धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङका पर्यटकीय पदमार्गहरुको मर्मत तथा स्तरोन्नतिकार्यलाई तीब्रता दिईएको छ ।राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र एक्याप लोमान्थाङले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जीर्ण पर्यटकीय पदमार्गहरुको मर्मत तथा स्तरोन्नतिका साथै नयाँ पर्यटकीय पदमार्ग निर्माणमा जोड दिएका हुन् ।
कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक तथा शाखा सडक लगायतका पूर्वाधार निर्माणले यहाँका कतिपय पर्यटकीय पदमार्गहरु मासिंदै जान थालेका छन् । सडकको पहुँच र अन्धाधुन्द सडक विस्तारले यहाँका कतिपय पर्यटकीय पदमार्गहरु क्षति भई मासिने क्रममा रहेको पाईएको छ ।
पर्यटकीय पदमार्गको संरक्षण,विकास र प्रर्वद्धन गर्दै यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्याउने र सदिंयौदेखि प्रयोग भई आएका पर्यटकीय पदमार्गहरुको महत्व झल्काउन उद्देश्यका साथ पछिल्लो समय एक्याप जोमसोम र लोमान्थाङले यहाँका पाँचै वटा पालिकाहरुमा पर्यटक लक्षित पदमार्गहरुको मर्मत तथा स्तरोन्नतिकार्य गर्दैआईरहेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका—४ पैरोथाप्लादेखि वारागुङ मुत्तिक्षेत्र—३ छुसाङसम्म कार्यक्षेत्र रहेको एक्याप जोमसोम कार्यालयले चालु आ.व. २०८२÷०८३ का लागि ११ वटा पर्यटकीय पदमार्गहरुको मर्मत तथा स्तरोन्नतिकार्यमा ३२ लाख ६० हजार रुपैया विनियोजन भएको जनाएको छ । एक्याप जोमसोम कार्यक्षेत्रका ११ वटा पर्यटकीय पदमार्ग मध्ये तीन वटा सम्पन्न भईसकेको र अन्य पर्यटकीय पदमार्ग मर्मत तथा स्तरोन्नतिको अन्तिम चरणमा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । प्रमुख गुप्तका अनुसार यहाँको थासाङ ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका पर्यटकीय पदमार्गहरुको संरक्षण,प्रवद्र्धन र विकास गर्ने उद्देश्यले पदमार्गहरुको पदमार्ग चौडा गर्ने,सरसफाई गर्ने,जोखिममा रहेका पर्यटकीय पदमार्गहरुमा छप्पनी ढुंगा बिच्छ्याउने, पदमार्ग उकास्क ग्याविन वाल र रेलिङ लगाउने लगायतका कार्यहरु भईरहेको छ ।
एक्याप जोमसोमले चालु आ.व.मा यहाँको चोेखोपानीदेखि सौरु जोड्ने पदमार्ग, भुतर्छो ताल वरिपरी परिक्रमा गर्ने पदमार्ग,चिमाङ गाउँ भित्र जाने पदमार्ग,सौरुदेखि सिर्खुम जाने थाङ्मे डाँडा पदमार्ग र टिटीदेखि लुप्साङ खर्क जाने पदमार्गहरुको मर्मत तथा स्तरोन्नति गरिरहेको छ ।थासाङको छयोदेखि टिटी ताल जाने नयाँ बैकल्पिक पदमार्ग, झिप्रा देउरालीदेखि प्याचु पदमार्ग स्तरोन्नति भईरहेको कार्यालय प्रमुख गुप्तले बताउँनुभयो ।
यसैगरी घरपझोङ गाउँपालिका अन्तर्गत सम्ले गाउँ भित्र जाने पदमार्ग र नमखुलेंकदेखि तिलिचो ताल जाने पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिएको छ ।
