२१८ वर्ष पुरानो रानीपौवा धर्मशाला स्तरोन्नति सुरु (तस्विरसहित)

मुस्ताङ, २६, जेठ ।

मुक्तिनाथ दर्शन गर्न आउने तिर्थयात्रीहरुको सेवा सुविधाका लागि निर्माण गरिएको मुस्ताङ स्थित वारागुङ मुक्तिक्षेत्र—१ पुराङ रानीपौवाको २१८ वर्ष पुरानो प्राचिन रानीपौवा धर्मशालाको स्तरोन्नति सुरु गरिएको छ । राणा शासनको समय कालखण्डमा तत्कालिन राजा रणबहादुर साहकी माईली श्रीमती सुवर्णप्रभाले मुक्तिनाथ दर्शन गर्ने क्रममा त्यहाँ धर्मशाला निर्माण गरेकी थिईन् ।

रानी सुवर्णप्रभाले परिवारको सुख शान्तिको कामना गर्दै मुक्तिनाथ दर्शन गर्न आउने दर्शनार्थी भक्तजनहरुलाई खान र बस्नको असुविधा नहोस् भन्ने अभिप्रायले त्यहा धर्मशाला स्थापना गरिएको थियो । रानीद्वारा धर्मशाला निर्माण गरिएकाले उक्त स्थानको धर्मशालालाई रानीपौवा धर्मशाला नामाकरण गरिएको हो । प्राचिन शैलीमा ढुंगा र माटोले निर्माण गरिएको दुई तले रानीपौवा धर्मशालामा २१ वटा भक्तजन बासबस्ने कोठाहरु छन् ।


 धर्मशाला निकै पुरानो र जीर्ण हुँदै गर्दा त्यहाँ बासबस्न जाने धार्मिक भक्तजन,साधुसन्त र पुजारीहरुलाई निकै ठुलो समस्या पर्दैआईरहेको थियो । धर्मशाला पुरानो र जीर्ण हुँदै गर्दा भक्तजनको समस्यालाई मध्यनजर गर्दै जगद्गुरु स्वामी कमलनयनाचार्यको पहलमा मुक्तिनाथ स्थित रानीपौवा धर्मशालाका मर्मत सुधार सुरु गरिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र पुरातत्व विभागको लागत साझेदारीमा ७४ लाख बजेट मार्फत मुक्तिनाथ धर्मशाला मर्मत सुधार सुरु गरिएको डोल्मा विल्डर्स प्रा.लि.का प्रोपाईटर रमेश गुरुङले जानकारी दिनुभयो । प्रोपाईटर गुरुङका अनुसार मुक्तिनाथ स्थित रानीपौवा धर्मशालाको साविक सौन्दर्यता नबिग्रिने मर्मत सुधारकार्य भईरहेको बताउँनुभयो ।


मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि बनाईएको रानीपौवा धर्मशालाको लिपपोत,रंगरोगन, शौचालय र बाथरुम , झ्याm ढोका मर्मत सुधारका साथै धर्मशालाको छत माथि काठको फलेक बिच्छ्याएर अलकत्र राखेर वातावरणमैत्री प्लास्टिकसहित सख्खर माटो बिच्छ्याउने काम भईरहेको डोल्पा विल्डर्सका प्रतिनिधि गुरुङले उल्लेख गर्नुभयो । ‘धार्मिक पुण्यकार्यको ठेक्का लिएको हुँ, नाफा भन्दा पनि बजेट अनुसारको गुणस्तर कायम गर्ने पक्षमा छौ’ प्रतिनिधि गुरुङले भन्नुभयो,‘ सम्झौता अनुसार छलकपट नगरी शतप्रतिशत हुने गरी काम गरिरहेको छु , यो मुक्तिनाथको दर्शनार्थीका लागि भएकाले सेवा गर्ने मौका पनि हो ।’

