मुस्ताङमा सुरु भयो चुनावी रौनक

जोमसोम ।

 मुस्ताङमा हिउँदयामको चिसोसंगै कठाङ्ग्रिएको चुनावी माहोल विस्तारै तातिन थालेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन दुई हप्ता बाँकी रहँदा मुस्ताङमा विस्तारै चुनावी चहलपहल सुरु हुन थालेको हो ।

गत माघ ६ गते उम्मेदवारी दाखिला गरेका विभिन्न राजनीतिक दलका उम्मेदवारहरु मतदाता रिझाउन बेसीमै व्यस्त रहेपनि अहिले केही राजनीतिक दलका उम्मेदवारहरु गृह जिल्ला फर्किन थालेका छन् । हिउँदयामको जाडो छल्न जिल्लाका अधिकाँश मतदाता बेसीमा झरेका कारण यसअघि मुस्ताङमा चुनावी माहोल शून्य प्राय थियो । 

निर्वाचनको मिति नजिर्किदै गर्दा मुस्ताङमा उम्मेदवारी दाखिला गरेका केही उम्मेदवार उकालो उक्लिन थालेका हुन् । बेसीमै रहेका अन्य राजनीतिक दलका उम्मेदवारहरु पनि विस्तारै उकालो उक्लिन क्रममा रहेको बताईएको छ । मुस्ताङमा उम्मेदवारी दाखिला गरेका उम्मेदवार मध्ये हालसम्म चार राजनीतिक दलका उम्मेदवारले मुस्ताङमा पहिलो चरणको  घरदैलो अभियान सक्काएका छन् । यहाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा), मंगोल नेशनल अर्गानाईजेशन,उज्यालो नेपाल र आम जनता पार्टीका उम्मेदवारले घरदैलो गरेका थिए ।

 यतिबेला नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ (टाईगर)ले मुस्ताङको थासाङ गाउँपालिकाबाट आफ्नो चुनावी घरदैलो अभियान थालेको बताउँनुहुन्छ ।  उम्मेदवारी दर्ता गराएपछि पुरै एक महिना बढी पोखरा÷काठमान्डौंमा रहेका मुस्ताङी मतदाताहरुलाई भेटघाट गरेपछि जिल्लामै रहेका मतदातालाई भेट्न  तल्लिन रहेको उम्मेदवार गुरुङले उल्लेख गर्नुभयो । यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. सुरेन्द्र शेरचनले पनि माथिल्लो मुस्ताङमा चुनावी घरदैलो सकेर काठमान्डौं फर्किएको बताउँनुभयो । मुस्ताङका मतदाताहरु पोखरा÷काठमान्डौं लगायतका स्थानमा रहेकाले त्यहाँका मतदातालाई आफ्ना एजेन्डा र पार्टीको घोषणा पत्र लिएर पुगिसकेको बताउँनुभयो । काठमान्डौंमा पार्टीको चुवानी कार्यक्रम भएकाले बेसी झरेको भएपनि एक दुईदिनमै फेरी जिल्लामै फर्किएर निर्वाचन प्रचार÷प्रसार अभियानमा जुट्ने बताउँनुभयो ।

 यसैगरी मुस्ताङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली, नेकपा (एमाले)का उम्मेदवार ईन्द्र धारा ढाडु बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीय चन्द्र थकाली र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमला लालचन पनि बेसीमा रहेका मतदातालाई भेटघाट गरिसकेको र केहीदिनमा जिल्ला फर्किएर निर्वाचन प्रचार÷प्रसार अभियानले अघि बढाउने जनाएका छन् ।

हिउँदयामको मौसममा निर्वाचनको कार्यक्रम परेकाले यसपालि मुस्ताङमा चुनावी माहोल ढिलो गरी सुरु भएको हो । पुस र माघ महिनामा अत्यधिक चिसो र हिमपातको जोखिम हुने भएकाले मुस्ताङ नागरिकहरु बर्सेनि जाडो छल्न बेसी झर्ने परम्परा छ । बेसी झरेका कतिपयले बेसीमै बसेर घुम्ती ब्यापार व्यवसाय चलाउने गरेका हुन्छन् । विगतका वर्षहरु झै यसपटक पनि माथिल्लो मुस्ताङका दुई पालिकामा ८० प्रतिशत बढी मतदाताहरु बेसी झरेका छन् । तल्लो मुस्ताङमा पनि ५० प्रतिशत बढी मतदाता बेसी झरेका छन् ।

 निर्वाचनको मिति नजिकिएसंगै मुस्ताङबाट जाडो छल्न बेसी झरेका मतदाताहरु विस्तार उकालो उक्लिन थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।बेसी झरेका तल्लो मुस्ताङीहरु फागुन लागेपछि जिल्ला फर्किन्छन् । माथिल्लो मुस्ताङका मतदाताहरु भने गर्मीयाम सुरु हुने समय चैत÷बैशाख महिनामा मात्रै साविकको स्थानमा फर्किन्छन् । तर, यसपालि फागुन २१ गते निर्वाचन भएकाले माथिल्लो मुस्ताङीहरु पनि जिल्ला फर्किने योजनामा रहेको बताईएको छ ।

 मुस्ताङमा निर्वाचनको माहोल नगर्मिए पनि यहाँ स्थित जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन कार्यालय र जिल्ला सुरक्षा समिति लगायतले फागुन २१ गतेको आन्तरिक निर्वाचन तयारीलाई तीब्रता दिईरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । निर्वाचन तयारीका लागि हालसम्म पाँच वटै स्थानीय तहका मतदानस्थलहरु मध्ये ९० प्रतिशत मतदानस्थलहरुको स्थलगत अवलोकन गर्ने कार्य सकिएको उहाँले जनाउँनुभयो । 

‘ यहाँका केही मतदान स्थलहरु उच्च उचाई र भौगोलिक विकट स्थानमा रहेका छन्, केही मतदान स्थलमा सडक खुलाउन बाँकी छ, जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले भन्नुभयो,‘ मौसमले साथ दिएमा निर्वाचन सम्पन्न गराउन केही अप्ठ्यारो पर्दैन, मौसम प्रतिकूल भएको अवस्थामा निर्वाचन आयोगको निर्देशन अनुसार काम गछौं ।’

मुस्ताङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला सुरक्षा योजना तयार भईसकेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि चार वटै सुरक्षा निकायहरु परिचालित भईसकेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ ।

 मुस्ताङका ३९ वटै मतदान स्थलको निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट २३५ जना प्रहरी र २६६ जना निर्वाचन प्रहरी गरी ५०१ जना सुरक्षाकर्मी परिचालित गरिदै छ । सशस्त्र प्रहरीबाट सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी २०० बढी सुरक्षाकर्मी खटाईदै छ । माथिल्लो मुस्ताङमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना गरिएको छ भने नेपाल—चिन सिमाना छोसेरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रहेको छ । तल्लो क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको ३३ गुल्मले निर्वाचन सुरक्षा दिने जनाईएको छ ।

 यसैगरी नेपाली सेनाले पनि माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङ गरी दुई स्थानमा निर्वाचन सुरक्षा बेस स्थापना गरिसकेको छ । यहाँ नेपाली सेनाले दैनिक सुरक्षा गस्ति गरिरहेको छ ।

  आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका ३९ मतदान स्थलहरुमा २४० जना कर्मचारी र ८६ जना स्वंयसेविक खटाईने भएको छ ।


प्रतिक्रिया