जोमसोम
गृह सचिव रामेश्वर दंगालसहितको प्रतिनिधि टोली आईतबार (आज) बिहान कोरलानाका प्रस्थान गरेको छ नेपाल—चीन उत्तरी कोरलानाकाको समग्र वस्तुगत अवस्था अध्ययन गरी कोरलानाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा विकास गर्न गृह मन्त्रालयका गृह सचिव दंगालसहित अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको टोली काठमान्डौंबाट पोखरा हुँदै आईतबार बिहान समिट एयरको जहाजबाट मुस्ताङको जोमसोम आईपुगेको थियो ।
यहाँको कोरलानाकाको वस्तुगत अध्ययन भ्रमणका लागि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा,गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी दिनेश आचार्य र गण्डकी प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआईजी दिपेन्द्र शाह लगायतको टोली सहभागि रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
कोरलानाका भ्रमणको लागि मुस्ताङ आएको गृह सचिव दंगाल र अध्यागमन विभागका महानिर्देशक तिवारी लगायतको टोलीलाई जोमसोम विमानस्थलमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल लगायतको टोलीले स्वागत गरेको थियो । पोखरामा हवाईमार्ग हुँदै जोमसोम आईपुगेको उक्त टोली जोमसोममा केहीबेर विश्राम गरी जोमसोम—कोरला सडकमार्ग हुँदै कोरलानाका प्रस्थान गर्नुभएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउँनुभयो ।
यसअघि नेपाल—चीन कोरलानाकाको अध्ययन अवलोकन भ्रमणमा जोमसोम आईपुगेको टोलीका प्रमुख गृह सचिव रामेश्वर दंगाललाई स्थानीय पत्रकारहरुले भ्रमणको उद्देश्य सम्वन्धमा जिज्ञासा राखेका थिए ।
कोरलानाकाको भ्रमण अघि जोमसोममा स्थानीय पत्रकारहरुलाई जानकारी गराउँदै गृह सचिव रामेश्वर दंगालले नेपाल—चीन बिचको कोरलानाका अन्तराष्ट्रिय नाकाको रुपमा विकास हुँदै गएको र चीनबाट समेत ब्यापारिक मालवस्तुहरु भन्सार मार्फत पैठारी भईरहेको अवस्थामा कोरला स्थित अध्यागमन कार्यालयलाई व्यवस्थित गर्ने र कार्यालयको लागि व्यवस्थित पूर्वाधार निर्माण कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले स्थलगत अध्ययन अवलोकन भ्रमण गरिने योजना रहेको बताउँनुभयो ।
नाकामा अध्यागमन कार्यालय स्थापना भएपनि व्यवस्थित पूर्वाधार नभएकोले अबका दिनमा अध्यागमन कार्यालयलाई व्यवस्थित बनाएर लैजाने र नेपाल—चीन बिचको द्धिपक्षिय ब्यापारलाई अभिवृद्धि गरी नाकालाई पर्यटन मार्गको रुपमा लैजाने गृहकार्य स्वरुप कोरलाको वस्तुगत अवस्थाको विस्तृत अध्धयन अवलोकन गरिने गरी टोली आएको गृह सचिव दंगालले जानकारी दिनुभयो ।
आफुहरुको कोरला भ्रमण भ्रमणका लागि भ्रमण नभई पिक समयका बावजुद यहाँको कोरलानाकामा रहेका भन्सार, अध्यागमन र सुरक्षा क्षेत्रमा देखिने समस्या र चुनौतीलाई समाधानको बाटोतर्फ उन्मुख गर्ने गरी अवलोकन भ्रमण गरिने बताउँनुभयो । खासगरी यसपालि कोरलानाकामा अध्यागमन कार्यालयको स्थायी भवन बनाउने उद्देश्यले त्यहाको अवस्था बुझ्न कोरलानाका प्रस्थान गरिएको बताउँनुभयो ।
जोमसोम स्थानीय पत्रकारहरुले अध्यागमन कार्यालय स्थापना भई संञ्चालनमा आईसकेपनि उपल्लो मुस्ताङ क्षेत्र निषेधित तथा नियन्त्रित क्षेत्र भएकाले कोरलानाकाबाट भित्रिने पर्यटकलाई समस्या र चुनौति रहेको भन्ने सोधिएको प्रश्नमा गृह सचिव दंगालले उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा विदेशी पर्यटकहरुलाई लिईने प्रबेशआज्ञा शुल्क घटाउने बिषयमा गृह मन्त्रालय सकारात्मक रहेको जानकारी दिनुभयो ।
गृह सचिव दंगालले उपल्लो मुस्ताङमा जाने विदेशी पर्यटकहरुलाई ५०० डलर लाग्ने प्रावधानलाई हटाएर दैनिक ५० डलर लाग्ने निर्णय गरी आवश्यक कारवाही अघि बढाईएको र प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँनुभयो । यस्तो व्यवस्था गरिएको अवस्थामा विदेशी पर्यटकहरुलाई कोरलानाकाबाट नेपाल आउजाउ गर्न सहज हुने जनाउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली