मुस्ताङ, २०, भदौ ।
बढ्दो कार्वन डाईअक्साईड उत्सर्जनका कारण विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असर एक प्रमुख चिन्ताको बिषय बनेको छ । यसको संकट सामना गर्दैआईरहेको राष्ट्रले यथोचित क्षतिपूर्ती पाउँनु पर्ने माग राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा उठान गर्ने गरिएको छ । तर, कार्वन उत्सर्जन गर्ने विकशित औधोगिक राष्ट्रहरुले जलवायु संकटको सामाना गरिरहेका राष्ट्रहरुलाई त्यसको यथोचित क्षतिपूर्ती दिलाउँनेतर्फ ध्यान गएको पाईदैन ।
विश्वमै जलवायु परिवर्तन असर एक चिन्ताको बिषय बनिरहँदा नेपालका हिमाली जिल्लाहरु यसको प्रत्यक्ष÷परोक्ष मारमा पर्दैआईरहेका छन् । हिमाली जिल्लाहरुमा मौसमी तापमान दर बर्सेनि वृद्धि भईरहेको छ । जलवायुको असर हिमाली जिल्लाहरुमा देखिदै गर्दा यहाँको हिमाली जिल्ला मुस्ताङमा जलवायु असरका कारण यहाँको वातावरणीय सन्तुलन तथा पारिस्थितीक प्रणाली (ईको सिस्टम)लाई समेत गिजोल्दै जान थालेको छ ।
विगत दस वर्ष अघि फर्किएर सम्झने हो भने मुस्ताङमा हिउँदयामको अनुकुल समयमा हिउँ पथ्र्यो । हिउँले यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका डाँडाकाँढा र वस्ती सबै हिउँले पुरै सेताम्मे हुन्थे । यहाँ हिउँदयामको पुस र माघ महिनामा तल्लो मुस्ताङमा दुई फिट र उपल्लो मुस्ताङमा पाँच फिट सम्म हिउँ परेको थियो । २०७५ सालमा हिउँदयाममा अत्यधिक हिउँ पर्दा उपल्लो मुस्ताङमा सयौं याकचौरी,भेडाच्यांग्राहरु खर्क र गोठमै हिउँले पुरिएर मरे । तल्लो मुस्ताङको नमखुलेंक र थासाङको विभिन्न खर्कहरुमा पनि स्थानीयका दर्जनौ याकचौरी हिउँमा पुरिएर मरे । त्यस समय हिमपातले क्षति पुगेका पशुपालक किसानलाई सम्वन्धित स्थानमै पुगेर गण्डकी प्रदेश सरकारले आशिंक राहत वितरण गरेको थियो ।
हिउँ पर्दा पनि सास्ती,हिउँ नपर्दा पनि सास्ती यहाँको हिमाली जिल्लाले भोग्नु परेको एक ज्वलन्त समस्या र चुनौति हो । हिउँदयामा उपल्लो मुस्ताङका नागरिकहरु हिउँ र अत्यधिक चिसो छल्ने सदिंयौं वर्षदेखिको प्रचलन हो । अत्यधिक चिसो र हिमपातको असरले उपल्लो मुस्ताङका नागरिकको जनजिवन निकै कष्ठपूर्ण हुन्थ्यो । चिसो र हिउँका कारण घरका सेफ्टी ट्याङ्की,धारा र सिचाई कुलो जमेर बरम बन्थ्यो । उपल्लो मुस्ताङमा कार्तिक महिनादेखि फागुनको अन्तसम्म चरणवद्ध रुपमा हिउँ पर्ने गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उल्लेख गर्नुभयो ।तर, पछिल्लो तीन आर्थिक वर्ष यहाँ राम्ररी हिउँ पर्न नसकेको अध्यक्ष गुरुङको भनाई छ ।
