डेढ दशकदेखि मानवविहिन मुस्ताङको ‘सम्जुङ’ गाउँ

जलवायु संकटले हिमाली जिल्लाहरु धार्मिक,सांस्कृतिक र विभिन्न क्रियाकलापहरुमा प्रत्यक्ष÷ परोक्ष प्रभाव पर्दै जान थालेको छ । जलवायु परिवर्तनकै कारण हिमाली जिल्ला मुस्ताङमा असमान प्रकारको हिमपात हुने र कुनै वर्ष हिउँनै पर्न नसक्ने जस्ता प्राकृतिक प्रकोपको समस्या झेल्नुपर्ने अवस्था विद्यमान छ । जलवायुकै कारण पछिल्लो समय हिमालहरु कालापत्थरमा रुपान्तरण हुँदै थाले भने हिमनदीहरुको स्रोत पनि सुक्दै जान थाले । यसरी जलवायु संकटकै कारण हिमाली जिल्ला क्षेत्रको कृषि र पशुपालन लगायतका क्षेत्रमा यसको नकारात्मक असरहरु देखिन थाल्यो ।

 जलवायु संकटकै यस्तै एउँट पीडाँ थेगिरहेको छ मुस्ताङको सम्जुङ गाउँ । लोमान्थाङ गाउँपालिका—२ मा अवस्थित उपल्लो मुस्ताङको समजुङ गाउँ विगत डेढ दशक अघिदेखि मानवविहिन अवस्थामा छ । त्यहाँ १८ घरधुरी थिए । अहिले त्यहाँ पुरानो शैलीका परम्परागत घरहरु जिवितै छन् ।  सम्जुङमा पूर्ववत अवस्थामा घरहरु यथास्थितीमा रहेपनि त्यहाँका मानिसहरु त्यहाँबाट विस्थापित भईसकेको पनि करिव डेढ दशक भईसकेको छ ।  त्यहाँ बर्खायाममा भेडाच्यांग्रा र याकचौरी चौरी रेखदेख गर्ने केही घरधुरीका कुरुवाहरु बस्ने गरेको पाईएको छ । त्यसबाहेक लोमान्थाङ—२ को सम्जुङ वस्ती मानवविहिन रित्तो अवस्थामा छ ।

 (जोमसोम—कोरला) मुख्य राजमार्ग सडकबाट झन्डै ५ घण्टा पैदल हिडेर पुग्न सकिने मुस्ताङको समजुङ गाउँ भौगोलिक रुपमा निकैनै पीछडिएको र विकट स्थानमा अवस्थित छ । त्यहाँ डेढ दशक अघि स्थानीय घरधुरीले कृषि र पशुपालन व्यवसाय गरी बस्ने गथ्र्ये । त्यहाँ कृषि र पशुपालनमा समस्या देखिन थालेपछि त्यहाँका स्थानीय घरधुरीले वस्ती स्थान्तरणको मार्ग रोजे । जलवायु परिवर्तनकै कारण हिमनदीको स्रोत सुक्दै जान थालेपछि त्यहाँको सिंचाई,खानेपानी र चरनक्षेत्र लगायतमा समस्या पर्न थाल्यो । यसैका कारण जलवायु अनुकुलका लागि त्यहाँका स्थानीय नागरिकहरु त्यहाँबाट बसाईसराईबाटो रोजे ।

निकै अग्लो पठार नांगो डाँडाकाँढाको फेंदमा अवस्थित उपल्लो मुस्ताङको समजुङ वस्तीले जलावायुको संकट थेगिरहँदा त्यहाँका स्थानीय नागरिकलाई दैनिक जिविकोपार्जमा निकैनै ठृलो चुनौतीहरुको सामान गर्न बाध्य भए । यिनै जलवायु संकटले गर्दा सिचाई,खानेपानी र चरनक्षेत्र असहज हुँदा बस्ती रिक्तिन पुगेको हो ।

जलवायु पीडित समजुङ गाउँ कहाँ स¥यो ?

