कोरलानाका डिप बोरिङ प्रविधिबाट खानेपानी उत्पादन

यहाँको (नेपाल—चीन)उत्तरी कोरलानाकामा डिप बोरिङ प्रविधिद्वारा खानेपानी उत्पादन गर्ने लक्ष्य पुरा भएको छ । लोमान्थाङ गाउँपालिकाद्वारा सुरु गरिएको कोरलानाकामा खानेपानीको उत्पादन तथा परीक्षण अन्नतः सफल भएको छ ।

समून्द्री सतहको (४६१०) मिटरको उच्चउचाईमा अवस्थित (नेपाल—चीन) कोरलानाकाको दशगजा क्षेत्रमा सुख्खा पठार क्षेत्र हो । यही सीमावर्ती क्षेत्रको ट्रान्जिट प्वाईन्ट २४ नं. सीमास्तम्भ नजिकै डिप बोरिङ खानेपानी उत्पादन तथा परीक्षणको शिलान्यास गरिएको थियो । लोमान्थाङ गाउँपालिकाले यसप्रयोजनका लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार भ्याटसहित करिव ३० लाख बजेटबाट डिप बोरिङ खानेपानी उत्पादनको ठेक्का सम्झौता गरेको थियो । खानेपानीको उत्पादन तथा परीक्षणको जिम्मा एसियन कन्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी दोलखा लिएको थियो ।

कोरलानाकाको सुख्खा पठारक्षेत्रमा जमिनमुनिबाट भूमिगत पाईपलाईन जडान गरेर डिप बोरिङ प्रविधिद्वारा खानेपानीको उत्पादन तथा परीक्षण सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्साले जानकारी दिनुभयो ।नाका क्षेत्रको सुख्खा पठारको जमिन खनेर पाईपलाईनद्वारा नौ दिनको प्रयासमा खानेपानीको उत्पादन तथा परीक्षण सफल भएको प्रमुख प्रशासकीय अधिकृत लम्सालको भनाई छ । यसप्रकारको कोरलानाकामा डिप बोरिङ प्रविधिबाट निकालिएको खानेपानी उत्पादनले त्यसक्षेत्रका स्थानीय ब्यापारी तथा पर्यटकहरुलाई बाह्रै महिना राहत पुग्ने जनाईएको छ । हिउँदयामको प्रतिकूल मौसम र हिमपात हुँदाको अवस्थामा समेत डिप बोरिङ प्रविधिबाट निकालिने यसप्रकारको खानेपानीको उत्पादन र आवश्यकतालाई कुनै असर नपु¥याउने प्रमुख प्रशासकीय अधिकृत लम्सालको भनाई छ ।

 कोरलानाकामा खानेपानीको सफल परीक्षण तथा उत्पादन भएसंगै नेपालमा सबैभन्दा बढी उच्चस्थानमा डिप बोरिङ प्रविधि प्रयोग गरी खानेपानीको उत्पादन भएको दावी गरिएको छ । नाकामा खानेपानी उत्पादन भएसंगै स्थानीयबासीमा खुसीयाली छाएको छ । आईतबार यहाँको नेपाल—चीन कोरलानाकाको दशगजा क्षेत्रमा डिप बोरिङद्वारा खानेपानी उत्पादन भएसंगै सेलिब्रेसनका लागि लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु कोरलानाका पुगेका थिए । पहिलो पटक सो स्थानमा वर्षौवर्षदेखिको खानेपानीको समस्या समाधान हुने देखिएपछि कोरलानाकामा ब्यापार गरी बस्ने ब्यापारीहरुमा निकै उत्साह छाएको छ ।

यसअघि कोरलानाका ब्यापारी गरी बसेका करिव ८० वटा त्रिपाल ब्यापारीहरुले खानेपानीका लागि सीमापारी चिनको सहयोग माग्नु पर्ने थियो भने अर्को विकल्पमा नाकादेखि दक्षिण १६ किमी यता लोमान्थाङ—१ न्हेचुङबाट ट्र्याक्टर मार्फत खानेपानीको ढुवानी गर्नुपर्ने बाध्यता थियो । नाकामा खानेपानीको उत्पादन हुन थालेसंगै त्यहाँका ब्यापारीहरु,पर्यटक र नेपाल—चीन आयात÷निर्यात गर्ने ब्यापारी तथा चालकहरुलाई निकै ठुलो राहत पुगेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।

 यहाँको डिप बोरिङ प्रविधिबाट निकालिएको खानेपानीको सम्वन्धित निकायमा लगेर प्राविधिक ल्याव परीक्षण गरिने बताईएको छ । यसैगरी खानेपानी उत्पादन भईसकेकाले यसको पूर्वाधार निर्माण तथा प्रशोधन लगायतका कार्यहरुको व्यवस्थापन गरिने योजना रहेको लोमान्थाङ गाउँपालिकाले जनाएको छ ।

 कोरलानाकामा खानेपानीको उत्पादन भएसंगै कोरलानाका क्षेत्रमा शौचालयको प्रयोग र सरसफाई लगायतका कार्यहरुमा खानेपानी उपयोग हुनेछ ।नाकामा खानेपानीको उत्पादनले सरकारी स्तरबाट निर्माण गरिने भन्सार,अध्यागमन,सुरक्षा पोस्ट,सुख्खाबन्दरगाह लगायतका एकिकृत सुरक्षा पोस्ट निर्माणमा सहयोग पुग्नेछ । कोरलानाकाको दशगजा क्षेत्रमा सरकारले भन्सार लगायतका एकिकृत सुरक्षा पोस्ट निर्माण गर्ने लक्ष्यसहित एक हजार रोपनी जग्गा सरकारको नाममा लालपूर्जा प्राप्त भईसकेको छ ।

प्रतिक्रिया