यहाँ जलवायु परिवर्तनका कारण कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आशिंक हिमपात हुने र कुनै वर्ष हिमापात हुन नसकेको प्राकृतिक घटनाहरु विद्यमान छ । पृथ्वीको तापमान वृद्धिसंगै मुस्ताङका शाखा नदीहरुमा विपद् जोखिमको उच्चसम्भावना बढेको छ । यहाँका शाखा नदीका मुहानहरुमा हिउँ पग्लिएर, वा हिउँ ढिस्का खसेर ठुलो लेदो र गेग्रानसहित भेल बाढी आउने गरेको छ । जसका कारण यहाँका शाखा नदी छेउछाउ र आसपासका बस्ती र खेतीयोग्य जमिन भेलबाढीको जोखिममा परेका छन् । २८ साउन २०८० सालमा मुस्ताङको कागबेनीमा ठुलो भेल बाढाी आयो ।बाढीले कोरला सडकको निर्माणधिन पक्की पुलसहित कागबेनीका आधा दर्जन बढी घरहरुमा ठुलो क्षति पुग्यो । बाढीले कागबेनी श्राद्धस्थल,स्याउबारी र पशुचौपाया आदीमा करोडौंको भौतिक क्षति पु¥यायो ।
थासाङ क्षेत्रमा पटक÷पटक हिउँ पहिरो जाने क्रम रोकिएको छैन । हिउँ पहिरो जाने क्रमले त्यस क्षेत्रको चरनक्षेत्र तथा थासाङ क्षेत्रका केही वस्ती हिउँ पहिरोको उच्च जोखिममा छन् । दुई वर्षअघि मार्फा स्थित बागवानी केन्द्र नजिकैको सानो खोलामा भेल बाढी आउँदा फार्मका खेतीयोग्य स्याउ बारीमा लेदो र गेग्रान पसेर क्षति पु¥यायो ।
यसैवर्ष साउनको पहिलो र तेस्रो साता थासाङको लाङ्की खोलामा हिउँ पग्लिएर ठुलो भेल बाढी आयो । बाढीले मानविय तथा भौतिक क्षति नपु¥याएपनि त्यहाँका लार्जुङ वस्तीलाई त्रासदी उत्पन्न गरायो । त्यहाँ गाउँपालिका र प्रशासनको समन्वयमा खोलामा डोजर लगाएर खोलाको धारलाई नियन्त्रणमा बग्ने बनाईयो ।
यसको दुई महिना अघि असार महिनामा उपल्लो मुस्ताङको लोमान्थाङ —४ समजुङ माथिको लेंकबाट अकस्मात छुआमा खोलामा भेल बाढी आयो । त्यहाँ बाढीले सडक मोटर बाटो, पुल र सिचाई कुलो लगायतमा क्षति पु¥यायो । त्यहाँका बाढीले मुस्ताङ स्थित कालिगण्डकी नदीको तटीय वस्ती र म्याग्दीको कालिगण्डकी तटीय क्षेत्रका वस्तीलाई समेत बाढीले त्रासदी उत्पन्न गरायो । यसै वर्ष घरपझोङ गाउँपालिका —५ स्थित ढुम्बा खोलामा बाढी आउँदा जंगलमा च्याउ टिप्न जादै गरेका एक युवालाई बाढीले बगायो । त्यहाँ पुन बाढी आउँदा झन्डै दुई सय स्याउका बोटमा क्षति पु¥यायो ।
यतिमात्रै होईन बाढीले जोमसोम—कोरला सडकमार्ग समेत बाढी पहिरोले पटक पटक सडक अवरुद्ध गरायो । हिमाल पग्लिएर हिउँका ढिस्कासहितको भेल बाढी आउँदा यहाँ कालिगण्डकी नदी भन्दा बेसी यहाँको शाखा नदीको विपद् जोखिम बढेको घरपझोङ—५ का कृषक कर्मा गुरुङले बताउँनुभयो ।
जलवायु परिवर्तनका कारण अनुकुल समयमा हिउँ नपर्नु र पृथ्वीको तापमान वृद्धि हुँदै गर्दा यहाँका निलगिरी,धौलागिरी लगायतका हिमालहरुको सौन्दर्यता घट्दै जान थालेको छ । यहाँका हिमालमा हिउँ पग्लिदै गर्दा हिमालहरु बर्सेनि कालापथ्थरमा परिणत हुँदै जान थालेका छन् ।
यसैगरी जलवायु संकटका कारण यहाँको कृषि,पर्यटन,जैविक विविधता,धर्मसंस्कृति र वातावरणीय क्षेत्रमा प्रतिकुल असर पर्दैजान थालेका छन् । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. लालमणि अर्यालका अनुसार जलवायु संकटका कारण यहाँका परम्परागत पशुपालन व्यवसाय संकटमा पर्दैजान थालेको उल्लेख गर्नुभयो । अनुकुल समयमा हिउँ नपर्ने र बेमौसममा वर्षा हुने गर्दा यहाँको चरनक्षेत्र खुम्चिदै जान थालेको उहाँको भनाई छ । हिउँ नपर्दा उच्चलेंकमा घाँस पलाउन छाडेको र बेमौसमे वर्षाले चरनक्षेत्रमा अनाधिकृत घाँस पलाउन थालेकाले पशु आहार व्यवस्थापनमा समस्या र चुनौति थपिएको उहाँले बताउँनुभयो । वारागुङ—४ तिरीका पशुपालक किसान आङ्ग्या गुरुङले यहाँ चरनक्षेत्रको समस्या पर्दा गाउमा कुनै पनि घरधुरीले दुई सय भन्दा बढी च्यांग्रा पालन गर्न नपाईने नियम कार्यान्वयमा आएको बताउँनुभयो । ‘गाउँमा सबैका धेरै थोरै च्यांग्रा छन, तर,चरन क्षेत्र खुम्चिदै छ,’उहाँले भन्नुभया, ‘घाँसको अभाव हुने भएकै कारण च्यांग्रा पालन समितिबाटै यस्तो निर्णय भएको हो, धेरै च्यांग्रा पाल्छु भन्नेलाई यहाँ समस्या देखिएको छ ।’
जलवायुकै कारण यहाँको कृषि क्षेत्रमा समेत निकै ठुलो समस्या र चुनौति थपिदै जान थालेको कृषकहरुको भनाई छ । जमिनको तापमान बर्सेनि वृद्धि हुँदै जाँदा यहाँ उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारी उत्पादनले बिस्तारै बसाई सादै जान थालेको छ । यहाँ बढ्दो तापमान वृद्धिका कारण स्याउ लगायतका अन्नबालीहरुमा विभिन्न रोगकिराहरुको संक्रमण बढ्दै जान थालेको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख राजेश गुरुङ बताउँनुहुन्छ । तापमान वृद्धि हुँदै गर्दा स्याउ खेतीमा यसको प्रत्यक्ष असर देखिन थालेको प्रमुख गुरुङले बताउँनुभयो । यहाँ जलवायुका कारण बेमौसमे वर्षा हुने र अनुकुल समयमा हिउँ नपर्दा स्याउ लगायतका अन्नबालीहरुमा रोगको प्रकोप चुलिदै जान थालेको उहाँको भनाई छ ।
जलवायु परिवर्तनका कारण शीतोष्ण फलफूल तथा बालीहरु विस्तारै बसाई सर्ने क्रममा रहेकाल शीतोष्ण वागवानी विकास केन्द्रले उपल्लो मुस्ताङको घमीमा स्याटलाईट कृषि फार्म स्थापना गर्ने तयारी अन्तिम चरणमा पु¥याएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । जलवायुका कारण यहाँको तल्लो भेंकमा समशीतोष्ण तथा उपल्लो मुस्ताङमा शीतोष्ण फलफूल तथा तरकारीहरु उत्पादन तथा बिक्री वितरण गर्ने गरी फार्म स्थापनाको तयारी भईरहेको उहाँको भनाई छ ।
