जोमसोम - मुस्ताङमा दुईदिने नसर्ने रोगहरुको निःशुल्क स्क्रीनिङ स्वास्थ्य परीक्षणमा ३५३ जना लाभान्वित भएका छन् । मुस्ताङको जोमसोम, ठिनी र मार्फामा बिहिबार र शुक्रबार ४० वर्ष भन्दा माथि उमेरका नागरिकहरुलाई नसर्ने रोगको निःशुल्क स्क्रीनिङ परीक्षण गरिएको हो ।
प्रादेशिक स्वास्थ्य निर्देशानलय (गण्डकी प्रदेश)को आयोजना,मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको समन्वय तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश, प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङ, प्रदेश अस्पताल मुस्ताङ र प्रदेश आयुर्वेद चिकित्सालय मुस्ताङको सहकार्यमा नसर्ने रोगहरुको बृहत स्वास्थ्य परीक्षण सम्पन्न भएको प्रादेशिक स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिनुभयो । उहाँले नसर्ने रोगहरु पहिचान गर्न बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउँनुभयो ।
मुस्ताङमा नसर्ने रोगको पहिचान गरी त्यस्ता समस्या भएका बिरामीलाई उपचारमा सहयोग पु¥याउन उद्देश्यले बृहत्त स्क्रीनिङ परीक्षण गरिएको हो । नसर्ने रोगको स्वास्थ्य परीक्षण अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोममा एक सय २८ जना, ठिनीमा एक सय ९ जना र मार्फा गाउँमा एक सय ६ जनाले नसर्ने रोगको स्क्रीनिङ परीक्षण गराएको प्रादेशिक स्वास्थ्य निर्देशानलयका जनस्वास्थ्य अधिकृत रानभाटले उल्लेख गर्नुभयो । यसैगरी आज मुस्ताङको मार्फामा नर्सेनि रोगको स्क्रीनिङ परीक्षण भईरहेको उहाँले जनाउँनुभयो ।
मुस्ताङको घरपझोङ—४ जोमसोम र घरपझोङ—५ ठिनीमा गरी दुई सय २८ जना नसर्ने रोगको स्वास्थ्य परीक्षणबाट लाभान्वित भएको जनाईएको छ । नसर्ने रोगको बृहत स्क्रीनिङ परीक्षण शिविरमा स्थानीय नागरिकहरुको उत्साहजन सहभागिता रहेको घरपझोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले उल्लेख गर्नुभयो ।
नसर्ने रोगको स्क्रीनिङ परीक्षणको नमूना म्याग्दीको बेनी अस्पतालमा पठाईएको छ । त्यसको रिपोर्ट २ दिनपछि सम्वन्धित व्यक्तिाई उपलब्ध गराएर चिकित्सकीय परामर्श दिईने स्वास्थ्य संयोजक थकालीको भनाई छ ।
नसर्ने रोगको बृहत स्वास्थ्य शिविरमा रगत र पिसापको परीक्षण, उचाई,तौल,ब्लडप्रेसर, मधुमेह, मृगौला,कलेजोको परीक्षण तथा मुटु रोगको जोखिमको स्क्रीनिङ परीक्षण गरिएको हो ।