 उपल्लो मुस्ताङ स्थित लोमान्थाङ—२ को समजुङ गाउँ डेढ दशक अघिबाट सोही वडाको नामासुङ भन्ने स्थानमा स्थान्तरित भएको छ । त्यहाँका कुल १८ घरधुरीका पुरै नागरिक नामासुङमा सरेर नयाँ वस्ती निर्माण भईसकेको छ । राष्ट्रिय गौरवको जोमसोम—कोरला मुख्य सडकमार्गदेखि नजिकै छोसर खोलाको पूर्वतर्फको स्थानमा समजुङ वस्ती नामासुङमा स्थान्तरित भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । मुस्ताङी सांस्कृतिक राजा जिग्मे पलवर बिष्टको नाममा रहेको करिव एकसय रोपनी लालपूर्जावाला बाँझो जग्गा जलवायुले विस्थापित वस्ती सम्जुङ गाउँलाई निःशुल्क दान गरेपछि त्यहाँ नयाँ वस्ती बसेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष बिष्टको भनाई छ । त्यहाँ जलवायुले विस्थापित वस्ती समजुङको प्रत्येक घरधुरीलाई ४—४ आना क्षेत्रफलमा टहरा निर्माण गर्ने र बाँकी क्षेत्रफलमा खेती गर्ने सुविधा उपलब्ध भएको अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो ।

मुस्ताङी राजाले आफ्नो स्वामित्वमा रहेको खाली जग्गा समजुङ गाउँलाई उपलब्ध गराइएपछि त्यहाँ १८ वटै घरधुरीले समान आकारको उस्ती प्रकृतिका घरटहराहरु निर्माण गरेका थिए । लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका पूर्व वडाध्यक्ष नवाङकुङ्गा लामा बिष्टको समन्वय र सहकार्यमा त्यहाँ नयाँ वस्ती संरचना निर्माण भएको हो । पूर्व वडाध्यक्ष बिष्टको अनुसार समजुङबाट विस्थापित वस्तीलाई पूर्नरबासको व्यवस्थापन गर्न स्थानीय घरधुरीसंग लागत साझेदारी गरी त्यहाँ घरटहरा निर्माण भई नयाँ बस्ती बसेको हो । त्यहाँ एक स्वीजरल्याण्डको एक संस्थाको ५० प्रतिशत र स्थानीय घरधुरीको ५० प्रतिशत लागत साझेदारी रहने गरी डेढ दशक अघि त्यहाँ बस्ती स्थान्तरण भएको लोमान्थाङ—५ का पूर्व वडाध्यक्ष बिष्टको भनाई छ । बस्ती स्थान्तरणका लागि आफुले व्यक्तिगत रुपमा पहल गरेको वडाध्यक्ष बिष्टले खुलाउँनुभयो ।


 लोमान्थाङ गाउँपालिकाका निमिक्त कार्यालय प्रमुख विकास केसीले जलवायुकै संकटले त्यहाँका कृषि र पशुपालन प्रणालीमा प्रत्यक्ष ÷परोक्ष असर देखिएकाले नामासुङमा बस्ती स्थान्तरण हुन पुगेको बताउँनुभयो । प्राकृतिक स्रोतहरुको अभाव हुँदै जानु र त्यहाँबाट केही सहज स्थानमा बसोबास गर्ने मनसायका कारण त्यहाँका घरधुरी नामासुङमा वस्ती सरेको आफुले बुझेको बताउँनुभयो । नामासुङमा स्थान्तरण भएका घरधुरीहरु कहिलेकाँही सम्जुङ गाउँमा पशुचौपाय लिएर जाने र त्यहाँको गोठमा गएर बस्ने गरेको लोमान्थाङका निमिक्त प्रशासकीय अधिकृृत केसीले उल्लेख गरे ।  नयाँ स्थान्तरण भएको वस्ती नामासुङ पुग्न जोमसो—कोरला सडकमार्गबाट १५ मिनेटको पैदल हिडेर पुग्न सकिने उहाँले बताउँनुभयो ।———





प्रतिक्रिया