मुस्ताङको घरपझोङ गाउँपालिकामा योगाभ्यास सुरु


यहाँको घरपझोङ गाउँपालिका कार्यालयले मंगलबारदेखि नियमित रुपमा कार्यालय खुल्ने समयमा सामुहिक रुपमा योगाभ्यास कार्य सुरु गरेको छ । कार्यालय र सेवाग्राहीको काममा थप जिम्मेवारीपूर्वक उत्तरदायी हुन आजदेखि योगाभ्यास प्रारम्भ गरिएको हो ।

घरपझोङ गाउँपालिका कार्यालय खुल्ने दैनिक समयमा राष्ट्रिय गानपछि पन्ध्र मिनेटको समय सामुहिक योग कार्यक्रमलाई छुट्याईएको हो ।

 योगले यहाँ कार्यरत कर्मचारीको कार्यसम्पादनमा उर्जाप्रदान गर्न र शारिरीक स्फूर्ती वृद्धि गर्न सामुहिक योगाभ्यास गर्ने योजना थालनी भएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउँनुभयो । योगको माध्यमबाट मनलाई स्थीर ,शान्तर शरिरलाई गतिशील बनाएर सकारात्मक भाव सृजना गराउँन टेवा पु¥याउने अध्यक्ष लालचनको भनाई छ ।

यहाँको घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सामुहिक रुपमा योगाभ्यास गराउँनु भएको हो । योगमा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,वडाध्यक्ष एवं वडासदस्य र गाउँपालिकाका कर्मचारीहरुले सहभागिता जनाएका छन् । यसप्रकारको योग कार्यक्रम कार्यालय खुल्ने समयमा दैनिक रुपमा संञ्चालन हुने अध्यक्ष लालचनले बताउँनुभयो ।

मुस्ताङका योग प्रशिक्षक एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुुसालले  सरकारलेनै विगत दुई वर्षदेखि गृह मन्त्रालय अन्तर्गतका सबै कार्यालय तथा अन्य कार्यालयहरुलाई कार्यालय खुल्ने समयमा योगाध्यास गराईनु पर्ने परिपत्र भएको बताउँनुभयो । आध्यामिक योग साधनाले कार्यरत कर्मचारीहरुको कार्यसम्पादनलाई चुस्त बनाउने योगदान पुग्ने बताउँनुभयो । योगले कर्मचारीले गर्ने दिनभरीको काममा सेवाभावले सेवाग्राहीको काममा उत्प्रेरणा वृद्धि गराउँन मद्यत पुग्ने प्रजिअ भुसालको भनाई छ ।

यसप्रकारको ध्यान योग र वार्मवर्क गर्ने कार्य धेरै ठाउँमा कार्यान्वयनमा आईसकेको र त्यसको परिणाम स्वरुपमा यहाँ पनि सुरु गरिएको प्रजिअ भुसालले स्पष्ट पार्नुभयो । मानिसको शारिरीक ,बौद्धिक,मानसिक क्षमताको वृद्धि विकासमा ध्यान योगाभ्यास अपरिहार्य रहेको र यसलाई सरकारले नै सरकार कार्यसम्पादन भित्रै समेट्ने गरी निर्णय भईसकेको प्रमुख जिल्ला अधिकारी भुसालले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया