मुस्ताङमा जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

     प्रदेश जनस्वास्थ्य कार्यालय, जोमसोम मुस्ताङको आयोजनामा आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी  कार्तिक २२ र २३ गते प्रदेश जनस्वास्थ्य कार्यालयको तालिम हल, जोमसोममा सम्पन्न भएको छ।

कार्यक्रम जिल्ला समन्वय समिति मुस्ताङको प्रमुख श्री माया गुरुङको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी श्री नन्दराम परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य सुन्दर कुमार थकाली, पत्रकार महासङ्घ मुस्ताङ अध्यक्ष सुनदेवी रसाइली, प्रदेश आयुर्वेद चिकित्सालयका निमित्त कार्यालय प्रमुख श्री दिनेश आचार्य, तथा प्रदेश अस्पताल जोमसोमका मेडिकल रेकर्डर सुमन पन्थको विशेष उपस्थिती रहेको थियो। त्यस्तै मुस्ताङ जिल्लाका पाँचवटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्यकर्मीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत श्री पारस पंगेनीले गर्नुभएको थियो भने स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यबारे पब्लिक हेल्थ नर्सिङ निरीक्षक श्री शरष्मा सेनले सम्बोधन गर्नुभएको थियो। जिल्लाको वार्षिक तथ्याङ्कीय प्रस्तुतिकरण तथ्याङ्क अधिकृत श्री राजन पहाडीले प्रस्तुत गर्नुभएको थियो। साथै पाँचवटै पालिकाले आफ्ना वार्षिक प्रगतिका विवरणहरू प्रस्तुत गरेका थिए। यसै क्रममा आर्थिक वर्ष २०८२/८३ को प्रदेश जनस्वास्थ्य कार्यालयको वार्षिक कार्ययोजना  सार्वजनिक गरिएको थियो। सहभागी पालिकाहरूद्वारा आफ्ना सबल पक्ष, सुधार आवश्यक क्षेत्र, अवसर र चुनौतीहरूको सूक्ष्म विश्लेषण गरी आगामी वर्षका लागि ठोस कार्ययोजना तथा समाधानका उपायहरू तयार गरिएको थियो।

प्रगति मूल्याङ्कनमा उत्कृष्ट स्वास्थ्य संस्था र पालिका सम्मानित

आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका खोप, पोषण, CBIMNCI, Family planning, Safe motherhood, RH morbidity,  FCHV, PHC/ORC, हेल्थ एजुकेशन, क्षयरोग, रोग नियन्त्रण, OPD services, न्यूनतम सेवा मापदण्ड,  रिपोर्टिङ दर, Supply chain, वित्तीय उपलब्धि, स्वास्थ्य क्षेत्रमा छुटाइएको बजेट, नविन्तम कार्यक्रम, समन्वय  र सामाजिक सञ्जालमा स्वास्थ्य सूचना प्रचारमा संलग्नता लगायतका ४६ वटा सूचकहरूका आधारमा मूल्याङ्कन गरिएको थियो।

उक्त मूल्याङ्कनअनुसार थासाङ गाउँपालिका–१ स्थित टुकुचे स्वास्थ्य चौकीले ७२.६६% अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको छ।त्यस्तै बारागुङ गाउँपालिका–२ स्थित झोङ स्वास्थ्य चौकीले ७१.२८% अंकसहित द्वितीय स्थान, घरपझोङ गाउँपालिका–५ स्थित जोमसोम (ठिनी) स्वास्थ्य चौकीले ७०.७५% अंकसहित तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्। गाउँपालिका स्तरमा घरपझोङ गाउँपालिकाले ७८.६९% अंक प्राप्त गरी प्रथम स्थान, थासाङ गाउँपालिकाले ७६.८२% अंकसहित द्वितीय स्थान, बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले ७३.१६% अंकसहित तृतीय स्थान प्राप्त गरेका छन्।

यसैगरी कार्यक्रमको समापनमा प्रमुख अतिथि श्री नन्दराम परियार ज्यूले आफ्नो सम्बोधनमा मुस्ताङ जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार र गुणस्तरीय सेवा प्रवाहमा देखिएको प्रगति अत्यन्तै प्रशंसनीय छ। यस उपलब्धिको श्रेय यहाँका स्वास्थ्यकर्मी, स्थानीय तहका नेतृत्व, र प्रदेश जनस्वास्थ्य कार्यालयको निरन्तर प्रयासलाई जान्छ। तर, प्रगति सँगसँगै सुधारका नयाँ अवसरहरू पनि सृजना भएका छन्। आगामी वर्षमा हामीले सेवा गुणस्तरलाई अझ उचाइमा पु-याउने, दुरदराजका बस्तीमा स्वास्थ्य पहुँच सुनिश्चित गर्ने र सूचना व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने दिशामा काम गर्न आवश्यक छ। स्वास्थ्य क्षेत्र नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसको निरन्तर सुधार हाम्रो साझा जिम्मेवारी हो। सबै तहबीचको समन्वय, पारदर्शिता र उत्तरदायित्वका माध्यमबाट हामी अझ प्रभावकारी परिणाम हासिल गर्न सक्छौं। अन्त्यमा, जिल्लाभर कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, पालिका नेतृत्व र प्रदेश जनस्वास्थ्य कार्यालयप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी वर्ष अझ उत्कृष्ट उपलब्धिसहित अघि बढ्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।

 त्यसैगरी अध्यक्ष श्री माया गुरुङले समापनमा बोल्दै  स्वास्थ्य सेवा नागरिक अधिकारसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। यस क्षेत्रको प्रगति नै जनजीवनको सुधारको सूचक हो। आजको यो समीक्षा गोष्ठीले जिल्लाको स्वास्थ्य उपलब्धि मात्र होइन, सुधारका सम्भावना र चुनौतीहरू पनि स्पष्ट पारेको छ।आगामी वर्षमा सबै पालिकाहरूले आपसी समन्वय र अनुभव साटासाट गर्दै स्थानीय स्तरमै नविनता ल्याउने र तथ्यमा आधारित योजना तर्जुमा गर्ने प्रयास गर्नुपर्छ। उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था र पालिकाहरूले अन्यलाई प्रेरणा दिने विश्वास लिएकी छु। जसरी आज टुकुचे, झोङ र ठिनी स्वास्थ्य चौकीहरू उत्कृष्ट उदाहरण बनेका छन्, त्यस्तै निरन्तर प्रतिस्पर्धा र सुधारका भावना सबैमा जागृत रहोस्। जिल्ला समन्वय समितिको तर्फबाट स्वास्थ्य क्षेत्रमा समर्पित सम्पूर्ण जनशक्ति र संस्थाहरूलाई हार्दिक धन्यवाद, बधाई र आगामी दिनका लागि निरन्तर प्रगतिका शुभकामना व्यक्त गर्नुभएको थियो।

 निष्कर्ष

कार्यक्रमले जिल्लाको स्वास्थ्य क्षेत्रका उपलब्धि, चुनौती र आगामी दिशा स्पष्ट गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था र पालिकाहरूलाई सम्मानित गर्दै कार्यक्रमले आगामी वर्षमा अझ गुणस्तरीय, पहुँचयुक्त र नविनतापूर्ण स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै समापन भएको हो।

 

प्रतिक्रिया