मुस्ताङको घरपझोङमा रैथाने बाली प्रर्वद्धन गरिने


जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकामा रैथाने बाली प्रर्वद्धनात्मक कार्यक्रम संञ्चालन गरिने भएको छ । रैथाने बाली प्रर्वद्धन कार्यक्रम २०८०/०८१ का लागि घरपझोङ गाउँपालिकाले  रैथाने बाली प्रर्वद्धन कार्यक्रम संञ्चालन गर्ने तयारी गरेको छ ।

संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,कृषि शाखा विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधिकरण संरक्षण केन्द्र मार्फत विनियोजित बजेटबाट रैथाने बाली प्रर्वद्धन कार्यक्रम संञ्चालन गरिने भएको हो । यसका लागि गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत बेदहरी अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले रैथाने बाली प्रर्वद्धन कार्यक्रमलाई कार्यान्वयनमा लैजाने बताईएको छ ।

केन्द्रको सर्शत बजेट ५ लाख यो कार्यक्रम कार्यान्वयन गर्न विनियोजन भएको हो । गत वर्षको बजेटले रैथाने बाली ब्लक कार्यक्रमसहित अन्य कार्यक्रम गरिएको थियो । गाउँपालिकालाई यसप्रकारको कार्यक्रम संञ्चालन गर्न गत वर्ष १० लाख बजेट विनियोजन भएकोमा चालु वर्ष जम्मा ५ लाख मात्र बजेट परेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए ।

घरपझोङका किसानलाई रैथाने बाली प्रर्वद्धनमा आर्कर्षित गराउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिन यो कार्यक्रम संञ्चालनमा आएको हो । घरपझोङमा रैथाने बाली अन्तर्गत उवा,फापर र जौ खेतीलाई प्रर्वद्धन गरिने कार्यक्रम रहेको कृषि अधिकृत थकालीको भनाई छ ।

रैथानी बाली संरक्षण तथा प्रर्वद्धन कार्यक्रम अन्तर्गत यसवर्ष रैथाने बालीको प्रचार,प्रसार र सचेतना,रैथाने बालीको महत्व,प्रशोधन मूल्य अभिवृद्धि एवं परिकार विविधिकरण तथा बजारिकरणमा सहयोग,विद्यालय फिल्ड जीन बैंक स्थापना, रैथाने बाली संरक्षणको लागि उत्कृष्ट कृषक सम्मान र पुरस्कार र ब्लकमा आवद्ध कृषकलाई मागमा आधारित रोगकिरा नियन्त्रण लगायतका कार्यक्रम गरिने छ ।

कार्यक्रम अन्तर्गत रैथाने बाली परिकार विविधिकरण तालिम तथा प्रर्दशनी,कोशेली घर संञ्चालन सहयोग ,होमस्टे मार्फत रैथाने बाली एवं परिकार प्रर्वद्धन र ब्राण्डिङमा सहयोग गरिने घरपझोङ कृषि शाखाले जनाएको छ ।


प्रतिक्रिया