तल्लो मुस्ताङका विद्यालयले दिए २ महिने जाडो बिदा

जोमसोम— अत्यधिक चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था धमाधम बन्द हुन थालेका छन् । हिउँदयामको अत्यधिक चिसो र सम्भावित हिमपातको जोखिमले मुस्ताङका शैक्षिक संस्थाहरुले  २ महिना लामो हिउँदे बिदा दिन थालेका हुन् ।

 मुस्ताङका ५ स्थानीय तहमा ३५ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । सस्थागत,धार्मिक गुम्बा र आम्ची विद्यालय गरी १२ वटा विद्यालय छन् ।जिल्लाको लोमान्थाङमा सामुदायिक,संस्थागत र गुम्बा विद्यालय गरी ९ वटा,लोघेकर दामोदरकुण्डमा १० वटा, वारागुङ मुक्तिक्षेत्रमा ५ वटा, घरपझोङमा १० वटा र थासाङ गाउँपालिकामा १३ वटा शैक्षिक सस्था सञ्चालनमा रहेको छ ।

 हिउँदयामको मौसममा अत्यधिक चिसो र हिमपातको जोखिम हुन्छ । चिसो र हिमपातको जोखिमले यहाँका शैक्षिक सस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षण शिकाई क्रियाकलापमा निकै ठुलो समस्या उत्पन्न हुने गर्छ । चिसोले बिद्यार्थीको स्वास्थ्य अवस्था प्रतिकुल हुने भएकाले उपल्लो मुस्ताङका शिक्षण सस्थाहरु कार्तिक अगावै घुम्ती कक्षाका लागि बेसी झार्ने गरिएको हो । 

यस्तै, तल्लो मुस्ताङका शिक्षण संस्थाहरु भने हिउँदयामको पुस र माघ महिना पुरै बन्द हुन्छ । अत्यधिक चिसोका कारण बिद्यार्थीहरुलाई रुघाखोकी,निमोनिया र अन्य स्वास्थ्य समस्याकोे जोखिम हुने भएकाले यहाँका बिद्यालयहरुले सम्वन्धित स्थानीय तहको शिक्षा शाखाको अनुमतिमा हिउँदे बिदा दिने गरेका छन् । हिउँदयाममा अत्यधिक चिसो र संम्भावित हिमपातले  मुस्ताङको जनजिवन प्रभावित हुने गर्छ ।

 मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सामुदायिक विद्यालयहरु पुसको १ गतेदेखि २ महिनाका लागि बन्द भईसकेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालय पनि पुसको ४ गतेदेखि २ महिनाका लागि बन्द भएको छ । मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा पनि पुसको ९ गते चालु  शैक्षिक सत्रको त्रैमासिक परीक्षा सम्पन्न गरेर हिउँदे बिदा दिने तयारी गरेका छन् । यसअघि उपल्लो मुस्ताङका सामुदायिक तथा अन्य विद्यालय र वारागुङ मुक्तिक्षेत्रका १ गुम्बा बिद्यालयले हिउँदयामको जाडो छल्न कार्तिकमै बेसी झरिसकेका थिए । उपल्लो मुस्ताङ र वारागुङको १ बिद्यालय  गरी १२ वटा सामुदायिक र गुम्बा बिद्यालयहरु हिउँदयामको जाडो छल्न पोखराका विभिन्न स्थानमा स्थान्तरण भईसकेका छन् ।

 मुस्ताङका ३५ सामुदायिक बिद्यालय मध्ये घुम्तीका लागि बेंसी नझरेका २४ वटा सामुदायिक बिद्यालय पुसको पहिलो सातादेखि हिउँदे बिदा स्वरुप २ महिनाका लागि बन्द हुने शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङका प्राविधिक सहायक चन्द्रसिंह बि.क.ले जानकारी दिए । प्राविधिक सहायक बि.क.ले जिल्लाम त्रैमासिक परीक्षा सकेर बन्द भएका बिद्यालयले फागुनको पहिलो सातादेखि चालु शैक्षिक सत्रको शिक्षण शिकाई क्रियाकलापलाई निरन्तरता दिने उल्लेख गरे ।

सरकारले सामुदायिक शिक्षण सस्थाहरुलाई वार्षिक ४५ दिन बिदा दिने गरेको छ । मुस्ताङका शिक्षण संस्थाहरुले सरकारले दिने ४५ दिने बिदालाई हिउँदयामको पुस र माघ महिना बिद्यालय बन्द गरेर कटौती गर्ने गर्छन । ४५ दिने नियमित बिदा र १५ दिनको सट्टा बिदा गरी यहाँका बिद्यालयले हिउँदयाममा २ महिना बिद्यालय बन्द गर्ने गरिन्छ । मुस्ताङमा २ महिना हिउँदे बिदा दिएका बिद्यालयले फागुनको पहिलो साता बिद्यालयमा शैक्षिक क्रियाकलाप सुरु गर्छन । उपल्लो मुस्ताङबाट बेसीमा घुम्ती कक्षा चलाएका बिद्यालयहरु गर्मी सुरु भएपछि बैशाख महिनामा साविककै स्थानमा पुगेर शैक्षिक  क्रियाकलाप सुरु गर्छन् ।

 विगतका वर्षहरुमा मुस्ताङका विद्यालयहरुले पुस अगावै चालु शैक्षिक सकेर नतिजा प्रकाशित गरी फागुनमा नयाँ शैक्षिक सत्र सुरु गर्ने गथ्र्ये । तर, पछिल्लो समय सरकारले देशभरमा एउँटै शैक्षिक सत्र कायम गर्ने नीति लिएपनि मुस्ताङका बिद्यालयहरुले चालु शैक्षिक नसकिदै बिद्यालय बन्द गर्नु पर्ने समस्या आईपरेको हो । सरकारले देशभरका शिक्षण सस्थाहरुलाई एउटै डालोमा राखेरमा शैक्षिक सत्र कायम गर्दा मुस्ताङसहित १६ वटा हिमाली जिल्लाका बिद्यार्थीको शैक्षिक पठन÷पाठन र सिकाई उपलब्धीमा चुनौती थपिएको छ । चालु सत्र कायम रहने र हिउँदे २ महिना लामो बिदाले बिद्यार्थीले सिकेको सिकाई उपलब्धीमा ह्रास आउने अभिभावकहरुको गुनासो छ । हिमाली जिल्लाहरुमा विगतमा जे अभ्यास थियो सोही अनुरुपमा सरकारले कार्यान्वयनमा ल्याएर हिमाली क्षेत्रका बिद्यार्थीको सिकाई उपलब्धीमा आवश्यक पहलको खाँचो रहेको अभिभावकहरुको माग छ ।


प्रतिक्रिया