मुस्ताङमा सरकारी कार्यालयको खर्च दुई अर्ब ४६ करोड

चालु आव २०८२/०८३ का लागि हिमाली जिल्ला मुस्ताङमा दुई अर्ब ४६ करोड ३ लाख १४ बढी बजेट खर्च भएको छ । चालु आवको साउनदेखि जेठ १५ गतेसम्म मुस्ताङ जिल्लाका संघीय तथा प्रादेशिक कार्यालयहरुले कुल तीन अर्ब ८० करोड ३० लाख बजेट विनियोजन भएकोमा ६४ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।

यहाँका कोष तथा लेखा नियन्त्रक शालिकराम सापकोटाका अनुसार मुस्ताङमा संघीय तथा प्रदेश कार्यालय गरी चालुतर्फ दुई अर्ब ६१ करोड ८८ लाख बजेट विनियोजन भएकोमा  एक अर्ब ७८ करोड ३१ लाख बढी खर्च भएको हो । यो संघ तथा प्रदेशको चालुतर्फको कुल विनियोजन भएको बजेटमा ६८ प्रतिशत खर्च हो । यसैगरी पुँजिगततर्फ  एक अर्ब १८ करोड ४१ लाख रहेकोमा ६७ करोड ८१ लाख खर्च भएको हो ।यो संघ तथा प्रदेश कार्यालयले समग्रतामा ५७ प्रतिशत बजेट खर्च गरेका कोष नियन्त्रक सापकोटाले जानकारी दिनुभयो । 

 चालु आर्थिक वर्ष २०८२/०८३ का लागि मुस्ताङमा २३ वटा संघीय कार्यालयहरुले चालुतर्फ ७२ प्रतिशत र पुँजिगत विकासतर्फ ७४ प्रतिशत बजेट साँढे दश महिना अवधिमा खर्च गरेका हुन् । कोष नियन्त्रणक सापकोटाका अनुसार यहाँका संघीय कार्यालयका लागि चालुतर्फ दुई अर्ब २५ करोड ९२ लाख बजेट विनियोजन भएकोमा एक अर्ब ६३ करोड ८१ लाख बजेट खर्च भएको हो । संघीय पुँजिगत बजेट ७८ करोड ७२ लाख ७८ हजार मध्ये ५८ करोड २३ लाख बजेट सांढे दश महिनामा खर्च भएको कोष नियन्त्रक सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी चालु आवमा  यहाँका १२ वटा प्रदेश कार्यालयले चालुतर्फ ४० प्रतिशत र पुजिँगततर्फ २४ प्रतिशत मात्रै बजेट खर्च गरेको कोष नियन्त्रक  शालिकराम सापकोटाले उल्लेख गर्नुभयो । प्रदेश चालुतर्फ पैतिस करोड ९६ लाख ४७ हजार मध्ये चौध करोड ४० लाख ४ हजार बजेट खर्च भएको छ । पुँजिगततर्फ उनन्चालिस करोड ६९ लाख मध्ये जम्मा नौ करोड ५७ लाख बजेट मात्रै खर्च भएको कोष नियन्त्रक सापकोटाको भनाई छ ।

चालु आवमा मुस्ताङका संघीय कार्यालयहरुको चालु तथा पुँिजगत खर्च सन्तोषजनक रहेको छ । चालु आव सकिन एक महिना बाँकी रहेकाले बजेट खर्चको आकार थप वृद्धि हुने जनाईएको छ । यसवर्ष जेनजी आन्दोलनको प्रभावका कारण पनि मुस्ताङमा संघीय कार्यालयको खर्च सन्तोषजनक रहेको कोष नियन्त्रक सापकोटाले बताउँनुभयो । बर्खायाममा वर्षा र हिउँदयाममा प्रतिकूल मौसमका कारण विकास आयोजना संञ्चालन गर्न कठिन हुने भएपनि बजेट खर्चको औसत सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो ।

संघीयतर्फ उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले चालु वर्षको साँढे दश महिना अवधिमा ७८ प्रतिशत बजेट खर्च गरेको छ । आयोजनाका लागि सडक तथा पुलपुलेसा निर्माणमा लगायतमा उनान्सत्तरी करोड ५४ लाख बजेट विनियोजन भएकोमा चौवन्न करोड बजेट खर्च भएको हो । यस्तै, यहाँको संघीय कार्यालयहरुले अपेक्षित बजेट खर्च गर्दा प्रदेश कार्यालयको बजेट खर्च निरासाजनक रहेको देखिन्छ ।

 प्रदेशतर्र्फको बढी पुँजिगत बजेट खर्च हुने पूर्वाधार विकास कार्यालय, खानेपानी जलश्रोत तथा सिंचाई सवडिभिजन,एकिकृत सेवा कार्यालय र कृषि तथा पशुविकास कार्यालय लगायतको बजेट खर्च न्यून रहेको हो । चालु वर्ष गण्डकी प्रदेश सरकारले चालुतर्फको खर्च शिर्षकमा पच्चिसदेखि शतप्रतिशतसम्म बजेट रोक्का गरिएकाले प्रदेशको चालु खर्च घटेको कोष नियन्त्रणक सापकोटाले बताउँनुभयो । 

प्रदेशतर्फको पुँजिगत बजेट पनि सन्तोषजनक देखिदैन । मुस्ताङमा प्रायगरी चालु आवको अन्तिममा मात्रै विकास निर्माण लगायतका कामहरु बढाईने भएकाले पनि पुँजिगत बजेट खर्चको आँकडामा कम देखिन पुगेको हो ।


प्रतिक्रिया