मुस्ताङको छैरो स्कुलमा १३ प्रकारका शैक्षिक सामाग्री



जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका—१ छैरो स्कुलको प्रारम्भिक बालविकास केन्द्रमा १३ प्रकार ४५ थान सामाग्री आएका छन् । ति सामाग्रीहरु विद्यालयका अध्यक्ष भीमबहादुर रसाईलीको पहलमा गण्डकी प्रदेश सरकारको अनुदानबाट ल्याईएको हो ।

प्रारम्भिक बालविकास केन्द्र(ईसीडी) कक्षाको आवश्यक सिकाई उपलब्धीलाई प्रभावकारी बनाउने उद्देश्यले सो विद्यालयको खरिद समितिले किनेर त्यहाँ ल्याइएको हो । गण्डकी प्रदेशबाट विनियोजन गरिएको २ लाख अनुदानका लागि योगेन्द्र माध्यमिक विद्यालय ,जनहित माध्यमिक विद्यालय र छैरो आवि छैरोले निवेदन पेश गरेका थिए । आवश्यकता र प्राथमिकताको आधारमा उक्त अनुदान छैरो स्कुलले पाएपछि प्रारम्भिक कक्षाका विद्यार्थीको सिकाई उपलब्धीलाई अब्बल बनाउन ति सामाग्री ल्याईएको थियो । खरिद समितिले प्रदेश सिकाई सामाग्री पहिचान स्पेसिकेशन कार्यविधि २०७८ बमोजिम खरिद गरिएको थियो । विद्यालयमा शैक्षिक सामाग्री आएपछि प्रारम्भिक बालविकास केन्द्रको पठन÷पाठनमा निकै सहयोग पुगेको बताईएको छ ।

शुक्रबार छैरो आधारभुत स्कुलको घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले स्थलगत अनुगमन तथा निरीक्षण गरे । अनुगमनपछि भएको छलफल तथा अन्तरक्रियामा सो स्कुलका अध्यक्ष भीमबहादुर रसाईलीले छैरो स्कुललाई नमूना स्कुल बनाउने प्रतिवद्धता जनाए ।  अहिलेकै अवस्थामा पार नलाग्ने उल्लेख गर्दै स्कुलका अध्यक्ष रसाईली शैक्षिक गुणस्तर वृद्धि गर्दै स्कुलको शैक्षिक तथा भौतिक पूर्वाधारमा जोड दिदै चाँडै स्कुललाई आवासिय मोडलमा लैजाने दावी गरे । उनले छैरो स्कुललाई सुविधा सम्पन्न र शैक्षिक प्रभावकारी बनाउँदै एउँटै वडाका ३ स्कुललाई मर्ज गर्न आवश्यक रहेको औल्याए । उनले आगामी आर्थिक वर्षमा विद्यार्थी संख्यालाई दोब्बर बनाएर शैक्षिक पठन÷पाठन सुदृढ तुल्याउने बताए ।

 अध्यक्ष रसाईलीले प्रारम्भिक कक्षा सुधारका लागि प्रदेशबाट आएको २ लाख अनुदानलाई समुचित प्रयोग गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले छैरो स्कुलको शैक्षिक भविष्य उकास्न सबैको सामुहिक प्रयास हुनु पर्नेमा जोड दिए ।

 गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले छैरो स्कुलको शैक्षिक विकासमा स्थानीय सरकार सदैव सकारात्मक रहेको बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारी,उपाध्यक्ष जमुना थकाली, शिक्षा अधिकृत हिमलाल शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

छैरो स्कुलमा हाल २१ जना बालबालिका अध्यनरत छन् । बालविकासमा १० जना, कक्षा १ मा ५ जना, कक्षा २ मा १ जना र कक्षा ३ मा ३ मा ३ जना बालबालिका छन् ।



प्रतिक्रिया