पूख्र्यौली च्यांग्रा पालन व्यवसाय धानेका मार्फाका सन्तोष

जोमसोम ।

गएको मंसिर २६ गते राति यहाँको घरपझोङ गाउँपालिका—२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र पछाडी स्थानीय च्यांग्रा पालक किसान सन्तोष परियारको गोठमा हिउँ चितुवाले २२ वटा च्यांग्रा क्षति बनायो । च्यांग्रा गोठमा नयाँ च्यांग्रा थपेर संख्या बढाउँने मनसायले लोमान्थाङबाट खरिद गरी ल्याईएका च्यांग्रा हिउँ चितुवाले मारेपछि च्यांग्रा पालक किसान परियार निकै दुःखी छन् ।

सन्तोषले रत्तिभर सोचेका थिएनन्की गाउँ वस्ती भित्रकै च्यांग्रा गोठमा हिउँ चितुवाले च्यांग्रा मारिदिन्छ भन्ने ।  बेलाबेलामा आएर गोठको च्यांग्राको निगरानी गररहेका थिए ।  हिउँ चितुवाले च्यांग्रा मारेपछि परियारलाई रु.  ६ लाख बराबरको घाटा भयो । हुर्किसकेका ति च्यांग्राहरु माथिल्लो मुस्ताङबाट प्रति गोठा ३० हजार मुल्य तिरेर परियारले खरिद गरेका थिए । च्यांग्रा पालेर व्यवसायिक आयआर्जन गर्छु भन्ने सोचेका परियारले पूर्खाले अपनाएको पुरानो च्यांग्रा पालन व्यवसाय संकटमा पर्ने होकी भन्ने चिन्तामा परेका छन् । हिउँ चितुवाले क्षति बनाएपछि यहाँको घरपझोङ गाउँपालिकाले राहत स्वरुप ४० हजार रुपैया परियारलाई उपलब्ध गरायो । एक्याप कार्यालयले पनि वन्यजन्तु क्षति राहतका लागि पहल गरेको छ ।

यहाँको मार्फा निवासी च्यांग्रा पालक किसान सन्तोष परियार यसअघि सन् २००५ मा वैदेशिक रोजगारका लागि मलेसिया गएका थिए । तर, विदेशी भूमीमा मरिमरी ज्यान फालेर काम गर्दा समेत परियारले पैसा संञ्चय गर्न सकेनन् । फलतः परियार सन् २००८ मा मेलेसियाबाट  आफ्नै गाउँ मार्फा फर्किएका थिए ।

 त्यसो त परियारका बुवाले पनि च्यांग्रा पालन व्यवसाय अपनाउँदै आईरहेका थिए । विदेशी भूमीबाट रित्तो हात फर्किएका परियारले आफ्नै पुख्यौली व्यवसाय च्यांग्रा पालनलाई अघि बढाए । बुवाको च्यांग्रा गोठ हुँदै गर्दा परियारले बुवाबाट च्यांग्रा पालन गर्ने तरिका सिक्नु भएको थियो । बुवाको च्यांग्रा गोठ थाँती राखेर परियारले अलग्गिर बेग्लै मार्फा व्यवसायिक च्यांग्रा फार्म स्थापना गर्नुभयो । सुरुआती २०÷२५ वटा च्यांग्रबाट व्यवसाय सुरु गरेका परियारको गोठमा अहिले २०० भन्दा बेसी च्यांग्रा छन् । च्यांग्रा पालक परियार भन्छन् ,‘ विदेशमा तीन वर्ष बसेर चेत खाईयो, आफ्नै देश र गाउँ ठाउँमा बसेर बुवाकै पुख्यौली व्यवसाय च्यांग्रा पालन गरेर बस्न उचित लाग्यो, परियार भन्नुहुन्छ, बुवाको च्यांग्रा गोठ अलग्गै छ, मेरो पनि अलग्गै गरेको छु, यही व्यवसाय मेरा लागि प्यारो भईसक्यो ,यही बसेर च्यांग्रा पालन व्यवसायमा रमिरहेको छु ।’

विदेशमा पैसा कमाउने सपना बोकेर डेढ दशक अघि विदेश भाँसिएका सन्तोष गाउँ फर्किएर लोभलाग्दो च्यांग्रा पालन व्यवसाय गरेर आत्मसन्तुष्टी लिएर आयआर्जन गर्नु भएको छ । विदेशमा जान करोडौं करोड लगानी चाहिने भएकाले बरु त्यो रकम यही यस्तै व्यवसायमा लगानी गर्दा बेस होला भनी च्यांग्रा पालन व्यवसाय अगाडी बढाएको परियारको भनाई छ । विदेशबाट फर्किएर च्यांग्रा पालन व्यवसाय सुरु गरेका परियारले साविक पशु विकास कार्यालयबाट दुई लाख रुपैया पुरस्कार र पशु नश्ल सुधारका लागि बोका पाएको बताउँनुभयो ।

 च्यांग्रा पालक किसान परियारले गोठमा भएका च्यांग्रा रेखदेख गर्न एक जना गोठालालाई वाािर्षक २ लाख ५० हजार तलब दिएर खटाएका छन् । परियार आफु पनि च्यांग्राको रेखदेख र व्यवस्थापनमा खटिने गरेको बताउँछन् । च्यांग्रा पालन गरेर पाठापाठी उत्पादन,कृषिका लागि मल उत्पादन र च्यांग्रालाई वयस्क बनाएर बिक्री वितरण गर्ने गरेको किसान परियारले उल्लेख गर्नुभयो । ‘एकचौटी ठुलो भाग खोज्नु हुँदैन, विस्तारै गर्दागर्दै हुने हो, परियार भन्नुहुन्छ , ‘च्यांग्रा पालेर कृषिका लागि मलको व्यवस्था भएको छ ,पाठापाठी पनि उत्पादन हुन्छ, चाडपर्वको बेला गोठमा भएका वयस्क च्यांग्रा मासुका लागि पनि बिक्री गर्ने गरेको छु ।’ 

हिमाली संस्कृति,सभ्यता र परम्परा रहेको यहाँ सदिंयौंदेखि चल्दैआईरहेको याकचौरी र भेडाच्यांग्रा पालन व्यवसाय यहाँको सांस्कृतिक तथा जैविक धरोहर भएकाले यसको संरक्षण संम्वद्धन र पुस्थान्तरण हुन आवश्यक रहेको परियारको भनाई छ । व्यवसाय गर्दा नाफा घाटा दुबै हुने भएकाले एकैपटक हिउँ चितुवाले ठुलो संख्यामा च्यांग्रा क्षति भएपनि आफु विचलित नभएको परियार बताउँछन् । यहाँको उच्चलेंक तथा खर्क र गोठमा पालिएका च्यांग्राहरुलाई कसरी व्यवस्थित गरी संरक्षण गर्ने भन्ने चिन्ता थपिएको उहाँले सुनाउँनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत पर्ने मुस्ताङका उच्चलेंकमा पालन गरिएका याकचौरी र भेडाच्यांग्रा हिउँ चितुवा, जंगली ब्वाँसो र जंगली कुकुरको  जोखिमले च्यांग्रा पालन व्यवसाय गर्न कठिन बन्दै गईरहेको परियार बताउँनुहुन्छ । हिउँ चितुवाको खर्क र बस्तीमा रहेका गोठमा पसेर च्यांग्रा मारिदिने घटनाले यहाँको  च्यांग्रा पालन व्यवसायनै संकटमा पर्न थालेको परियारको भनाई छ ।

 पछिल्लो समय जलवायु परिवर्तनको असरले अनुकुल समयमा हिउँ नपर्ने,बेमौसमी वर्षा र अतिवृष्टि हुने र उच्चलेंक र वस्तीका चरनक्षेत्रमा घाँस पलाउन नसक्दा चरनक्षेत्रको अभाव हुने गरेको उहाँको भनाई छ । अनुकुल समयमा हिउँ परेमा चिस्यान हुने र बर्खायाममा पर्याप्त मात्रामा घाँस पलाउने परियारले जनाउँनुभयो । पछिल्लो केहीवर्ष यता मुस्ताङमा अनुकुल समयमा हिउँ नपर्दा चरनक्षेत्र खुम्चिदै जान थालेको परियारले बताउँनुभयो ।

 मुस्ताङका उच्चलेंकमा बर्खायाममा जिल्ला बाहिरका विकासे भेडाबाख्रा चराउन ल्याउँदा यहाँका च्यांग्रा पालकलाई घाँसको अभाव हुने गरेको बताउँनुभयो । चरनक्षेत्रमा पर्याप्त घाँस नहुने र जिल्लाबाहिरबाट बाख्रा चराउन ल्याउने परिपाटीले गर्दा गोठका च्यांग्रा हुर्काउन दाना र घाँस किनेर खुवाउनु पर्ने बाध्यता रहेको परियारको भनाई छ ।

च्यांग्रा पालक परियारले पछिल्लो केहीवर्ष यता चाईनाबाट भेडाच्यांग्रा ल्याएर लोकल च्यांग्रा भनी बिक्री गर्ने गरेकाले आफुहरु जस्ता किसानलाई मर्का पर्ने गरेको बताउँनुभयो । च्यांग्रा पालन गर्दा थोरै लगानी भएपनि पुग्ने र पाठापाठीहरु हुर्काउन सके र वन्यजन्तुको जोखिमबाट सुरक्षित राख्न सकेमा च्यांग्रा पालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने परियारको भनाई छ ।

 यहाँको परम्परागत संस्कृति र जैविक विविधताको संरक्षण गर्ने हो भने यहाँका याकचौरी र च्यांग्रा पालन किसानका समस्या र चुनौतिहरुलाई सरोकारवाला निकायहरुले गहन ढंगले सोच्नुपर्ने बेला आएको बताउँनुभयो । यहाँका पाँचै स्थानीय तहका पशुपालक किसानहरुलाई वन्यजन्तुले सास्ती दिने गरेका यस्को दीर्घकालिन समस्या समाधान गर्न सरोकारवालाहरुले ध्यान दिनुपर्ने परियारको भनाई छ ।

यहाँको चरनक्षेत्रको संरक्षण, गोठ सुधार र च्यांग्रा पालनको जोखिम न्यूनिकरण गर्न आवश्यक उपकरण लगायतको व्यवस्थापन गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । मुस्ताङमा हिउँ चितुवा पीडित किसानलाई क्षति राहत स्वरुप आशिंक पैसा दिएर मात्रै समस्या समाधान नहुने परियारको भनाई छ ।


प्रतिक्रिया