मुस्ताङको खिङ्गामा ‘यार्तुङ’

’ जोमसोम ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ खिङ्गा गाउँमा स्थानीयले यार्तुङ पर्व मनाएका छन् । बर्खायामको बिदाई र हिउँदयामको स्वागत स्वरुप मनाईने यार्तुङ पर्व सोमबार यहाँको खिङ्गा गाउँमा स्थानीयले हर्षउल्लासका साथ मनाएका हुन् ।

यारको अर्थ बर्खा र तुङको अर्थ समाप्ति भन्ने बुझिन्छ । यसैका कारण बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको प्रतिक रुपमा मनाईने यार्तुङ पर्व यहाँको सांस्कृतिक धरोहरको रुपमा लिने गरिएको छ । बर्खायाममा उवा र जौ लगायतका बाली थन्क्याएर खेतबारीमा फापर छरेरपछि यहाँको स्थानीय कृषकहरु केही फुर्सदिला हुन्छन् । यही फुर्सदिलो समयमा मनाई धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सदिंयौ चल्दैआईरहेको छ ।

यार्तुङ पर्वमा प्रकृति पुजा र विश्वशान्तिको कामना गर्दै मनाईने प्रचलन रहेको वारागुङ मुक्तिक्षेत्र—१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरक फरक तिथिमा यार्तुङ पर्व मनाईने गरिएको छ । यहाँको खिङ्गा गाउँमा औपचारिक रुपमा यार्तुङ पर्व मनाउने क्रमको प्रारम्भ भएको वडाध्यक्ष गुरुङले बताउँनुभयो । यहाँको खिङ्गा गाउँबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ त्यसपछि क्रमश यहाँको सबै स्थानमा गुरुङ,बिष्ट र लोवा समुदायले मनाउँने प्रचलन छ ।

सोमबार(आज) यहाँको खिङ्गा गाउँमा सबै घरधुरीका स्थानीय नागरिकहरु समाजघरमा एकत्रित भएका थिए । समाजघरमा जम्मा भएका स्थानीय गुरुङ समुदायहरु गाउँकै गुम्बामा सामुहिक रुपमा यार्तुङ पर्वको धार्मिक पुजापाठमा उपस्थित भएका थिए । गुम्बामा पुजारीद्वारा पुजापाठ सकेपछि पून समाजघरमा खानपान गरेर यार्तुङ पर्वको कार्यक्रममा सहभागी भएको वडाध्यक्ष गुरुङको भनाई छ ।

 स्थानीय पुरुष तथा महिलाहरुको आफ्नो जातीय मौलिक वेशभूषा पहिरिएर मुक्तिनाथ मन्दिर र त्यहाँको नरसिंह गुम्बाको दर्शनमा निस्किएका थिए । १८ वर्षदेखि ६० वर्षसम्मका पुरुष तथा महिलाहरुले धार्मिक तथा सांस्कृतिक प्रचलन अनुसार यार्तुङ पर्वलाई आत्मसाथ गर्दै खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको यात्रा पुरा गरेका थिए ।

 पुरुषहरु वेशभूषामा चिटिक्क सजिदै घोडामा सवार थिए भने महिलाहरु घोडाको अघिअघि स्थानीय भाषामा यार्तुङ सम्वन्धि गीत गाउँदै मुक्तिनाथतर्फ लागेका थिए ।

महिलाहरुले स्थानीय भाषामा गीत गाउँदै यार्तुङ पर्व आयो, यार्तुङमा सबैलाई राम्रो भयो,अनिष्ठ भएन , प्रकृतिले साथ दिओस र सबैतिर शान्ति छाओस भन्ने कामना गरेको खिङ्गा गाउँकी स्थानीय सेर्केनी गुरुङले उल्लेख गर्नुभयो । यार्तुङमा गाईने स्थानीय भाषाको गीतलाई फेन्दुन छोकी रिला भन्ने गरिएको स्थानीय सेर्केनि गुरुङको भनाई छ ।

 यहाँको खिङ्गा गाउँबाट दर्जनौ घोडाको लावालस्कर सहित निस्किएको टोलीले मुक्तिनाथ मन्दिर र त्यहाँको गुम्बा दर्शन गरी पुराङ रानीपौवामा फर्किएको थियो । खिङ्गा गाउँका युवाहरुले मुक्तिनाथ स्थित पुराङ रानीपौवामा साहसिक रुपमा घोडा दौडाएका थिए । गाउँका पुजारीसहित निस्किएको यार्तुङ टोलीले रानीपौवामा स्थानीय स्याब्रो नाच र स्थानीय भाषाको गीत गाउँदै रमाईलो गरेका थिए । 

स्थानीय याङजुङ गुरुङले यार्तुङ पर्वमा घोडा चढेर मनाउँनै पर्ने प्रचलन रहेको बताउँनुभयो ।‘ यार्तुङमा घोडा नचढेमा यार्तुङ पर्वको कुनै अर्थ हुँदैन, यार्तुङमा घोडा चढ्ने, तारा खेल्ने र स्थानीय सांस्कृतिक मौलिकता पस्किएर मात्रै यार्तुङ पर्वको औचित्य हुने गुरुङले बताउँनुभयो । यार्तुङ पर्वमा गाउँका पुजारीले भोजन गरेपछि मात्रै गाउँले भोजन गर्न पाउँने सांस्कृतिक प्रचलन रहेको उहाँले उल्लेख गर्नुभयो ।

 यहाँको खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको करिव ५ किलोमिटर दुरीमा घोडाका लस्कर निस्किएको थियो । घोडाको लस्कर निस्किदा दुर्घटनाको जोखिम हुने भएकाले करिव एक घण्टा मुक्तिनाथ सडकमा सवारी चलाउन रोक लगाईएको थियो । 


प्रतिक्रिया