जोमसोम—मुस्ताङमा सडक सुरक्षा उपकरण मर्मत तथा सरसफाई गरिएको छ । जिल्ला ट्राफिक कार्यालय मुस्ताङ र बेनी—जोमसोम—कोरला सडक आयोजनाको संयुक्त टोलीले सोमबार मुस्ताङको घाँसादेखि कागबेनीसम्मको सडकमा राखिएकाउपकरणहरुको मर्मत तथा सरसफाई गरेको हो ।
राष्ट्रिय गौरवको उत्तर÷दक्षिण जोड्ने कोरला सडकमा मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई सम्भावित दुर्घटना हुनबाट बचाउन आयोजनाले मुस्ताङको थासाङ—४ घाँसादेखि वारागुङ मुक्तिक्षेत्र—४ कागेबनीसम्मको सडकमा सडक सुरक्षा उपकरण जडान गरेको थियो । आयोजनाले गतवर्ष मुस्ताङको कालोपत्र सडकमा कन्भेक्स मिरर, मेटल डेलिनेटर र सोलार डेलिनेटर लगायतका विभिन्न सडक सुरक्षा उपकरण जडान गरेको थियो ।
हिमाली जिल्लाको कठिन भुगोलमा निर्माणधिन कोरला सडकखण्ड अन्तर्गत मुस्ताङको घाँसादेखि कागबेनीसम्मको करिव ९० प्रतिशत सडकमा कालोपत्र सम्पन्न भईसकेको छ । कालोपत्र सडकमा सवारी साधनको गति तिब्र हुने र जसका कारण सडक जोखिम निम्तन सक्ने भएकाले ट्राफिक प्रहरीले नियमित सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न कार्यक्रम गर्दैआईरहेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका इञ्चार्ज भुवन क्षेत्रीले जानकारी दिए ।
‘हामीले ट्राफिक सचेतना तथा सडक सुरक्षा उपकरणको मर्मत तथा सरसफाई गरेका छौं, ’ट्राफिक इञ्चार्ज क्षेत्रीले भने,‘ अप्ठ्यारो र घुम्ती सडकमा विपरित दिशाबाट आउने सवारी साधनलाई प्रष्ट देख्न सक्ने कन्भेक्स मिरर (ऐना)हरुको पूर्ण सरसफाई गयौ, बिग्रिएका अन्य सडक सुरक्षा उपकरणको पनि मर्मत सुधार गरेका छौं ।’
ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनिकरण तथा सडक सुरक्षाको प्रर्वद्धनका लागि सडक सुरक्षा सम्वन्धि यसप्रकारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । यस्तै, मुस्ताङ ट्राफिक प्रहरीले यात्रु र सवारी चालकलाई सुरक्षित र जिम्मेवार यात्राका लागि सडक नियमको पालनामा जोड दिन आग्रह गर्दै सडक सुरक्षा उपकरणको मर्मत तथा सरफाई कार्यक्रम गरेको हो ।
मुस्ताङमा जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा प्रहरी र ट्राफिक प्रहरी कार्यालय मुस्ताङले सवारी चालकसंग १ मिनेट र यात्रुसंग २ मिनेट कार्यक्रम सञ्चालन गर्दैआईरहेको छ ।