मर्मतपछि खुल्यो (कागबेनी—कोरला) सडक

यहाँका कोरलानाका जोड्ने (कागबेनी—चैले) सडक आईतबार साँझ (भर्खरै) संञ्चालनमा आएको छ ।शनिबार बिहानदेखि सडक मर्मत सुरु गरिएकोमा कागबेनी—कोरला सिधा यातायात सेवा ३६ घण्टापछि संञ्चालनमा आएको हो ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि रकालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला )सडक आयोजनाको सयुक्त पहलमा कागबेनी—कोरला सडक कामचलाउ रुपमा संञ्चालनमा ल्याइएको हो । बिहिबार राति परेको अविरल वर्षाका कारण कागबेनी—कोरला खण्ड अन्तर्गत कागबेनीदेखि चैलेसम्मको करिव १२ किलोमिटर दुरी सडकको एक दर्जन स्थानमा सडक संरचना बिग्रिएको थियो । वर्षाका कारण कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुँदा दर्जनौ सवारी साधन वारागुङ—३ को छुसाङ र चैलेमा अलपत्र परेका थिए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका वडाध्यक्षहरु प्रमेश गुरुङ, कर्मा घ्याचो गुरुङ र बिनोद गुरुङको विशैष पहलमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र आयोजा लगायतले कागबेनी—कोरला सिधा यातायात सेवा संञ्चालनमा ल्याउन सफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

 कागबेनीदेखि २ किलोमिटर उत्तरको कोरला सडकमा साविक सडकको विकल्प तत्कालका लागि करिव एक सय मिटर बढी सडक डाईभर्सन निर्माण गरिएको थियो । अवरुद्ध चैले सडकको भाँसिएको स्थानमा तत्कालका लागि उपकरण प्रयोग गरी माटो फिलिङ गरेर सडक संञ्चालनमा ल्याईएको वारागुङ —१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । अन्य स—साना स्थानका सडकमा पहिरो पन्छ्याएर सडक संञ्चालनमा ल्याइएको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।

 कागबेनी—कोरला सडक पूर्ण रुपमा खुलेसंगै कोरलानाका पुगेर फर्किदा अलपत्र परेका झन्डै एक सय बढी सवारीसाधन गन्तब्यतर्फ प्रस्थान गरेको ईलाका प्रहरी कार्यालय छुसाङले जनाएको छ । यसैगरी कागबेनीतर्फ एक दर्जन बढी सवारी साधन माथि उक्लिएको प्रहरी चौकी छुसाङले उल्लेख गरेको छ ।

वारागुङ मुक्तिक्षेत्र—३ का वडाध्क्ष विनोद गुरुङले कागबेनी—कोरला सडक अस्थायी कामचलाउका रुपमा संञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार कोरला सडक पूर्ण रुपमा खुलाउन आयोजनाको समन्वयमा चार वटा उपरकण एकैसाथ परिचालन गरिएको थियो । अर्का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले तत्कालका लागि हलुका सवारी साधन मात्रै आउजाउ गर्नसक्ने बनाईएको ठुलो मालबाहक सवारीले कोरलानाका आउजाउ गर्न समस्या हुने बताउँनुभयो ।

 यसअघि बिहिबार रातिको अविरल वर्षाले जोमसोम—कागबेनी सडक समेत अवरुद्ध बनेको थियो । जोमसोम कागबेनी सडक मर्मतपछि शनिबार बिहान संञ्चालनमा आएको थियो ।

प्रतिक्रिया