मुक्तिनाथ रानीपौवा धर्मशाला रेखदेख तथा व्यवस्थापनमा खटिएका स्वामी भरत कोईरालाले रानीपौवा धर्मशाला पुरानो र जीर्ण हुँदा तिर्थयात्री ,साधुसन्त र पुजारी लगायतलाई बस्न खान निकै समस्या पर्ने गरेको बताउँनुभयो । ‘धर्मशलाको छत माथिबाट पानी चुहिने गथ्र्यो, शौचालय र बाथरुम समेत निकै जीर्ण थिए’ स्वामी कोईरालाले भने,‘ अब त सम्झौता अनुसार ठेकेदारले राम्ररी काम गर्नुभएको छ, रंगरोगन र मर्मत सुधारको काम तिब्र गतिमा भईरहेको छ । स्वामी कोईरालाले धर्मशालाको आशिंक मर्मत सुधारको कामले यहाँ बाँस बस्न आउने सबैलाई ठुलो राहत मिल्ने बताउँनुभयो ।


मुक्तिनाथ रानीपौवा धर्मशालाको आवश्यक मर्मत सुधार तथा स्तरोन्नतिको काम दुई हप्ता अघिदेखि सुरु भएको हो । धर्मशालाको मर्मत तथा सुधारको काम असार मसान्तसम्म सम्पन्न हुने डोल्मा विल्डर्सले जनाएको छ । विल्डर्सले अहिले रंगरोगन,भित्ता लिपपोत र धर्मशाला माथिको छतलाई स्तरोन्नति गरिरहेको जनाएको छ ।

मुक्तिनाथ स्थित रानीपौवा धर्मशाला रणबहादुर साहकी माईली श्रीमती सुवर्णप्रभाले निर्माण गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुुवेदीले जानकारी दिनुभयो । मुक्तिनाथ क्षेत्रको ६ रोपनी १२ आना क्षेत्रफलमा रानीले प्राचिन शैलीमा भक्तजनको आवास र भोजनको प्रवन्ध मिलाउन धर्मशाला स्थापना गरेको पुजारी सुवेदीको भनाई छ । रानी सुवर्णप्रभा मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने क्रममा ठाउँठाउँमा गुठी जग्गा स्थापना र धर्मशाला निर्माण गरेको र त्यही क्रममा यहाँ पनि रानीले धर्मशाला स्थापना गरेको पुजारी सुवेदीले खुलाउँनुभयो ।

 मुक्तिनाथ रानीपौवा धर्मशालामा बस्ने व्यवस्था गर्न र यहाँ बसेर भोजन गर्न र मुक्तिनाथमा खानेकुरा चढाउन म्याग्दी,पर्वत र स्याङ्जा जिल्लामा अन्नवाली उत्पादन गर्न गुठी जग्गा संरक्षण गर्नुभएको पुजारी सुवेदीले उल्लेख गर्नुभयो । मुक्तिनाथ र धर्मशालाका लागि खाद्यान्न लगायतका अन्नबाली उत्पादन गर्न रानी सुवर्णप्रभाकै पालामा सदावर्त गुठी स्थापना भएको उहाँले जनाउँनुभयो । यसरी गुठीको जग्गा सदावर्त गुठीले रानीपौवा धर्मशालामा चढाउने गरेको उहाँले बताउँनुभयो ।


 मुक्तिनाथ मन्दिर र धर्मशालाको नाममा म्याग्दी ,पर्वत र स्याङ्जामा रहेका गुठी जग्गा ठुलो मात्रामा रैतानेमा परिणत भईसकेको छ भने कतिपय सदावर्त गुठीकै नाममा रहेको छ । मुक्तिनाथ धर्मशालाको सदावर्त गुठीको नाममा रहेको जग्गा कमाउने व्यक्तिले पछिल्लो दुई दशकदेखि अधियाको भागबण्डा अन्नबाली बुझाउन छोडिसकेको पुजारी सुवेदीले बताउँनुभयो । २०४६ सालसम्म म्याग्दीमा उत्पादन भएको सदावर्तको अन्नबाली बुझाउने गरिएको भएपनि त्यसपछि क्रमश जग्गा कमाउने व्यक्तिले अन्नबाली बुझाउने छोडिसकेको बताउँनुभयो ।

प्रतिक्रिया