दशै अगावै कोरलामा ईमिग्रेसन कार्यालय स्थापना हुने

 धमाधम सीमापार पास वितरण गर्दै प्रशासन


जोमसोम— उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको (नेपाल—चीन) कोरलानाकामा दशै अगावै अध्यागमन कार्यालय (ईमिग्रेसन) स्थापना गर्ने तयारी गरिएको छ । नेपाल पक्षको कोरलानाकाको २४ नं. सीमास्तम्भ यता नेपाल सरकार अध्यागमन विभागले छिमेकी देश चिन आउजाउ तथा व्यापारिक कारोबार संञ्चालनका लागि कोरलामा ईमिग्रेसन स्थापना गर्ने तयारी गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । 

यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले कोरलानाकामा ईमिग्रेसन स्थापना गर्न गृह मन्त्रालयलाई पटक पटक पत्रचार गर्दैआईरहेको थियो । ‘हामीले गृह मन्त्रालयलाई कोरलानाकामा ईमिग्रेसन राख्नपुर्छ, यसले नेपाल—चीन पक्षलाई ब्यापारिक आर्थिक कारोवार गर्न सहज पुग्छ भनेर लिखित पत्रचार ग¥यौं,प्रजिअ पन्तले भने,‘ हामीले राखेको प्रस्तावमा मन्त्रालय सकारात्मक देखिएको छ । सकभर चाडै हुन्छ,नत्र दशै अगावै त्यहाँ ईमिग्रेसन कार्यालय बस्छ ।’

 मुस्ताङको उत्तरी क्षेत्र कोरलानाकामा ईमिग्रेसन कार्यालय स्थापना गर्ने तयारी गरिएको भएपनि कहिले स्थापना हुन्छ भन्नेमा विभागले मिति उल्लेख गरेको छैन । नाकामा ईमिग्रेसन कार्यालय स्थापनापछि किनमेलका लागि चिन जाने नेपाली नागरिकहरुको अभिलेख तथा आयात तथा निर्यात गर्ने सामानको अभिलेखिकरण हुने प्रजिअ पन्तले बताए । 

कोरलानाकामा गतवर्ष गण्डकी प्रदेश सरकार अन्र्तगत पूर्वाधार विकास कार्यालयले कोरलानाकामा ६ कोठे भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको थियो । सोही भवनमा ईमिग्रेृसन,एपिएफ र नेपाल प्रहरीलाई व्यवस्थापन गरिने प्रजिअ पन्तको भनाई छ ।‘कोरलानाकामा हाम्रो पूर्ण भौतिक संरचना बनेको छैन, तत्कालका लागि दिउँसोको समयमा त्यही अस्थायी ६ कोठे भवनमा र साँझ त्यहाँ रहने कर्मचारी र सुरक्षाकर्मी नेचुङमा झर्नेछन््,’प्रअिज पन्तले भने,‘ नेचुङ—कोरला  आउजाउ गर्ने गरी कार्यालय संञ्चालन र आवासको व्यवस्थापन मिलाउनेछौं ।’ कोरलानाकामा ईमिग्रेसन कार्यालय स्थापनापछि क्वारेन्टाईन  तथा अन्य पूर्वाधारको व्यवस्था मिलाईने प्रजिअ पन्तले सुनाए ।

 कोभिडको समयमा लगातार ४ वर्षसम्म ठप्पै रहेको कोरलानाका चीनले एकतर्फी रुपमा बन्द गरेको थियो । कोरलानाका गत वर्षको पुस २७ गते औपचारिक रुपमा उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकलाई खुल्ला गरिएको थियो । जिल्ल प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङका दुई गाउँपालिकाका नागरिकलाई मात्रै सीमापार पास वितरण गर्दैआईरहेकोमा चालु वर्षदेखि मुस्ताङका अन्य पालिकाका नागरिकलाई पनि पास वितरण गर्न सुरु गरेको प्रजिअ पन्तले जानकारी दिए । प्रजिअ पन्तका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको समन्वयमा स्थानीय नागरिकलाई सीमापार पास वितरण सुरु गरिएको हो । वारागुङमा १ सय र घरपझोङमा १ सय गरी २ सय जनालाई पास वितरण भएको बताए । थासाङ गाउँपालिकालाई पनि सीमापार पास वितरणका लागि समन्वय गर्न सूचना दिईसकेको प्रजिअ पन्तले स्पष्ट पारे ।

 नेपाल —चीन कोरलानाका औपचारिक रुपमा संञ्चालन भएपछि करिव २ हजार ५ सय भन्दा बढी नागरिकले सीमापार पास लिईसकेको जनाईएको छ । जिल्ला प्रशासन कार्यालयले छपाई गरिसकेको सीमापार पासको बुकलेट सीमित रहेको नयाँ छपाई गर्न बजेटको समस्या परेको जनाइएको छ । सीमापार पासको नयाँ बुकलेट छपाई भएमा मुस्ताङी नागरिकलाई पास वितरण गर्न कुनै समस्या नहुने उल्लेख गरे ।

नेपाल—चीन कोरलानाकाको चिनिया बजारबाट  मुस्ताङले खाद्यान्न,लत्ताकपडा,कस्मेटिक,स्थानीय धर्मसंस्कृति अनुसार आवश्यक पर्ने सामान र ईलेक्ट्रोनिक उकपरण आदी आर्यात गर्ने गर्छन । नाका व्यवस्थित रुपमा संञ्चालन भएमा चिनबाट भेडाच्यांग्रा आदी आयात हुने जनाईएको छ । नेपाल पक्षले नेपाली बजारमा पाईने मालसामान तथा स्थानीय कृषि तथा घरेलु उत्पादन सामाग्री निर्यात गर्ने गरेका छन् । कोरलानाकाको दश गजा यता करिव १६ किमी दुरीमा नेचुङ भन्सार कार्यालय र सुरक्षाकर्मी बस्छन् ।



प्रतिक्रिया