घरपझोङमा संञ्चालित २ बस पार्कको ठेक्का सम्झौता ७ महिनामै भंग


जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाले संञ्चालनमा ल्याएको २ वटा बस पार्कको ठेक्का सम्झौता तोडेको छ । घरपझोङ गाउँपालिकाको आईतबार बसेको कार्यपालिका बैठकले २ बसपार्क ठेक्का लिने दोश्रो पक्षले सम्झौता शर्त अनुसार पटक÷पटक लिखित ताकेता गर्दा समेत  भाडा बुझाउन नसकेको उल्लेख गर्दै बस पार्क ठेक्का सम्झौता  रद्द गरेको जनाएको छ ।

यसअघि मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत वडा नं. ३ र ४ मा निर्माण सम्पन्न भएको २ बस पार्क संञ्चालन तथा व्यवस्थापनका लागि २०८० ।०८। १२ गते सिलबन्दी दरभाउपत्रको सूचना प्रकाशित गरेको थियो । प्रकाशित गाउँपालिकाको सूचना अनुसार ठेक्का सम्झौता गर्दा घरपझोङ—४ का स्थानीय सुरेश शेरचनले वार्षिक २० लाख २५ हजार गाउँपालिकालाई बुझाउने शर्त बमोजिम बस पार्क संञ्चालन तथा व्यवस्थापनको ठेक्का आफ्नो पोल्टोमा पारेका थिए । 

त्यस समय बस पार्क ठेक्का लिने स्थानीय शेरचनले घरपझोङ बसपार्क संञ्चालन तथा व्यवस्थापन सम्वन्धि कार्यविधि २०८० बमोजिम ३ महिनाको बसपार्क भाडा अंग्रिम बुझाउनु पर्ने र  ३ महिना कटेपछि चौथो महिनामा भाडा नबुझाएमा गाउँपालिका आफैले ठेक्का सम्झौता रद्द गर्न सक्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सोही सम्झौता बमोजिम २ वर्षका लागि बसपार्क ठेक्का लिएका शेरचनले सुरुवाती ३ महिनाको  एकमुष्ट भाडा धरौटी स्वरुप ५ लाख ५ हजार २२५ रुपैया र सम्झौता अवधि २ वर्षको भाडाको ५ प्रतिशत हुन आउने रकम २ लाख २ हजार ५ सय रुपैया गरी  ७ लाख ८ हजार ७५० रुपैया गाउँपालिकालाई बुझाएका थिए ।

 २०८०।१२।१५ गते घरपझोङमा अवस्थित २ बसपार्कको व्यवस्थापन तथा संञ्चालनको गर्ने गरी दुई पक्षिय सम्झौता भएको थियो । गाउँपालिकाले बसपार्क संञ्चालन तथा व्यवस्थापनका लागि न्यूनतम पूर्वाधारको व्यवस्थापन गर्ने र बसपार्क सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने भनीएको थियो । यसै प्रयोजनार्थ गाउँपालिकाले बसपार्क कार्यान्वयनलाई प्रभावकारी बनाउन २ जना नगरप्रहरी समेत करारमा भर्ना गरेको थियो । गाउँपालिकाका कर्मचारी,जनप्रतिनिधि,प्रहरी ,प्रशासन,यातायात व्यवसायी र आम सरोकारवालाहरुबिच पटक पटक छलफल तथा अन्तरक्रिया समेत भएको थियो । यतिसम्मकी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी लगायतको टोली बसपार्क कार्यान्वयनका लागि यातायात व्यवसायीसंग सहजीकरण तथा आफै फिल्डमा खटिएर लागेका थिए । गाउँपालिकाले ठेक्का सम्झौता गर्ने व्यक्तिकोे माग अनुसार बिद्युत ,सिसी क्यामेरा र खान्ेपानी लगायतका पूर्वाधार समेत गाउँपालिकाले व्यवस्थापन गरिदियो ।

घरपझोङका २ बसपार्कको आवश्यकीय भौतिक संरचना निर्माण तथा बसपार्क संञ्चालन तथा व्यवस्थापका सेवा सुविधाको पहुँच स्थापित गाउँपालिकाले गरिदिदा समेत ठेक्का सम्झौता गर्ने व्यक्ति शेरचनले नियमित रुपमा  बस पार्क संञ्चालन गर्न पहल नगरेको गाउँपालिकाको भनाई छ । त्यसो त ठेक्का सम्झौता गर्ने व्यक्ति शेरचनले बसपार्क संञ्चालन तथा व्यवस्थापन कार्यविधिका शर्त अनुसार ३ महिना कटेर लामो समय बितिसक्दा समेत पटक पटक ताकेता गर्दा पनि त्यस उपरको भाडा गाउँपालिकामा दाखिला नगरेको उल्लेख छ ।

गत चैत्र १५ गतेदेखि लागु हुने बसपार्कको ठेक्का लिएका शेरचनले रितपूर्वक बसपार्कको भाडा अपडेट नगरेको उल्लेख गर्दै बस संञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० को बुदाँ ५ मा उल्लेख भएअनुसार  गाउँकार्यपालिकाको बैठकले आईतबार दोश्रो पक्षसंग सर्वसम्वत ठेक्का सम्झौता रद्द गरेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । उनले बसपार्क कार्यान्वयनमा सम्वन्धित व्यक्तिले उचित चाँसो नदिएको र  भाडा पनि नबुझाएकाले पूर्व बसपार्क ठेक्का सम्झौता रद्द गर्नु परेको उल्लेख गरे ।

घरपझोङले  २ वर्षका लागि ठेक्का लगाएकोमा ७ महिना नबित्दै बसपार्कको ठेक्का सम्झौता रद्द भएको हो । गाउँपालिकाको अभिलेख अनुसार बसपार्क ठेक्का लिएका शेरचनले गत चैत्र १५ देखि हालसम्मको बुझाउनु पर्ने भाडा  १० लाख ४० हजार ६२५  र १० प्रतिशत जरिवाना रकम गरी कुल ११ लाख ४४ हजार ६८८ रुपैया देखिन्छ । उक्त रकममा ठेक्कावाला शेरचनले ठेक्का सम्झौता वापत बुझाएको ७ लाख ८ हजार ७५० बाट असुल उपर गर्ने र अपुग रकम ४ लाख ३५ हजार ९३८ रुपैया कानुन बमोजिम असुल उपरको प्रकृया बढाउने गाउँपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । उनले ठेक्कावाला व्यक्तिसंग विभिन्न माध्यमबाट भएपनि बाँकी वक्यौता गाउँपालिकाले उठाउने बताए ।

यता , घरपझोङको २ बसपार्कको ठेक्का लिएका स्थानीय शेरचनले २०८१।०५।०६ गते एकपक्षिय रुपमा आफुले ठेक्का सम्झौता रद्द गरेको स्वघोषणा पत्र गाउँपालिकामा पेश गरेका थिए । बसपार्क ठेकेदार शेरचनले गाउँपालिकाले ठेक्का सम्झौता अनुसार गाउँपालिकाले बसपार्कका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनमा असहयोग गरेको आरोप लगाएका छन् । उनले  बस पार्क संञ्चालन तथा व्यवस्थापनका लागि आफुहरुलाई गाउँपालिकाले असहयोग गरेको र त्यसले गर्दा आर्थिक क्षति हुन पुगेको स्वघोषणा पत्रमा उल्लेख गरेका छन् । उनले बसपार्कको जिम्मा आफुले लिएको तर गाउँपालिकाको असहयोगलाई आर्थिक क्षति भएको र त्यसको क्षतिपूर्ती गाउँपालिकाले व्यवहोर्नु पर्ने पत्रमा उल्लेख गरेका छन् ।

घरपझोङ ३ एक्लेभट्टीमा गाउँपालिका आफैले  ४८ लाख लागतमा बसपार्क निर्माण गरेको थियो । घरपझोङ —४ जोमसोममा  सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले एकिकृत पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ५० वटा बस अट्ने क्षमताको बसपार्क निर्माण गरेको थियो ।  झन्डै ३ करोड बढी लागतमा निर्माण भएको जोमसोम बसपार्क सघन सहरी विकास तथा भवन निर्माण कार्यालय बाग्लुङले घरपझोङ गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।

यही २ बसपार्कलाई समुचित रुपमा संञ्चालन तथा व्यवस्थापन गर्ने र सदरमुकाम जोमसोमको अव्यवस्थित पार्किङलाई व्यवस्थित तुल्याउने गरी गाउँपालिकाले २ बसपार्क ठेक्का लगाएको थियो । बसपार्क ठेक्का लगाएपछि विभिन्न सवारी साधनको पार्किङ शुल्क तय गरिएको थियो भने बसपार्क भित्र आधा दर्जन यातायात व्यवसायीका टिकट बुकिङ काउन्टर स्थापना गरिएको थियो ।

 गाउँपालिकाले २ बसपार्कको ठेक्का रद्द गरेसंगै सदरमुकाम जोमसोममा सवारी  व्यवस्थापन थप चुनौती बनेको छ । 


प्रतिक्रिया