यस्तै, यहाँको वारागुङ मुक्तिक्षे गाउँपालिका अन्तर्गत मनाङबाट आएका विदेशी पर्यटकहरुका लागि थोरङफेदीदेखि छेङ्गुर झर्ने पर्यटकीय पदमार्ग र मुत्तिनाथ रानीपौवा पुराङदेखि झारकोट गाउँ भित्रसम्मको पुरानो पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नतिकार्यलाई तीब्रता दिईएको प्रमुख गुप्तले बताउँनुभयो ।
एक्याप जोमसोमले अघिल्लो वर्ष यहाँको पर्यटकीय पदमार्गहरुको मर्मत तथा स्तरोन्नतिकार्यका लागि २७ लाख ९० हजार बजेट छुट्याएको थियो । उक्त बजेट अनुसार थासाङ गाउँपालिकाको कालोपानीदेखि धुलोडाँडासम्मको नयाँ पर्यटकीय पदमार्ग निर्माणसहित ६ वटा पर्यटकीय पदमार्गहरुको मर्मत तथा स्तरोन्नति सम्पन्न गरेको थियो ।
अन्नपूर्ण संरक्षित क्षेत्र अन्तर्गत यहाँको एक्याप लोमान्थाङले पनि पर्यटकीय पदमार्गहरुको मर्मत सुधार तथा स्तरोन्नतिकार्यमा जोड दिईरहेको छ । यसका लागि चालु आ.व.मा पदमार्ग मर्मत तथा स्तरोन्नतिकार्यका लागि १४ लाख बजेट बिनियोजन भएको कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । एक्याप लोमान्थाङले यसवर्ष छुसाङदेखि तेताङ पदमार्ग,ताङ्ग्यादेखि पा पदमार्ग, छोसेरदेखि कोन्जोलिङ पदमार्ग र मराङदेखि लोमान्थाङ जोड्ने पर्यटकी पदमार्गहरुमा मर्मत तथा स्तरोन्नति कार्य भईरहेको प्रमुख पौडेलको भनाई छ ।
यसैगरी गतवर्ष एक्याप लोमान्थाङले वारागुङ मुक्तिक्षेत्र—३ समरमा अवस्थित गिद्ध अवलोकन पदमार्ग र समर गुफा जाने पदमार्ग निर्माण गरेको जनाएको छ । यसैगरी वारागुङ—३ चैलेदेखि घ्याकर हुँदै समर निस्किने पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नतिकार्य सम्पन्न भईसकेको एक्याप लोमान्थाङले जनाएको छ । गतवर्ष ५ दशमल ५ किमी पदमार्गको स्तरोन्नति भएको प्रमुख पौडेलले जनाउँनुभयो । पछिल्लो तीन आ.व.मा माथिल्लो मुस्ताङमा २० किमी दुरीमा पदमार्ग मर्मत तथा स्तरोन्नति भएको प्रमुख पोडेलको भनाई छ ।
उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकहरुले यहाँको सडकमार्ग भन्दा पर्यटकीय पदमार्गहरुमा पदयात्रा गर्न रुचाउने गरिएको भएपनि विदेशी पर्यटकहरुका पथप्रर्दशकहरुले आफुलाई सहजता हुने गरी पदमार्ग छोेडेर सडकमार्गबाट यात्रा गराउने गरेको पाईएको छ । पदमार्गको महत्व पदमार्गको औचित्यता र गाम्भिर्यतालाई कुण्ठित हुने गरी सडकमार्गबाट यात्रा गराउँदै पर्यटकीय पदमार्गहरु ओझेलमा पर्न सक्ने कार्यालय प्रमुख पौडेलको भनाई छ ।
राष्ट्रिय गौरवको कोरला सडक विस्तारका कारण यहाँका कतिपय पर्यटकीय पदमार्गहरुलाई सडक सञ्जालले छोएको छ भने कतिपय स्थानमा क्षति भएको छ । सडकसंगै जोडिएका पर्यटकीय पदमार्गहरुमा यात्रा गर्ने पर्यटकहरुलाई हाईअल्टिच्युडका कारण लेंक लाग्ने र अन्य समस्या देखिएको अवस्थामा तत्कालै उद्दारकार्य गराउन सहज हुने गरेको छ ।पछिल्लो समय अन्धाधुन्द सडक विस्तारले कतिपय पर्यटक पदमार्गहरु संकटासन्न अवस्थामा पुगेको पाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता