घमी खोला पुल निर्माणमा विलम्व

मुस्ताङ ।

उत्तर÷दक्षिण ब्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजना मार्फत ठेक्का सम्झौता भएको मुस्ताङको लोघेकर दामोदरकुण्ड —२ घमी खोलामा निर्माणधिन पक्की पुल सम्पन्न गर्न विलम्व देखिएको छ । सम्झौता भएको सात वर्ष बितिसक्दा समेत यहाँको पुल सम्पन्न हुन नसकेको हो ।

वि.स. २०७५ साल पुस १६ गते ६ करोड ८० लाख लागतमा निर्माण कम्पनी हिमढुङ ठोक्कर एण्ड ईमोटल जेभीले आयोजनासंग ठेक्का सम्झौता गरेको थियो । तीन वर्ष सुरुवाती ठेक्का सम्झौता भएको यहाँको घमी खोला पुल २०७८ साल पुस ९ गते सम्पन्न भईसक्नु पर्ने थियो। तर, निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण यहाँको पुल सम्पन्न हुन नसकी पटक पटक म्याद थप हुँदै आईरहेको छ ।

एक स्पान मात्रै रहेको यहाँको घमी खोला पुलको लम्बाई ४० मिटर र फुटपाथ र नालीसहित ११ मिटर चौडा हुने गरी ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

 यहाँको पुल निर्माणलाई पूर्णता दिन आयोजनाले निर्माण कम्पनीलाई यसअघि पटक÷पटक ताकेता गरेको भएपनि निर्माण कम्पनीले पुल निर्माणमा अग्रसरता नदिदा यहाँको पुल अलपत्र पर्दैआईरहेको थियो । यहाँ २०७९ साल निर्माण कम्पनीले ठेक्का मोबिलाईजेसन वातप लिएको ७० लाख ५० हजार रुपैया आयोजनालाई फिर्ता लिएको थियो । यहाँ प्रतिकुल मौसम र हिमपातका कारण काम हुन नसकेको जनाउँदै निर्माण कम्पनीले पुलको सम्पन्न अवधि थप गर्दैआईरहेको थियो ।

पछिल्लो समय गत बैशाखमा निर्माण कम्पनीले पुल निर्माणका लागि केही काम अघि बढाएको भएपनि त्यसयताको समयमा कुनै काम अघि बढ्न नसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । बहुचर्चित उत्तरी कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आईसकेको अवस्था रहँदा समेत हालसम्म पुल सम्पन्न हुन नसक्नु दुर्रभाग्य भएको बताउँनुभयो । निर्माण कम्पनीले चाँसो दिएर काम अघि बढाएमा दुई महिना भित्रै पुल सम्पन्न हुने अध्यक्ष बिष्टको भनाई छ ।

 कोरलानाका जोड्ने मुस्ताङको घमी खोला पुलको पछिल्लो भौतिक प्रगति ७५ प्रतिशत पुगेको आयोजनाका सूचना अधिकारी बाबुसाहेब कुमार बैठाले जानकारी दिनुभयो । पुलको दायाँबाया फाउन्डेसन ढलानसहित पुल ढलानका लागि सटिङको काम सकिएको आयोजनाका सूचना अधिकारी बैठाले उल्लेख गर्नुभयो ।

 यहाँको घमी खोला पुलको पछिल्लो थप भएको म्याद समेत सकिएर निर्माण कम्पनीलाई ठेक्का सम्झौता लागतको दैनिक (०.०५) प्रतिशत हुँने गरी दुई सय दिनको म्याद दिईएको सूचना अधिकारी बैठाको भनाई छ ।  जरिवाना रकम तोकिएको म्याद भित्र पनि निर्माण कम्पनीले पुलको काम अघि नबढाएमा  ठेक्का धरौटी तानेर ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाईने उहाँले बताउँनुभयो ।

 यहाँको जोमसोम—कोरला सडकमार्गमा पर्ने अधिकाश शाखा नदीहरुमा पक्की पुल निर्माण भईसकेको भएपनि घमी खोला पुल निर्माण पुरा नहुँदा यसपटक उपल्लो मुस्ताङको कोरलानाका पुगेर मालवस्तु ढुवानी गर्ने कन्टेनर र विद्युतीय सवारीलाई आवतजावतमा समस्या उत्पन्न भएको छ ।


प्रतिक्रिया