मुस्ताङमा कालिगण्डकी अवैंध दोहन नियन्त्रण गर्दै एक्याप

जोमसोम ।

यहाँ स्थित कालिगण्डकी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुने गरेको पाईएको छ । यहाँको थासाङ गाउँपालिका—२ कोवाङ स्थित कालाीगण्डकी नदीबाट अवैंध रुपमा नदी जन्य पदार्थ ढुंगा,गिट्टी र बालुवा उत्खनन गर्दै गरेको अवस्थामा आईतबार जिल्ला प्रशासन कार्यालय मुस्ताङले केही उत्खनन्मा प्रयोग भएका साधनलाई नियन्त्रणमा लिएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसहित सुरक्षा निकायको टोलीले थासाङ क्षेत्रमा नदी जन्य पदार्थ उत्खनन तथा सवारी साधनहरुको स्थलगत अनुगमन गरेको थियो । सोही क्रममा प्रमुख जिल्ला अधिकारी भुसालसहितको अनुगमन टोली थासाङको कोवाङमा नदी जन्य पदार्थ उत्खनन सम्वन्धि अनुमति नलिएको र प्रतिबन्धित याममा नदी उत्खनन् गरेको भन्दै तीन वटा ट्याक्टर र एक जेसीबीलाई तत्कालै नियन्त्रणमा लिएको हो । नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएका ट्याक्टर र जेसीबी साधनलाई नियन्त्रणमा लिएर उक्त साधनका धनीहरुलाई १९ हजार रुपैया जरिवाना गरी पून ः गल्ती नगर्ने शर्तमा छाडिएको प्रजिअ भुसालले जानकारी दिनुभयो ।

यसअघि मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा २ वटा र वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा २ वटा ट्याक्टरलाई एक्याप जोमसोम र सम्वन्धि संरक्षण क्षेत्र व्यवस्थापन समितिले अवैंध रुपमा मुस्ताङ स्थित कालिगण्डकी नदीमा उत्खनन् गरेको अवस्थामा नियन्त्रणमा लिईएको थियो । उनीहरुलाई समितिको निर्णय अनुसार जरिवाना असुली गरी दोहो¥याएर गल्ती नगर्न चेतावनीसहित छाडिएको एक्याप जोमसामका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । सोमबार एक्यापको संरक्षणक्षेत्र व्यवस्थापन समितिले विना अनुमति नदी उत्खनन भईरहेको अवस्थामा २ वटा टिपरलाई कारवाही गरेको छ ।

कालिगण्डकी नदी जन्य प्राकृतिक स्रोत ढुंगा ,गिट्टी,बालुवा उत्खनन्,संकलन र बिक्री वितरणको स्थानीय उपयोग दस्तुरका रुपमा राजश्व संकलन गर्ने अधिकार एक्याप कार्यालय अन्तर्गत सम्वन्धित सरक्षण क्षेत्र व्यवस्थापन समितिलाई अधिकार प्रत्योजन गरिएको छ । संघीय  कानुन र एक्यापको संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ बमोजिम नदीजन्य उत्खनन्,संकलन तथा बिक्री वितरणको अधिकार संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई प्रत्योजन गरिएको हो ।

 यहाँ एक्यापले संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई सम्वन्धि व्यक्तिले कालिगण्डकी नदी जन्य पदार्थ उत्खनन गरेवापत समितिले तोके बमोजिमको राजश्व शुल्क बुझाउँनु पर्ने प्रावधान छ । यसरी समितिलाई राजश्व शुल्क बुझाएपनि मनसुनको महिना असार,साउन र भदौ महिनामा कालिगण्डकी नदी उत्खनन्मा रोक लगाउँने यसअघिकै पुरानो निर्णय विद्यमान छ । तर, मुस्ताङमा बर्खायामको मनसुनको समयमा पनि दिनहु जसो कालिगण्डकी नदी उत्खनन् गर्ने गरेको पाईन्छ । प्रशासन, एक्याप र समितिले नदेख्ने गरी वा नियमको अटेरी गरी मुस्ताङको वारागुङ, घरपझोङ र थासाङ क्षेत्रमा कालिगण्डकी नदी उत्खनन् गर्ने क्रममा चलिरहेको छ ।

 यहाँका बर्खायामको मनसुनको समयमा कालिगण्डकी नदी जन्य उत्खनन् गर्दा कालिगण्डकी नदीले धार परिवर्तन गर्ने र यसले तटीय क्षेत्रको वस्ती जोखिम हुने भएकाले यहाँ प्रशासन र एक्यापले बर्खायामको तीन महिना यहाँ नदी उत्खनन्मा रोक लगाएको हो ।


प्रतिक्रिया