यसैगरी जलवायु संकटका कारण हिमाली जिल्लामा संस्कृति र मौलिक परम्परामा समेत असर पु¥याउँदै जान थालेको छ । यहाँका सदिंयौ वर्ष पुरानो ढुंगा र माटोले निर्मित एकआपसमा जोर्डिका परम्परागत घरहरु विस्तारै लोप हुने अवस्थामा छन् । यहाँको ढुंगा र माटोले बनेका घरहरु, त्यसका छतमाथि लस्करै दाउँरा पाँजेर राख्ने प्रचलन यहाँको सांस्कृतिक धरोहरका रुपमा लिने गरिन्छ । तर ,पछिल्लो समय यहाँ बेमौसमे वर्षा हुने गर्दा यहाँका पुराना ढुंगा र माटोले बनेका घरहरु जोखिममा पर्न थालेका हुन् । पानीनै नपर्ने जिल्ला भनेर चिनिने मुस्ताङमा पछिल्लो समय बेमौसमे वर्षा हुने क्रम बढेको छ । जसका कारण यहाँका पुरानो घरहरु कमजोर बन्दै जान थालेको जोमसोमका स्थानीय अजित थकालीले बताउँनुभयो । पछिल्लो समय जलवायु संकटका कारण ढुगा र माटोका घरहरु जोखिम देखिएको र सडक यातायातको सहजतासंगै यहाँ पुराना घरहरु विस्थापित हुँदै आधुनिक घर र बंगलाहरु निर्माण हुने क्रम बढेको स्थानीय थकालीले उल्लेख गरे । यसले यहाँको पुरानो मौलिक संस्कृतिमा असर पु¥याउँदै जान थालेकाले पर्यटन प्रर्वद्धन र विकासमा समेत क्षति तुल्याउने देखिएको उहाँको भनाई छ।
यसैगरी जलवायु संकटका कारण वातावरणीक्षेत्रमा प्रतिकुल असर पु¥याउँदै जान थालेपछि यहाँको जैविक विविधतामा समेत असर पुगेको देखिन्छ । यसका कारण हिमालीक्षेत्रको जैविक विविधतामा असर पुगेपछि यहाँको वन्यजन्तुहरु लोपोन्मुख हुन थालेका छन् । हिउँ चितुवाको आहारा नाउर चरनक्षेत्रमा पर्याप्त घाँस नहुँदा वस्ती नजिक आउने गरेको र त्यसलाई पछ्याउँदै हिउ चितुवा वस्ती नजिक आउने गरेको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले बताउँनुभयो । उहाँले यसका कारण हिउँ चितुवा र मानवबिचको द्धन्द बढ्दै गएकाले यहाँका पशुपालन व्यवसायमा चुनौति थपिएको उहाँको भनाई छ । पछिल्लो समय यहाँ हिमालको काखमा बासस्थान जमाएर बस्ने हिउँ चितुवा वस्ती र सडक छेउछाउमा देखिन थालेको उहाँको भनाई छ ।
हिमाली क्षेत्रहरुमा जलवायुको असर बढ्दै जान थालेपछि यहाँको विभिन्न क्षेत्रमा देखिएका समस्या र चुनौतिहरुको यथोचित अनुकुलका उपाय अवलम्वन गर्न मुख्य चुनौती सृजना भईरहेको छ । जलवायु संकटले मुस्ताङले भोग्नु परेका समस्या र चुनौती प्रतिनिधिमूलक घटनाहरु हुन् ।
जलवायु संकटले भविष्यमा मुस्ताङले यो भन्दा ठुला ठुला जोखमहरु व्यवहोर्नु पर्ने देखिन्छ । यहाँको जलवायु संकट मोचनका लागि ठुलो बजेटको आवश्यकता पर्ने देखिन्छ । अन्तराष्ट्रिय स्तरमा उपलब्ध हुने जलवायु क्षतिको यथोचित हिस्सा मुस्ताङले पाउँनु पर्ने यहाँका सरोकारवालाहरुको आवाज छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली