मुस्ताङबाट १८८ र मनाङबाट ४० जना परीक्षार्थीले एसईई दिने



जोमसोम—बिहिबारदेखि सुरु हुँने माध्यमिक  शिक्षा परीक्षा (एसईई)मा मुस्ताङबाट १८८ जना र मनाङबाट ४० जना परीक्षार्थी सहभागी हुँने भएका छन् । यसवर्ष एसईईमा मुस्ताङबाट नियमित, प्राविधिक धार र खुल्ला गरी १८८ जना र मनाङबाट नियमित ३७ जना र खुल्ला ३ जना गरी ४० जना एसईईको खुल्ला परीक्षामा सामेल हुँदैछन् ।


हिमाली जिल्ला मुस्ताङको जोमसोम स्थित जनहित माविमा एक मात्र एसईई परीक्षा केन्द्र तोकिएको छ भने हिमाली जिल्ला मनाङमा लोकप्रिय मावि चाँमेमा एक मात्र परीक्षा केन्द्र तोकिएको छ । मुस्ताङमा ८ सामुदायिक,१ निजी र २ धार्मिक विद्यालयलका गरी १८८ जना परीक्षार्थी एसईई परीक्षामा सामेल हुँने शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङका सूचना अधिकारी चन्द्रसिंह बिकले जानकारी दिए ।

उहाँका अनुसार एसईई दिने जिल्लाका ११ विद्यालय मध्ये जनहित मावि जोमसोमबाट १७ जनाले सवईन्जिनीयर र जनआर्दश अमरसिंह माध्यमिक विद्यालय कोवाङबाट ४० जनाले कृषिधारको बिषयमा रहेर एसईई परीक्षा दिने सूचना अधिकारी बिकले उल्लेख गरे । यसैगरी जनहित माध्यमिक विद्यालय जोमसोमबाट ८ जना परीक्षार्थीले खुल्ला परीक्षा दिने तयारी भईरहेको छ ।


जनहित मावि जोमसोमबाट ५१ जना,जनआदर्श अमरसिंह माविबाट ३४, दिव्यदीप माविबाट ११ जना, ज्ञानोदय माविबाट २१ जना,जनवाल माविबाट ८ जना,योगेन्द्र माविबाट १० जना, जनशान्तिबाट ६ जना,धौलागिरी बोर्डिङबाट २९ जना,नालान्दा बुद्धिस्ट स्कुलबाट १३ जना,जननर्मल माविबाट २ जना र पाल नाम्ग्याल गुम्बा स्कुलबाट ३ जना परीक्षार्थीले एसईई परीक्षा दिने शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङका सूचना अधिकारी बिकले बताए ।


 एक मात्र एसईई परीक्षा केन्द्र रहेको मुस्ताङमा सुरक्षाकर्मी बाहेक एक जना केन्द्राध्यक्ष,२ जना सहायक केन्द्राध्यक्ष,८ जना निरीक्षक र १ जना कर्मचारी गरी १२ जना जनशक्ति परीचालन हुने जनहित मावि केन्द्रका केन्द्राध्यक्ष कर्णबहादुर थकालीले जानकारी दिए । उनले एसईई परीक्षालाई मर्यादित  र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै तयारी पुरा भईसकेको बताए ।

यसैगरी यसवर्ष हिमाली जिल्ला मनाङबाट  ३ वटा विद्यालयका २३ जना परीक्षार्थीले एसईई दिने शिक्षा विकास तथा समन्वय ईकाई मनाङका कार्यालय प्रमुख मोती चपाईले जानकारी दिए । लोकप्रिय माध्यमिक विद्यालय चामे केन्द्रबाट नियमिततर्फ ३७ र खुल्लातर्फ ३ जनाले एसईई परीक्षामा सहभागी हुँने समन्वय ईकाई प्रमुख चपाईको भनाई छ ।


मनाङमा यसवर्ष एकै परिवारका आमा छोराले नियमित र खुल्ला परीक्षा दिन लागेको मनाङका समन्वय ईकाई प्रमुख चपाईले जनाए । त्यहाँ लोकप्रिय माविका छोरा १६ वर्षीय परीक्षार्थी जयबहादुर थापा र सोही विद्यालयबाट खुल्लातर्फ आमा ४२ वर्षीया राधा थापाले यसवर्र्षको एसईई परीक्षा दिन लागेका हुन् ।


मनाङमा यसवर्षको एसईई परीक्षाका लागि सबै तयारी पुरा भईसकेको समन्वय ईकाई मनाङका प्रमुख चपाईले जानकारी दिए । उनका अनुसार मनाङको चामे एसईई परीक्षा केन्द्रका लागि १ जना केन्द्राध्यक्ष,१ जना सहायक केन्द्राध्यक्ष,२ जना निरीक्षक र १ जना कर्मचारी गरी ६ जना जनशक्तिलाई परीक्षा संञ्चालन गर्न तयारी अवस्थामा राखिएको उनले बताए ।

देशभरका ७७ जिल्ला मध्ये सबैभन्दा कम मनाङ र त्यसपछिको कम मुस्ताङ जिल्लाबाट यसवर्ष एसईई परीक्षामा विद्यार्थी सामेल हुँदैछन् ।



प्रतिक्रिया