कागबेनी—कोरला सडकको १० स्थानमा पहिरोले सडक अवरुद्ध

 निरन्तरको वर्षाका कारण यहाँको कागबेनी—कोरला सडकको १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहिबार राति परेको निरन्तर वर्षाका कारण कागबेनी—कोरला सडकका दर्जनौ स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको छ । शनिबारदेखि उपल्लो मुस्ताङमा विद्युत तथा संञ्चार सेवा समेत प्रभावित बनेको छ ।

 कोरला सडकखण्डको कागबेनीदेखि छुसाङखण्ड सम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीहरुमा लेदोसहितको बाढीले संडक संरचना क्षतविक्षेत भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । प्रजिअ भुसालले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भएपनि तत्काल सडक संञ्चालन नहुँने बताउँनुभयो ।

यहाँको कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र—३ स्थित चैलेसम्मको दुरीमा पर्ने दर्जनौै स्थानमा अविरल वर्षा हुँदा सडक माथिबाट लेदोसहितको पहिरो खसेर शुक्रबार बिहानदेखिनै सडक अवरुद्ध भएको प्रजिअ भुसालको भनाई छ ।

राष्ट्रिय गौरवको कागबेनी—कोरला सडकखण्ड अन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दुरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएर सडक संरचना पुरै ध्वंस्त हुन पुगेको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । कागबेनी—ताङ्वे सडकखण्डमा चार स्थान भन्दा बढी सडक अवरुद्ध रहेको वडाध्यक्ष गुरुङको भनाई छ । यसैगरी कोरला सडकको ताङ्वेदेखि छुसाङखण्डमा आधा दर्जन भन्दा बढी स्थानमा अविरल वर्षाले सडक संरचनामा क्षति पुगेको बताईएको छ । ताङ्वेदेखि छुसाङ खण्डको ताङ्वे खोलामा लेदोसहितको बाढीले सडक संरचना पुरै बगाएको छ ।

यस्तै, वर्षाका कारण वारागुङ मुक्तिक्षेत्र स्थित मुस्ताङ गेड माथिको चैलै सडकमा करिव ३५ मिटर बढी सडक पहिरोका कारण सडक संरचना ध्वंस्त भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउँनुभयो । उक्त सडकमा डिलबाट वाल निर्माण गरी फिलिङ गरिएको सडकमा पहिरोका कारण सडक लस्किएर क्षति भएको प्रहरी नायब उपरीक्षक लामाले बताउँनुभयो ।

शनिबार मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसहित सुरक्षाकर्मीको टोलीले वर्षाले अवरुद्ध कागबेनी—छुसाङ सडकखण्डको स्थलगत अवलोकन गरेको छ । यहाँको सडकलाई आवश्यक मर्मत गरी सडक खुलाउन तीन वटा उपकरण परिचालित रहेको प्रजिअ भुसालले बताउँनुभयो ।यता , कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाले सडक सूचारु गराउनका लागि भएका स्रोतसाधन परिचालन गरिने बताएको छ । आयोजका अनुसार स्थानीय व्यक्तिको दुई वटा उपकरण र म्याग्दी खण्डमा एक लोडर सम्वन्धित स्थानमा पुगिसकेको जनाएको छ ।

कागबेनी—छुसाङ सडकखण्डको ठाउँठाउँमा सडक संरचना ध्वंस्त भएका कारण तत्काल सडक संञ्चालन हुने अवस्था नरहेको वारागुङ—४ का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले जानकारी दिनुभयो , शनिबारदेखि कोरला सडक मर्मतकार्य सुरु भएका भएपनि धेरै ठाउँका सडकमा बाढीपहिरोले क्षति भएकाले सडक खुलाउन केहीदिन लाग्ने बताउँनुभयो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले कागबेनी—कोरला सडक अवरुद्ध रहेकाले तत्काल त्यसतर्फ यात्रा नगर्न अनुरोध गरेको छ । यहाँका सडक ठाउँ ठाउँमा भयावह रुपमा क्षति भएकाले सडक संञ्चालनमा समय लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि बिहिबार रातिको अविरल वर्षाका कारण तीन स्थानमा सडक क्षति हुँदा जोमसोम—कागबेनी सडक अवरुद्ध भएको थियो । यहाँ शनिबार बिहानै स्थानीय प्रशासनको पहलमा डोजर परिचालन गरी पहिरो पन्छ्याएर सडक संञ्चालनमा ल्याईएको थियो । जोमसोम—कागबेनी सडक २४ घण्टापछि संञ्चालनमा आएसंगै मुक्तिनाथ दर्शन गर्ने दर्शनाथीहरुका लागि सहज भएको जनाईएको छ ।

प्रतिक्रिया