुमती दिईन्छ । स्थानीय किसानले दाउराका साथसाथै सल्लो र धुपीको पात (सन्) ओसार्ने गर्छन ।यो उनीहरुले अर्गानिक मलको रुपमा प्रयोग गर्न मलखातमा बिच्छ्याउछन् । कतिपयले दाउरा खोज्न आफु संग भएका चौपाया अधिया दिएर दाउरा बराबरी भाग लगाउने चलन पनि छ ।

 मुस्ताङका प्रत्येक गाउँमा छत माथि दाउरा पाज्ने चलन छ ।घरको अगाडी दाउरा पाज्ने चलनले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने स्थानीयको भनाई छ ।छत माथि धेरै दाउरा पाज्दा त्यो घर संम्पन्नको उदाहरण बन्ने गरेको स्थानीयले बताए।मुस्ताङमा यातायात संञ्जाल नजोडिदा यहाँका स्थानीयले घरको संम्पूर्ण कार्य दाउराबाट हल गर्थे । 

पछिल्लो समय मुस्ताङमा सडक सञ्जाल सहज हुँदै जान थालेपछि ा सडक सहज भएसंगै दाउराको खपत घटेको छ । मुस्ताङमा कृषक घरधुरी बाहेक अधिकाँश घरधुरीले खाना पकाउने एल्पी ग्याँस प्रयोग गरेका छन् ।चिसो मौसममा आगो ताप्ने र बस्तुभाउका लागि कुडो पकाउने काम बाहेक अन्य प्रयोजनमा दाउराको खपत कम हुदै जान थालेको हो ।


फोटो क्याप्सन ः मुस्ताङीलाई हिउँदयामको जोहो दाउरा । स्थानीयले जंगलबाट सुकेका दाउरा संकलन गरी आफै बोकर वा गौरु झोपालाई बोकाएर घरमा ल्याउछन् । तस्विर ः मनिता थकाली ।


प्रतिक्रिया