मुस्ताङको पाक्लिङमा लोभलाग्दो बोन गुम्बा

जोमसोम— मुस्ताङको  वारागुङ—४ पाक्लिङमा पर्यटक लोभ्याउने भव्य बोन गुम्बा निर्माण अन्तिम चरणमा पुगेको छ । निलगिरी हिमाल,धौलागिरि हिमालको काखैमा अवस्थित गुम्बा भएको स्थानबाट कालिगण्डकी नदीको तटीय क्षेत्र सुन्दर र मनमोहक देखिन्छ । अग्लो उचाईमा निर्माधिन बोन गुम्बाले मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई आर्कर्षित गर्ने पूर्वअनुमान गरिएको छ ।

 मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रद्वारा पाक्लिङमा पहिलो फेजको कार्यक्रम अनुसार भव्य गुम्बा भवन निर्माण गरिएको हो । शेम्तेन थाग्यालिङ बोन गुम्बा एवं आध्यामिक अध्ययन केन्द्र परियोजना अन्तर्गत केन्द्रले त्यहाँ पहिलो चरणको कार्यक्रम अन्तर्गत भव्य बोन गुम्बा निर्माण गरेको हो । केन्द्र अन्तर्गत यो परियोजनको फेज वानदेखि फेज थ्रिसम्म चल्नेछ ।

जोमसोम—कोरला सडक मार्गको कालिगण्डकी नदी पश्चिमतर्फको खृेर गएको भिरालो सतहलाई काँटर त्यहाँ केन्द्रले बोन गुम्बा लगायतका विभिन्न भौतिक संरचना निर्माण गरिरहेको छ । त्यहाँ पुग्न मुख्य सडकबाट ५ मिनेटमै पुग्न सकिन्छ । परियोजना अन्तर्गत फेज वानका लागि २१ करोड बजेट विनियोजन गरिएको थियो । जसमा सिभिल  कन्ट्रक्सनको जिम्मा एमबी अमित जेभीले ११ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । जसमा बोन गुम्बा,लामा निवास,लाईबेरी हल, किचन, प्रशासनीक कक्ष, पानी ट्याङकी, गुम्बा परिसर र एप्रोज सडक लगायतको काम सम्पन्न भईसकेको छ ।

यसैगरी बाँकी १० करोड प्रशासनीक खर्चसहित गुम्बामा मुर्ती स्थापना ,वातावरणमैत्री भौतिक संरचना,गुम्बा रंगरोगन ,चित्रकला र कलात्मक थान्का पेन्टिङ लगायतमा बजेट छुट्याईएको थियो । अहिले सिभिलतर्फको काम अन्तिम चरणमा छन् भने फेज वानमा गरिने सबै फिनिसिंङका कामहरु पनि २ हप्ता भित्र सम्पन्न गरिने केन्द्रका ईन्जिनीयर सुदिप थकालीले जानकारी दिए । उनले गुम्बामा १ करोड ४० लागतमा तामाको मुर्तीमा सुनको जलप लगाएको मुर्ती प्रतिस्थापन गरिएको जनाए ।

जोमसोम—कोरला सडकमार्गबाट निकै मनमोहक देखिने पाक्लिङमा निर्माणधिन बोन गुम्बाले पर्यटकलाई आर्कर्षित गर्ने ईन्जिनीयर थकालीको भनाई छ । सडकमार्ग नजिकै पर्ने र कालिगण्डकी नदीमा पुल समेत बनिसकेकाले त्यहाँ पुग्न पर्यटकलाई सहज भएको ईन्जिनीयर थकालीको भनाई छ ।

हिमाली विकटक्षेत्रका कठिन परिस्थितीका बालबालिकाहरुका लागि शैक्षिक विकासमा योगदान पू¥याउने र बोन धर्मको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले करोडौं लागतमा विभिन्न धार्मिक संरचना निर्माणको योजना अघि बढाएको हो ।

 पाक्लिङमा बोन गुम्बा तथा आध्यामिक अध्ययन केन्द्र लगायत कठिन परिस्थितीका बालबालिकालाई शिक्षा र स्वास्थ्यमा लगानी गर्न केन्द्रले विदेशी संघसंस्था र सुभेच्छुक धार्मिक आस्था राख्ने व्यक्तिहरुको सहयोगमा यसप्रकारको कार्य अघि बढाएको हो । नेपाल सरकार समाज कल्याण परिषदको स्वीकृतिमा मुस्ताङ बोन फाउन्डेसन अमेरिका र मुस्ताङ बोन फाउन्डेसन अष्ट्रेलियाबाट त्यहाँ धार्मिक दाताहरुले चढाएको भेटी संकलन केन्द्रलाई उपलब्ध हुने गरेको संस्थाका अध्यक्ष गेशे सोनाम गुरुङले जानकारी दिए ।

 यसका अलावा केन्द्रको शेम्तेन थाग्यालिङ बोन गुम्बा आध्यामिक केन्द्र परियोजनाले फेज दुईका लागि १८ करोड लागत स्टमेट गरिसकेको र यसको सरकारी स्तरबाट अनुमोदन भईसकेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार फेज दुईमा ठेक्का आह्वान भईसकेको र यसको प्राविधिक मूल्यांकन गर्न बाँकी छ । फेज दुईमा बहुउद्देश्य भवन,प्राकृतिक उपचार पद्यतीका लागि प्रशोधन उपकरणखरिद तथा क्लीनिक र बिरामी बस्ने आवासीय भवन लगायतका पूर्वाधार बन्नेछ । यो सन् २०२६ को मेसम्म सक्ने लक्ष्य राखिएको छ ।

यसैगरी परियोजनाको फेज थ्रिमा बिद्यार्थी र लामा बस्ने बहुउद्देश्य आवास भवन आदी बन्ने जनाईएको छ । ओझेलमा पर्दैआईरहेको गाउँ पाक्लिङमा बोन गुम्बा निर्माण भएसंगै त्यहाँको धार्मिक पर्यटनमा समेत टेवा पुग्नेमा स्थानीयबासी आशावादी छन् ।  पाक्लिङको नवनिर्मित गुम्बामा पुजापाठ गर्ने, दर्शन गर्ने , धार्मिक योगाभ्यास गर्ने र गुम्बा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकका कारण आर्थिक व्यवसायलाई समेत चलाएमान बनाउनसक्नेमा स्थानीयबासी ढुक्क छन् ।


प्रतिक्रिया