दश महिनामा तीन हजार ३९३ विदेशी पर्यटक उपल्लो मुस्ताङ भित्रिए

उपल्लो मुस्ताङको पृथक भुगोल, मौलिक कलासंस्कृति अवलोकनका लागि सन् २०२५ को जनवरीदेखि नोभेम्बर २ तारिखसम्म तीन हजार ३९३ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका छन् । उपल्लो मुस्ताङको भ्रमण गर्नेमा सबै भन्दा बढी ३०१ जना अमेरिकन नागरिक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लोमान्थाङले जनाएको छ ।

 एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार  सन् २०२५ को जनवरीदेखि नोभेम्बर २ तारिखसम्ममा ६५ राष्ट्रका विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । यहाँ जनवरीदेखि नोभेम्बर २ सम्मको अवधिमा सबैभन्दा बढी विदेशी पर्यटक मे महिनामा ८३६ जना र सबैभन्दा कम विदेशी पर्यटक जनवरी महिनामा १७ जनाले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाई छ।

एक्याप लोमान्थाङका अनुसार सन् २०२५ को जनवरीमा १७,फ्रेब्रुअरीमा ७३, मार्चमा २४२, अप्रिलमा ५६०, मे ८३६, जुनमा १८५, जुलाईमा १६९, अगस्त २६४, सेप्टेम्बरमा २७७ ,अक्टोबरमा ७३६ जना र नोभेम्बर २ तारिखसम्ममा ३४ जना विदेशी उपल्लो मुस्ताङ पुगेका हुन् ।

एक्यापको संरक्षित क्षेत्र रहेको उपल्लो मुस्ताङ विदेशी पर्यटकहरुका लागि निषेधित तथा नियन्त्रित क्षेत्रको सुचिमा पर्दछ । उपल्लो मुस्ताङ प्रस्थान गर्नका लागि नेपाली पर्यटकहरुका लागि खुल्ला गरिएपनि नेपाल सरकार अध्यागमन विभागले  विदेशी पर्यटकहरुका लागि उपल्लो मुस्ताङ भ्रमण गर्न प्रवेशआज्ञा शुल्क तोकेको छ ।

 उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकहरुले अध्यागमन विभाग वा तोकिएका स्थानबाट १० दिनको प्रवेशआज्ञा स्वरुप ५०० डलर शुल्क नेपाल सरकारलाई बुझाउँनु पर्ने हुन्छ । यसका अतिरिक्त उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटक १० दिन भन्दा बढी बस्न चाहेमा प्रतिदिन ५० डलर राजश्व सरकारलाई बुझाउनुपर्ने प्रावधान छ ।

मुस्ताङमा बर्सेनि डेढ लाख भन्दा बढी सार्क तथा अन्य मुलुकका विदेशी पर्यटकहरुले भ्रमण गर्ने भएपनि निषेधित तथा नियन्त्रित क्षेत्रका कारण र अध्यागन विभागले उठाउने चर्को प्रबेशआज्ञा शुल्कका कारण अधिकाँश विदेशी पर्यटकहरु मुक्तिनाथ र कागबेनीबाट फर्किने गरेका छन् । नेपाल—चीन सीमावर्ती क्षेत्र जोडिएको उपल्लो मुस्ताङलाई सरकारले यहाँको कागबेनीदेखि माथिल्लो क्षेत्रलाई निषेधित तथा नियन्त्रित क्षेत्रका सुचिमा राखिएको हो । मुस्ताङ भित्रिएका कुल विदेशी पर्यटक संख्या मध्ये औसत ३ प्रतिशतको हाराहारीमा उपल्लो मुस्ताङ पुग्ने गरेको एक्यापको तथ्यांकले देखाउँछ ।

सरकारले सन् २०२५ को जनवरीदेखि अक्टोबरसम्म उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकहरुबाट  पर्यटन रोयल्टी वापत १६ लाख ९६ हजार ५०० सय अमेरिकी डलर अर्थात नेरु. २४ करोड ९ लाख ३ हजार रुपैया संकलन गरेको हो ।

उपल्लो मुस्ताङमा विशेष भीआईपी पर्यटकहरुमात्रै प्रस्थान गर्ने गरेको पाईएको छ । उपल्लो मुस्ताङको जिवन्त तिब्बतीय धार्मिक कलासंस्कृति,रहनसहन,वेशभूषा,चाडपर्व लगायत उपल्लो मुस्ताङका धार्मिक,ऐतिहाँसिक र सांस्कृतिक मौलिकता अवलोकन गर्न विदेशी पर्यटकहरु लालायित हुने गरेको पाईएको छ । लोमान्थाङ दरबार,झोङ गुफा,घर गुम्बा,चराङ गुम्बा, चिउसी गुफा लगायत उपल्लो मुस्ताङको जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गरी विदेशी पर्यटकहरु फर्किने गरेको एक्याप लोमान्थाङले जनाएको छ ।

उपल्लो मुस्ताङको ऐतिहाँसिक तथा धार्मिक र सांस्कृतिक पर्व तिजी र यार्तुङ पर्वमा विदेशी पर्यटकहरुको उल्लेख उपस्थिती हुने गरेको छ । तिब्बतीय संस्कृतिको मानचित्र बोकेको उपल्लो मुस्ताङलाई गुम्बै गुम्बाको राजधानी समेत भन्ने गरिएको छ ।

त्यहाँका सदिंयौ वर्ष पुराना गुम्बा,गुफा,माने, छोर्तेन र स्तुपहरुलाई जिवन्त मौलिक कलासंस्कृतिलाई उजागर गरेको छ । पछिल्लो समय कोरलानाका र उपल्लो मुस्ताङ भ्रमण गर्न बर्सेनि हजारौंको संख्यामा स्वदेशी पर्यटक मुक्तिनाथ दर्शन गरी माथि उक्लिने गरेका छन् ।

प्रतिक्रिया