वडाको बजेटबाट मुक्तिक्षेत्रमा बिद्युतीय सेन्सर लाईट जडान

जोमसोम— प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको पर्खालसहित  मुक्तिनाथ जाने रेलिङसहितको सिंढी बाटोमा दर्शनार्थीको सहजताका लागि सेन्सर लाईट जडान गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ नं. वडाको बजेटले मुक्तिनाथको त्यहाँ आम्ससहितको विद्युतीय सेन्सर लाईट जडान गरिएको हो ।

वारागुङ मुक्तिक्षेत्र १ का वडाध्यक्ष प्रमेश गुरुङको परिकल्पना अनुसार पवित्र धार्मिक स्थल मुक्तिनाथको सौन्र्दयीकरण तथा त्यहाँ आउजाउ गर्ने दर्शनार्थी भक्तजनको सहजताका लागि उज्यालो मुक्तिनाथ बनाउन बिद्युतीय सेन्सर लाईट जडान गरिएको हो ।


चालु वर्ष वडाको बजेटबाट करिव ५ सय रोपनी क्षेत्रफल रहेको मुक्तिनाथको पर्खाल वरीपरी र त्यहाँसम्म पुग्ने रेलिङसहितको सिंढी बाटोका लागि २ किलोमिटर दुरीमा बिद्युत तारसहित ४५ वटा बिद्युतीय सेन्सर लाईट जडान गरिएको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । यसकार्यका लागि वडाले ४ लाख बजेट खर्च गरेको वडाध्यक्ष गुरुङको भनाई छ ।

मुक्तिनाथ परिसरको चारैतीर साँझको समयमा झिलिमिली उज्यालो मुक्तिनाथ बनाउन र साँझको समयमा दर्शनार्थीलाई पैदलयात्रा सहज गर्न बिद्युतीय सेन्सर लाईट जडान गर्न ठेक्का प्रक्रिया मार्फत काठमान्डौंको रोजी कम्पनीलाई जिम्मा दिईएको थियो । शुक्रबारसम्म मुक्तिनाथ वरीपरी र पैदल हिड्ने बाटोमा बिद्युतीय सेन्सर लाईट जडान सम्पन्न भईसक्ने वडाध्यक्ष गुरुङले जनाए ।

‘विश्वकै महत्वपूर्ण धार्मिक स्थलको संरक्षण ,संम्वद्धन र विकासमा स्थानीय तहको पनि दायित्व रहन्छ, मुक्तिनाथ पावन भूमी मुक्तिनाथ जस्तो हुनुपर्छ ,वडाध्यक्ष गुरुङले भने,‘ मुक्तिनाथ दर्शन गरी फर्किने दर्शनार्थी साँझ पर्दा निकै अप्ठ्यारो हुन्थ्यो,लाईट जडान गरेपछि अब दर्शनार्थी दुर्घटना हुने जोखिम समेत कम हुन्छ ।’ बिद्युतीय सेन्सर लाईटलाई  मुक्तिनाथ परिसरको नरसिंह गुम्बाबाट लाईन तानेर पर्खाल वरीपरी र तल्लो प्रवेशद्धारदेखि मन्दिर प्रवेशद्धारसम्म विस्तार गरिएको हो ।

 संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत मुक्तिनाथ गुरुयोजना ५ वर्षअघि सुरु भएपनि मुक्तिनाथको समग्र भौतिक विकासमा खासै कामहरु हुन सकिरहेको छैन । मुक्तिनाथ मन्दिरको संरक्षण र  विकास अनि व्यवस्थापनको जिम्मा मुक्तिनाथ विकास समितिले लिएको भएपनि समिति निस्क्रिय रहँदा त्यहाँ पुग्ने भक्तजनको सेवासुविधा र आवश्यक पूर्वाधारमा खासै उपलब्धिमुलक कार्यहरु हुनसकिरहेको छैन ।

मुक्तिनाथ मन्दिरमा बर्सेनि लाखौ भक्तजनहरुले चढाएको लाखौं लाख भेटी रकम समिति कोषमा जम्मा हुने भएपनि समितिले मुक्तिनाथ क्षेत्रको विकासमा आर्थिक रकम खर्च गर्न सकेको छैन । समितिले एक जना पुजारी र अर्को कमचारीसहित ५ जना सरसफाईकर्मीलाई तलब भक्ता खुवाउने बाहेक कुनै काम गर्न सकेको छैन । मुक्तिनाथ विकास समितिको कोषमा करिव ८ करोड भन्दा बढी रकम मौज्याद छ ।

यसैगरी वारागुङ मुक्तिक्षेत्र १ ले वडालाई उज्यालो वडा बनाउने योजना अघि बढाएको छ । वडा अन्तर्गत रानीपौवा, खिङ्गा,झारकोट र लुप्रा गरी ४ वटा गाउँ छन् ।

चालु वर्षको बजेटले रानीपौवा र खिङ्गामा बिद्युतीय सेन्सर लाईट जडान गरिएको वडाध्यक्ष गुरुङको भनाई छ । यसकार्यका लागि खिङ्गामा बिद्युत पोलसहित ८ लाख र रानीपौवामा पोलसहित १५ लाख बजेट विनियोजन गरिएको थियो । वडाध्यक्ष गुरुङले आगामी आर्थिक वर्ष झारकोट र लुप्रामा पनि बिद्युतीय सेन्टर लाईट जडान गर्ने योजना रहेको बताए ।



प्रतिक्रिया